समाज

सम्झनामा रुपचन्द्र विष्टः बहिनी कांग्रेस बनेपछि उनी १४ वर्ष बोलेनन्

असार ७, २०७४

    काठमाडौं : थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको १८ औं स्मृति दिवसको अवसरमा मंगलबार थाहा दर्शन अध्ययन प्रतिष्ठानले काठमाडौंमा छलफल कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा रुपचन्द्र विष्टसँग विभिन्न समय र सन्दर्भमा जोडिएका व्यक्तिहरूले उनको स्मरण गरेका थिए। उक्त कार्यक्रममा वक्ताहरूले व्यक्त गरेका विचारका केही रोचक प्रशंग यहाँ प्रस्तुत गरिएको छ।

    १. मन्त्री बन्न अस्वीकार

    नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा कानुन व्यवसायी विश्वकान्त मैनालीले रुपचन्द्र विष्टले मन्त्री पद अस्वीकार गरेको घटना स्मरण गरे। त्यतिबेला राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री थिए। मैनाली र चन्दको सम्बन्ध पनि राम्रो थियो। एक दिन चन्दले मैनालीलाई फोन गरेर रुपचन्द्र विष्टलाई मन्त्री बन्न मनाउन सहयोग मागे। तर रुपचन्द्रले मानेनन्। मैनालीसँग उनले भने 'म एउटा बाँकी थिएँ जनताको काम गर्ने, मलाई पनि त्यही समूहमा हाल्न लागिस् होइन?' कानुन व्यवसायी मैनालीले रुपचन्द्रको स्मरण गर्दै थपे, 'उहाँले चाहेको भए धेरैले सहयोग गर्थे, मन्त्री बन्न अस्वीकार गरेको त म नै उदाहरण छु।'

    उनले रुपचन्द्रले सुरु गरेको थाहा आन्दोलनलाई सूचनाको हकसँग मात्र जोडेर बुझ्दा सतही हुने बताए। 'थाहा शब्द सूचनाको हक (Right to Information) को सतही ब्याख्या भन्दा धेरै गहिरो छ', उनले भने, 'उहाँका अनुसार जीवनमा तिमीले यति ज्ञान हासिल गरेनौं भने दुख पाउँछौ भन्ने दर्शन हो।'

    मैनालीले राष्ट्रिय पञ्चायत सदस्य रहेका विष्टको कानुनी सल्लाहकारको रुपमा काम गरेका थिए। 'उहाँले संसदमा पेश गर्ने कतिपय विधेयक मेरै अफिसमा छलफल हुन्थ्यो', उनले स्मरण गरे।

    २. मिस्टर डाङडुङे ड

    विक्रम संवत २०११ सालतिर रुपचन्द्र विष्ट त्रिचन्द्र क्याम्पसमा पढ्थे। कला साधक भैरवबहादुर थापा त्रिचन्द्रमा डान्स डाइरेक्टर थिए। रुपचन्द्र विष्ट पनि थापाको नृत्य कक्षामा सहभागी हुन आए। 'उहाँ अररो तालले खुट्टा चलाउने, नाचमा तालमाल नमिल्ने हुन्थ्यो', थापाले स्मरण गरे। त्यही कारण साथीहरूले रुपचन्द्रको नाम 'मिस्टर डाङडुङे ड' राखिदिएका थिए। 'ए डाङडुङे ड चिया खान जाने होइन भन्थे' थापाले सम्झिए।

    नाचमा खुट्टा चाल्न नजानेपछि एक दिन थापाले भने 'अलि मिलाएर खुट्टा चाल न, के गरेको यस्तो?' रुपचन्द्रले जवाफ दिए 'मेरो खुट्टा सिधा पार्ने कि बांगो पार्ने तिम्रो काम हो, तिमी त गुरु हौ।' रुपचन्द्रले सुधार गर्दै गएर पछि राम्रो नाच्ने भए।

    एक दिन थापालाई रुपचन्द्रले भनेछन् 'यस्तो सोझो पाराको डान्स सिकाएर केही हुँदैन अलि जनस्तरको सिकाउनु पर्‍यो' थापाले स्मरण गरे 'त्यो जमानामा पनि उहाँले पोयट्री डान्सको कुरा गर्नुभयो।'

    ३. बहिनी कांग्रेस भएपछि १४ वर्ष बोलनन्

    रुपचन्द्र विष्टकी बहिनी गीता वाग्ले हाल नेपाली कांग्रेसबाट सांसद छिन्। जब रुपचन्द्रले बहिनी कांग्रेस भएको थाहा पाए, उनले बहिनीसँग बोलचाल बन्द गरे। '६ जना दाजुहरुको म एउटी बहिनी, अत्यन्तै प्यारी बहिनी' उनले भनिन् 'चितवनमा मलाई कम्युनिस्टहरूले खेदे, म कांग्रेस हुन्छु भनेँ, दाजु १४ वर्षसम्म मसँग बोल्नुभएन।' आफू सानोमा बिरामी हुँदा दाजु रुपचन्द्रले तीन महिनासम्म अस्पतालमा कुरुवा बसेर निको बनाएको भए पनि कांग्रेस भएपछि बोलचाल नै बन्द गरेको सांसद वाग्लेले बताइन्।

