खेलकुद : विश्वकप फुटबल २०१८

स्पेनी आशा इनिएस्टा-इस्को

जेठ ३०, २०७५

    स्पेन विश्व फुटबलको एउटा बलियो टिम हो। सामूहिक प्रयासले कसरी म्याच जितिन्छ, त्यो स्पेनबाहेक सायदै अरूलाई थाहा होला। स्पेन कहिले एक खेलाडीमाथि भरपर्दैन। ‘फुटबल ११ खेलाडीको हो र ११ खेलाडीकै सामूहिक प्रयासले म्याच जितिन्छ’, यो कुरा स्पेनलाई राम्ररी थाहा छ। तपाईंले ‘टिकी टाका’ हेर्नुभएको छ? छैन भने स्पेनको खेल हेर्नुहोस्। अवाक बन्नुहुनेछ तपाईं।

    ‘टिकी टाका’ स्पेनले जन्माएको फुटबल शैली। सोझै भाषामा भन्नुपर्दा छोटो-छोटो पास खेलेर विपक्षी टिमको रणनीति भताभुंग पार्ने गजबको खेल। हेरिरहुँ लागिरहने, मुखबाट त्यसैत्यसै वाह! वाह! निस्कने खेल कौशल। सन् २००८ र २०१२ को युरो कप तथा २०१० को विश्व कप स्पेनले यसै ‘टिकी टाका’ शैलीको फुटबल खेलेर जितेको हो।

    बलियो स्पेन सधैँ विश्व कपको विजेताको सम्भावित सूचीमा पर्ने टिम हो। सन् २०१० को विश्व कपमा विश्वले नयाँ विजेता पाउँदा विश्व कपको उपाधि स्पेनको हातमा थियो। यस पटक स्पेनसँग युवा र पाका खेलाडीहरूको गजबको संयोजन छ। एकएक प्रतिभाशाली खेलाडीहरू छन्, स्पेनमा। नामै लिनपरे हामी आन्द्रे इनिएस्टा, सर्जियो रामोस, सर्जियो बुस्केट, जोर्डी अल्बा, जेरार्ड पिके, इस्को, डिएगो कोस्टा, लुकास भास्केज, डेभिड डी गिया, डानी कार्भाहल, मार्को एसेन्सियो, डेभिड सिल्भा, कोके, थियागो अल्कान्ट्रा, लागो अस्पास आदिलाई देखाउन सक्छौँ। यी खेलाडीहरू, जसले पछिल्ला केही वर्षयता क्लब म्याचमा अचाक्ली राम्रो प्रदर्शन गरेका छन्/गर्दै आएका छन्। यी स्पेनी खेलाडीहरूको ‘टिम स्पिरिट’ गजबको पाइन्छ। यो त्यो टिम हो, जसले पछिल्लो २८ मार्चमा खेलिएको मैत्री म्याचमा बलियो अर्जेन्टिनालाई ६-१ ले धुलोपिठो पारेको थियो। यो म्याचमा नायक बनेका इस्कोले ह्याट्रिक गरेका थिए।

    यस पटक रूस विश्व कपमा स्पेनी आशा भनेको इस्को-इनिएस्टा हुन्। यी दुईले टिमका लागि महत्त्वपूर्ण प्रदर्शन गर्ने कुरामा स्पेन विश्वस्त छ। एक प्रकारले भन्ने हो भने इस्को-इनिएस्टाको प्रदर्शनमा ‘स्पेनी रिजल्ट’ धेरै हदसम्म निर्भर रहनेछ। इनिएस्टा आन्द्रे इनिएस्टा अहिलेको स्पेनी टिमकै सबैभन्दा जेष्ठ खेलाडी हुन्। उमेर फुटबल करिअरका लागि ‘डाँडाको घाम’ भए तापनि यी ३४ वर्षे खेलाडीको क्लास अहिले पनि झर्झराउँदो छ। प्रदर्शन उस्तै लोभलाग्दो। इनिएस्टा विश्व फुटबलले पाएको लिजेण्ड मिडफिल्डर। स्पेनी ‘टिकी टाका’ शैलीका प्रमुख सूत्रधार। साथी खेलाडीका लागि गोलको अवसर सिर्जना गर्नु, मैदानको मध्यभागमा बललाई नियन्त्रण राखेर विपक्षी खेलाडीहरूलाई टिमको रणनीतिमा फसाउनु र उपयुक्त समयमा स्वयं गोल गर्नु इनिएस्टाको खेल कौशल हो। विशेषता हो। खुबी हो।

    इनिएस्टा त्यसै विश्वका सर्वश्रेष्ठ मिडफिल्डर बनेका होइनन्। उनको खेल कौशल, टिमलाई दिएको योगदान र भूमिका हेर्नुहोस्, तपाईं ढुक्क हुनुहुनेछ। विश्व कप २०१० को फाइनल तपाईंले अवश्यै बिर्सिनुभएको छैन। यदि बिर्सिनुभएको छ भने इनिएस्टा ती खेलाडी हुन्, जसले हाइभोल्टेज फाइनलमा निदरल्यान्ड्सविरुद्ध निर्णायक गोल गरी स्पेनलाई पहिलो पटक विश्व कपको उपाधि दिलाएका थिए। फ्ल्यासब्याकमा जानुहोस् र सोच्नुहोस्, गोल गरेपछि जर्सी खोलेर मैदानमा कुदिरहेको लगभग साढे पाँच फुट उचाइको इनिएस्टाको तस्वीर आँखामा झल्झली नाच्नेछ। यो विश्व कपमा इनिएस्टा ९० मिनेटमै नखेल्न सक्छन्। उमेरको कारण स्पेनी कोच जुलेन लोपतेगेइले उनलाई महत्त्वपूर्ण समयमा मैदानमा उतार्न सक्छन्। त्यो महत्त्वपूर्ण समय पहिलो हाफ पनि हुनसक्छ र दोस्रो हाफ पनि। यति हो, खेलको जुनै समय मैदानमा आए तापनि इनिएस्टाले आफ्नो उपयोगिता र भूमिका बलियोसँग निर्वाह गर्नेछन्। हामी ढुक्क हुनसक्छौं।

