समाज

पोखरा-बागलुङ लोकमार्ग असार १५ देखि दैनिक आठ घण्टा बन्द

असार १२, २०७५

    पर्वत : आउँदो असार १५ गतेबाट पोखरा-बागलुङ सडकखण्ड दैनिक ८ घण्टाको लागि बन्द हुने भएको छ। मध्य पहाडी लोकमार्ग फराकिलो बनाउने र सुधार गर्ने क्रममा चुवाको भीर र डिमुवा नजिकैको महभीरको चट्टान कटान गर्नुपर्ने भएको कारण बाटो बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

    सडकको पर्वत खण्डमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, दिउँसो १ बजेदेखि ४ बजेसम्म र साँझ ५ बजेदेखि राती ८ बजेसम्म सडक बन्द हुने छ। दैनिक ८ घण्टा सडक बन्द हुँदा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ आवत-जावत गर्ने ४ जिल्लाका सवारी पूर्ण रुपमा प्रभावित हुने भएपछि प्रमुख जिल्ला अधिकारी ढकालले काम सडकको काम भइरहेको स्थानमा बैकल्पिक रुपमा नयाँ बाटो निर्माण गर्नका लागि आफूले समन्वय गर्ने बताएका छन्।

    वर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले आठ घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय भएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले बताए। लामा कम्पनीले ३६ महिनामा काम सक्ने गरी ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएकोमा २६ महिनामै सक्ने लक्ष्य राखेर काम भइरहेको छ।

    आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगा सम्मको २३.७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको छ। अहिलेसम्म १२ प्रतिशत काम सकिएको व्यवस्थापक भुसालको भनाई छ। 

    मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतको तीब्र पारेको छ। लोकमार्ग पूरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नति गर्न ४ ओटा प्याकेज बनाएर काम भइरहेको छ। अबको तीन वर्षमा पोखरा-बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ।

    २०५० सालमा निर्माण सम्पन्न भएको सडकको धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँ ठाउँमा जाम समेत हुने गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]