    आफूलाई कांग्रेस पार्टीभित्र रुपचन्द्र विष्टकी बहिनी भनेर विश्वास नगर्ने तर दाजु पनि नबोल्ने दोहोरो पीडा भएको उनले सुनाइन्। '४० वर्ष लामो यात्रा गरे पनि कांग्रेसले कम्युनिस्टको बहिनी भनेर विश्वास गरेन' उनले भनिन् 'कांग्रेसलाई पत्याउन गाह्रो भयो, अहिले बल्ल पत्याएर सांसद भएँ।'

    २०५६ सालमा रुपचन्द्र विष्ट बिरामी भएर जीवनको अन्तिम अवस्थामा वीर अस्पतालमा भर्न भएका थिए। बहिनी गीता भेट्न पुगिन्। 'मलाई हेर्नुभयो, बोल्नुभएन, दुई आखाबाट तरर आँशु झार्नुभयो' उनले सम्झिन्।

    ४. दुई हजार धरौटी राखेर अन्तर्वार्ता

    रुपचन्द्रले जीवनको अन्तिम समयमा 'घटना र विचार' पत्रिकालाई अन्तर्वार्ता दिएका थिए। त्यसअघि उनले कुनै पत्रिकामा अन्तर्वार्ता दिएका थिएनन् भने घटना र विचारका हालका सम्पादक देवप्रकाश त्रिपाठीले पटक पटक अन्तर्वार्ताको लागि कोशिस गर्दा पनि अस्वीकार गरेका थिए। जीवनको अन्तिम क्षणतिर अन्तर्वार्ता दिँदा उनले त्रिपाठीसँग विष्टले २ हजार धरौटी मागेका विष्टका सहयोगी र हालका सांसद रामनारायण विडारी बताउँछन्। 'उहाँले २ हजार रुपैयाँ डिपोजिट राखेर अन्तर्वार्ता दिनुभएको थियो' उनले सम्झिए 'एक हजार मेरो पारिश्रमिक, एक हजार गलत छापिस् भने त्यस विरुद्ध पर्चा छाप्नका लागि।'

    ५. हेडमास्टर रुपचन्द्र

    मकवानपुर पालुङका वासिन्दा रुपचन्द्र विष्टले २०२२ सालमा शिखरकोट गाउँ पञ्चायतको प्रधानपञ्च बनेका थिए। त्यसपछि २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। त्यसबाहेक उनले गाउँमा धेरै सामाजिक काम पनि गरे। पालुङमा जनकल्याण हाइस्कुल सञ्चालन गरे। आफै हेडमास्टर भएर काम गरे। जनताको श्रमदानमा विद्यालयको भवन बनाए। उनले राष्ट्रिय पञ्चायत सदस्य भएका बेला प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र अरु राष्ट्रिय पञ्चायत सदस्यहरूलाई पनि विद्यालयमा लगेका थिए। उहाँले अरु राष्ट्रिय पञ्चायत सदस्यलाई बजेट मारा र भातमारा भन्नुहुन्थ्यो', कानुन व्यवसायी विश्वकान्त मैनालीले सम्झिए, 'जनताको काम कसरी गर्नुपर्छ भनेर पालुङ पनि लैजानुभएको थियो।'

    रुपचन्द्रले विद्यालयमा अंग्रेजी पढाउँथे। उनका विद्यार्थी रामनारायण विडारी स्मरण गर्छन् 'अगाडि टेबुल राखेर ल मलाई अंग्रेजीमा गाली गर भनेर बोल्न प्रोत्साहित गर्नुहुन्थ्यो।' रुपचन्द्रले गाउँमा धेरै निरक्षर व्यक्ति भएकाले ९ र १० कक्षाका विद्यार्थीले गाउँमा अनिवार्य पढाउनुपर्ने व्यवस्था गरेका थिए। ९ र १० कक्षामा एउटा विषयकै रुपमा गाउँमा पढाउनुपर्ने व्यवस्था गर्नुभएको थियो', रुपचन्द्रका आफन्त समेत रहेका पालुङका वासिन्दा भुवनप्रकाश विष्टले सम्झिए।

    आफू जनप्रतिनिधि भएका बेला मकवानपुरका दुई गाउँ विकास समितिलाई पालुङ विकास समिति नामाकरण गरी रुपचन्द्रले स्थानीय स्वायत्त शासनको अभ्यास गरेका थिए। उनका भाइ गुणचन्द्र विष्ट भन्छन् 'संविधान र कानुनको निर्णय अनुसार उहाँले दुईवटा गाविसलाई विकास समिति मार्फत सञ्चालन गर्नुभएको थियो।' विष्टले नेपालमा पहिलो पटक स्वायत्त शासनको अभ्यास गरेको विष्ट बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • कृष्ण अधिकारी

    स्थानिय स्वायत्त शासनकाे कुरा त गरीयाे तर स्पष्ट भएन । दुइर्अाेटा गाविस मिलाउदैमा स्वायत्त हुने कुरा बुझिएन । उनले गरेका अभ्यास धेरै राम्रा थिए भनिन्छ । ति कुराहरू पनि थाहा संचार मार्फत प्रसारण तथा प्रकाशन भए धेरै राम्राे हुन्थ्याे ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]