राजनीति

सिन्धुपाल्चोकमा भोट माग्ने हतियार बन्दै तातोपानी नाका

कात्तिक २४, २०७४

    सिन्धुपाल्चोक : नेपाल र चीन बीचको प्रमुख व्यापारीक तातोपानी नाका भूकम्पपछि ठप्प छ। अहिले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नाका क्षेत्रका नेताहरुले तातोपानी नाका खोल्ने आश्वासन दिँदै भोट माग्न थालेको छन्।

    ७१ साल साउन १७ गते जुरे पहिरोबाट आशिंक रुपमा अवरोध सुरु भएको तातोपानी नाका ७२ वैशाख १२ को विनाशकारी भूकम्पले पूर्ण रुपमा थलायो। भूकम्पले क्षति पुर्‍याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसकेको थियो। तातोपानी नाकालाई नै एकपछि अर्को विपद्ले छोडेन ०७३ असार १७ गते भोटेकोसी उर्लिएपछि सबै निर्माण भएका भौतिक संरचनाहरु ध्वस्त पार्यो। लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना के भन्नेमै अन्योलता छाएको छ।

    तर, अहिले निर्वाचनमा नाका आफू निर्वाचित भएको २ महिना भित्रमै नाका खोल्ने प्रतिबद्धताका साथ नेताहरु सीमा क्षेत्रमा भोट फकाउन थालेका छन्। भूकम्पपछिको ३० महिनामा पूरै सरकार नै लाग्दासमेत खोल्न नसकिएको नाका २ महिनामै खोल्ने झुटो आश्वासन दिँदै मत फकाउन थालेका छन्।

    उस्तै छ अन्योल

    नेपाल र चिनियाँ पक्षबीचको सहमतिले रसुवाको केरुङ नाकालाई प्रमुख व्यापारिक नाकाको रुपमा विस्तार गर्ने भएको थियो। भने तातोपानी नाकालाई सधँैका लागि पूर्ण रुपमा बन्द गर्न चीन सरकारले प्रस्ताव गरेको थियो। चीन सरकारको प्रस्तावलाई नेपाल सरकारका वार्ता टोलीले असमर्थन जनाएका थिए।

    तातोपानी नाकासम्म जाने अरनिको राजर्मागअन्तर्गत लार्चामा पहिरोले ७० मिटरको पक्की पुल ध्वस्त पार्दा सर्वसाधारणको जीवनयापनमा कष्टकर बन्दै गएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन्। ‘नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो।

    भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौँ बासिन्दा अहिले विस्थापित भएका छन्।’ प्रजिअ तामाङले भने, ‘बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौँको व्यवसाय पनि गुमेको छ। भूकम्प आएको अर्को दिन नै चीनले खासाको बस्ती उठाएर लगेका कारण अहिले नाकाको दुवै क्षेत्र मानवरहित बन्न पुगेको छ।’

    मुलुककै एक प्रमुख आयात–निर्यात तथा पर्यटकीय क्षेत्र बनेको यो नाकामा बस्ने हजारौँ स्थानीयले व्यापारिक कारोबार गर्थे। दैनिक करोडौँको व्यापार गुम्नुका साथै यस क्षेत्रमा बनाइएका करोडौंका भौतिक संरचना समेत भूकम्प र त्यसपछिको बाढीले लपेटेर लगेको छ। वार्षिक लाखौँ पर्यटकको गन्तव्य बनेको उक्त क्षेत्र अहिले सुनसान भएको भोटेकोसी गाउँपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा बताउँछिन्।

    भूकम्पले क्षति पु¥याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसक्दा पनि चीनले खासै चासो नदेखाएकै तातोपानी नाका खोल्ने तयारीमा रहेको थिएन। बन्द रहेको तातोपानी नाका खुलाउन नेपाल–चीनबीचका उच्च अधिकारीहरुको सीमा सुुरक्षा बैठक पटक–पटक बसिसकेको छ। बैठकमा चीनका अधिकारीले सडकमा क्षति पुगेको कारण देखाउँदै आएका थिए। तर, अहिले लार्चाको पुल अझै निर्माण भइनसक्नाले अर्को बहान बनेको छ। नाका सुचारु हुँदा ‘फ्री तिब्बत’ गतिविधि हुन सक्ने आशंकाले पनि चीनले चासो नदेखाएको हो।

