राजनीति

फाल्गुनन्द गाउँपालिकामा चुलियो सेवा केन्द्रको विवाद

अान्दोलनरत पक्ष भन्छ : बहुमतको अवमूल्यन भए हि‌ंसा हुन्छ

असार १३, २०७५

    पाँचथर : फाल्गुनन्द गाउँपालिकाको केन्द्र कोल्बुङमा नसारिएको भन्दै जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन्। गत पुस १४ मा गाउँपालिका केन्द्रको टुंगो लगाउन भएको निर्वाचनमा कोल्बुङलाई केन्द्र बनाउन सामान्य बहुमत प्राप्त भएको थियो। तर, निर्वाचन भएको छ महिना बित्दा पनि नसारिएपछि गाउँपालिकाको अधिकांश वडाका जनप्रतिनिधिहरू आन्दोलित भएका हुन्।

    संघर्ष समिति नै निर्माण गरेर आन्दोलनमा उत्रिएका उनीहरूले गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, उपाध्यक्ष देवित्राकुमारी आङदेम्बेसहित केही वडाका जनप्रतिनिधिहरूले हाल घुर्बिसे पञ्चमीमा रहेको केन्द्र नसार्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। गाउँपालिकाको वडा नम्बर १ नवमीडाँडाका अध्यक्ष होमप्रसाद आङदेम्बेले कोल्बुङमा केन्द्र सार्ने सामान्य बहुमत प्राप्त भए पनि तत्कालका लागि कार्यालय भवन नभएकाले घुर्बिसे पञ्चमीमा रहेको कार्यालयबाटै सेवा प्रवाह गर्ने र भवन बनिसकेपछि कोल्बुङमै केन्द्र सार्ने निर्णयमा गाउँपालिकाको सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेको बताए। ‘अस्थायी केन्द्र घुर्बिसे पञ्चमीबाटै सेवा प्रवाह गर्ने र कोल्बुङमा गाउँपालिकाको भवन बनेपछि त्यहाँ सार्ने भनेर ३७ जनाले हस्ताक्षर गरेका छौँ’ उनले भने, ‘तर गाउँ कार्यपालिकाको प्रत्येक बैठकमा कुरा उठाउँदा पनि अध्यक्ष र उपाध्यक्षले ठाडो कान लगाएनन्, उल्टै नसार्न अनेकन षड्यन्त्र गरिरहेका छन्।’ उनले बहुमतको अबमूल्यन नगर्न पनि चेतावनी दिएका छन्।

    गाउँपालिकाको केन्द्र इन्द्रेणी, घुर्बिसे पञ्चमी र कोल्बुङमध्ये एकलाई टुंगो लगाउन भएको पहिलो निर्वाचनबाट इन्द्रेणीको पक्षमा अल्पमत प्राप्त भएपछि दोस्रो पटक घुर्बिसे पञ्चमी र कोल्बुङमध्ये एकलाई केन्द्र निर्धारण गर्न निर्वाचन भएको थियो। निर्वाचनबाट कोल्बुङकै पक्षमा सामान्य बहुमत प्राप्त भएकाले कोल्बुङमा केन्द्र सार्नु पर्ने वडा नम्बर २ का वडाध्यक्ष बहादुरसिं नेम्बाङले बताए। तर, पटक–पटक केन्द्र सार्न गाउँसभा बोलाउन भन्दै हस्ताक्षर संकलन गरी निवेदन गाउँपालिकामा बुझाउँदा पनि दर्ता नगरेर आफूहरूको आवाजलाई बेवास्ता गरेको गुनासो गरे। ‘हामी लोकतान्त्रिक पद्धतिबाट जननिर्वाचित प्रतिनिधि हौँ, हाम्रो आवाजलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्षले नसुन्ने? हाम्रो यसमा गम्भीर आपत्ति छ,’ उनले आक्रोस पोखे, ‘अब हामी कानुनी लडाइ लड्छौँ, उच्च अदालत इलाम गएर अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिकालाई विपक्षी बनाएर जाहेरी दिन्छौँ।’

    गाउँपालिकाले घुर्बिसे पञ्चमीमा केही दिनअघि मात्रै पशु विकास कार्यालयको जग्गा खरिद गरेको छ। वडाध्यक्ष नेम्बाङले मालपोतमा रजिष्ट्रेसन बदर हुनु पर्ने माग समेत गरे। वडा नम्बर ४ का वडाध्यक्ष मनबहादुर चेम्जोङले पनि व्यक्तिगत स्वार्थले घुर्बिसे पञ्चमीमा केन्द्र राख्न खोजिएको आरोप लगाए। घुर्बिसे पञ्चमीमा करिब डेढ सय घर इलामतर्फ रहेको र ५० घर पनि पाँचथरतर्फ नरहेको भन्दै उनले त्यहाँ केन्द्र हरेक दृष्टिले अनपयुक्त रहेको दावी गरे। संघर्ष समितिका सह–संयोजक जितेन चेम्जोङले कुनै पनि बहानामा सामान्य बहुमतको अवमूल्यन सहन नसक्ने बताए। उनले बहुमतको बेवास्ता गरिरहे संघर्षले हिंसात्मक रुप लिन सक्ने र त्यसको जिम्मा गाउँपालिकाले लिनु पर्ने चेतावनी दिए।

    गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङले संघर्षरत पक्षलाई स्वार्थी समूहको संज्ञा दिएका छन्। उनले आफ्ना नजिक केन्द्र भए ठिक र टाढा भए बेठिक भन्ने प्रवृत्ति उपयुक्त नभएको बताए। ‘केन्द्रको टुंगो बहुसंख्यकले लगाउने हो, फेरि पूर्वाधार पनि चाहिन्छ,’ उनले भने, ‘स्वार्थी समूहले जहाँ भन्यो त्यहाँ हुँदैन।’ हाल केन्द्र रहेको घर्बिसे पञ्चमी इलाम र पाँचथरको सीमा क्षेत्रमा छ। 

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गाउँपालिका तथा नगरपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गरी एक पटकको लागि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न नेपाल सरकारमा सिफारिस गरेमा नेपाल सरकारले सो सिफारिस बमोजित नाम वा केन्द्र हेरफेर गर्नु पर्नेछ भन्ने उल्लेख छ।  पाँचथरमा स्थानीय तह निर्वाचन २०७४ असार १४ मा भएकाले गत पुसमा छ महिना पुगेको र सोही दिन गाउँपालिकाको केन्द्र सार्न निर्वाचन भएको थियो। पटक–पटक गरिएको सहमतिको प्रयास असफल भएपछि अन्ततः केन्द्र टुंग्याउन निर्वाचन भएको र निर्वाचनले कोल्बुङको पक्षमा सामान्य बहुमत दिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]