    यस्तो छ इनिएस्टाको व्यक्तिगत विवरण :

    नाम : आद्रे इनिएस्टा

    जन्म मिति : ११ मई १९८४

    जन्मस्थान : फुएन्टेलिबिल्ला, स्पेन

    उचाइ : ५ फुट ७ इन्च

    खेल्ने पोजिसन : मिडफिल्डर

    जर्सी नम्बर : ८ 

    वर्तमान क्लब : बार्सिलोना

    कुल क्लब म्याच : ७२८ 

    कुल क्लब गोल : ६२

    अन्तर्राष्ट्रिय म्याच : १२४

    अन्तर्राष्ट्रिय गोल : १३

    विश्व कपमा उपस्थिति : चार पटक (रूस विश्व कपसहित)

    विश्व कपमा कुल म्याच : १० 

    विश्व कपमा कुल गोल : २

    इस्को

    इस्को स्पेनका युवा ट्यालेन्ट। राम्रा मिडफिल्डर। गोल गर्न पोख्त खेलाडी। मिडफिल्डमा बल बुन्न मात्र होइन, गोल गर्न पनि उत्तिकै सिपालु। यो विश्व कपमा कोच जुलेन लोपतेगेइको ब्रह्मास्त्र।

    यी छरिता खेलाडीको बलमाथिको नियन्त्रण गजबको छ। गोल गर्ने ‘स्कोरिङ रेट’ उत्तिकै उत्कृष्ट। इस्कोले खेलिरहँदा लाग्छ, यिनी मिडफिल्डर कम र स्ट्राइकर ज्यादा हुन्। रियल म्याड्रिडका धेरैजसो खेलाडीहरू खुट्टामा बल नचाउन खप्पिस छन्, यसमा इस्को एक पनि हुन्। उनले जति पटक राष्ट्रिय टिममा स्थान पाएका छन्, त्यो अवसरमा राम्रो गरी सदुपयोग गरेका छन्। इस्कोको प्रतिभा पहिलो पटक विश्वले अन्डर १९ र अन्डर २१ को खेलमा देखेको हो। उच्च प्रदर्शन गर्ने यी युवा खेलाडीले अन्डर १९ मा १२ म्याचमा ७ गोल गरे। यो प्रदर्शनलाई अझ निखार्दै उनले अन्डर २१ मा १९ खेलमा १४ गोल गरे। उच्च प्रदर्शन गरिरहेका इस्कोलाई लिएर इंलिस र फ्रेन्च क्लबहरूबीच हारालुछ छ। यद्यपि, उनले रियल छाडेका छैनन्। ‘इस्को साँच्चै प्रतिशाली खेलाडी हुन्’, धेरै अघि इस्कोबारे जिदानले यसो भनेका थिए।

    उमेर र प्रदर्शनसँगै इस्को अहिले स्पेनको स्टार खेलाडी बनेका छन्। स्टार खेलाडी हुनु भनेको टिमको दायित्व अझ बढ्नु हो। स्पेनेली प्रशंसकहरूको सपना उनको आँखामा सर्नु हो। यो सपनालाई साकार बनाउने ठूलो जिम्मा काँधमा थपिनु हो। इस्को जान्दछन्, ‘विश्व कप क्लब र मैत्री म्याच जस्तो होइन, यसमा सम्पूर्ण देशबासीको सपना जोडिएको हुन्छ। प्रशंसकहरूको आशा र भरोसा लहरिएको हुन्छ। यी सबैलाई न्याय दिनु नै राम्रो खेलाडीको गुण हो।’ उनीमाथि जुन दायित्व छ, त्यो मैदानको मध्यभागमा बल बुन्नु मात्र होइन, साथी खेलाडीहरूलाई गोलको अवसर सिर्जना गर्नु मात्र होइन तर टीमलाई आवश्यक परेको बेला गोल गर्नु पनि हो। म्याच जिताउनु हो। यति गर्नसके मात्र इस्कोले आफूमा रहेको क्लास र प्रतिभालाई न्याय दिनेछन्।

    यस्तो छ इस्कोको व्यक्तिगत विवरण :

    नाम : फ्रान्सिस्को रोमन अलार्कन स्वारेज ‘इस्को’

    जन्म मिति : २१ अप्रिल १९९२ 

    जन्मस्थान : बेनालमडेना, स्पेन

    उचाइ : ५ फुट ९ इन्च

    खेल्ने पोजिसन : अट्याकिङ मिडफिल्डर

    जर्सी नम्बर : २२

    वर्तमान क्लब : रियल म्याड्रिड

    कुल क्लब म्याच : ३२९

    कुल क्लब गोल : ६१

    अन्तर्राष्ट्रिय म्याच : २६

    अन्तर्राष्ट्रिय गोल : १०

    विश्व कपमा उपस्थिति : पहिलो पटक

शैलेन्द्र समदर्शी

दार्जिलिङका समदर्शी भारतको पश्चिम बंगालमा रहेर पत्रकारिता र साहित्य साधना गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]