    नाका बन्द भएपछि यो अवधिभर तातोपानीबाट करिब २० अर्ब राजस्व घाटा व्यहोरिरहेको उक्त नाकाका भन्सार प्रमुख दिव्यराज पोखरेल बताउँछन्।

    ‘नाका सुचारु नहुँदा दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्ने तातोपानी भन्सारमा प्रभाव परेको छ।’ प्रमुख पोखरेलले भने–‘अरनिको राजमार्गमासमेत दैनिक ३५ लाखभन्दा बढीको व्यापारिक कारोबार हुने गर्दथ्यो। मितेरी पुलमै रहेर व्यापार गर्ने झण्डै चार हजार व्यापारी विस्थापित भएको छ।’

    बन्दै छ भोट माग्ने हतियार

    प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएको छ। उता करिब ३० महिनादेखि बन्द रहेको तातोपानी नाका आफुले चुनाव जितेको २ महिना भित्रमा नाका खोल्ने प्रतिबद्धताका साथ उम्मेदवार भोट माग्न थालेको छ।

    सीमा क्षेत्रमा प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट पूर्वमन्त्री अग्निप्रसाद सापकोटा र कांग्रेसबाट मन्त्री मोहनबहादुर बस्नेत चुनावी मैदानमा छन्। भने प्रदेशसभामा वाम गठबन्धनबाट अरुण नेपाल र कांग्रेसबाट तातोपानी नाकामा व्यापारीको रुपमा परिचित बिष्णु खत्री चुनाव लड्दै छन्।

    व्यापारिक पृष्ठभूमिका कांग्रेसका प्रदेशसभा उमेदवार उमेदवार विष्णु खत्रीले आपूmले चुनाव जितेका २ महिनाभित्र नाका खोल्ने प्रतिबद्धता गर्दै सीमा क्षेत्रमा मत फकाउन थालेका छन्। यस्तै, अन्य उमेदवारहरुले पनि तातोपानी नाकालाई पहिलो प्राथामिकता राखेका छन्।

    भूकम्प गएको ३० महिनामा पूरै सरकारी टोली खनिँदासमेत नाका खोल्ने सम्भावना नरहेका बेलामा २ महिनामा कसरी नाका कसरी खुल्न सक्छ?

    झोले व्यापारी र सामान ओसार्ने भरिया मारमा

    नाका सञ्चालनमा नआउँदा स्थानीय झोलेपोके व्यापारी र सामान ओसारपसार गर्ने भरिया बढी मारमा छन्। नाका क्षेत्रमा भीरपाखा बढी छ। उक्त भीरपाखमा खेती गरी खाने जग्गा छैन। नाका नखुल्दा उनीहरुलाई निकै समस्या भएको स्थानीय फुल्मु शेर्पा बताउँछिन्। ‘दैनिक कसरी छाक टार्ने भन्ने चिन्ताले सताउँछ’, नाकामा भरियाको काम गर्दै आएकी शेर्पा भन्छिन्।

    नाका ठप्प भएपछि मुलुकले अर्बौं राजस्व गुमाउँदै छ भने नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारीसमेत गरी ४ हजारभन्दा बढी प्रत्यक्ष मारमा परेका छन्। त्यत्तिकै संख्यामा होटल व्यवसायी विस्थापित भएका छन्। उनीहरु विस्थापित भएसँगै दैनिक भीडभाड रहने सीमा क्षेत्र अहिले सुनसान छ।

    नाकासँग आबद्ध भएर व्यापार गर्नेहरु पलायन भएका छन्। कति व्यापारीहरुले पेसा नै परिवर्तन गरेका छन् भने केही व्यापारी मुलुकको अन्य नाकासँग आबद्ध भएका छन्। तातोपानी नाकामा दैनिक हजार बढी कन्टेनरहरु सञ्चालन हुन्थे। उक्त कन्टेनरसँग आबद्ध चालक, सहचालक बेरोजगार भएका छन्। व्यवसायमा संलग्न र मजदुर गरी ५ हजार जनशक्ति नाका बन्दको मारमा परिरहेको छन्।

रमेश पराजुली

पराजुली समसामयिक राजनीतिक र सामाजिक विषयमा रिपोर्टिङ गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]