समाज

बालकरामले छेडाउने भए जिब्रो

साउन २७, २०७५

    भक्तपुर : मध्यपुर थिमिको बालकुमारी क्षेत्रमा इन्द्रजात्राको भोलिपल्ट मनाइने 'येंया पुन्हिया मेय् प्वाः खनेगु' जात्रामा यो वर्ष  चोडे टोलका ४० वर्षीय बालकराम नानी श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। स्थानीय दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडिको डबलीबाट शुरु हुने थिमिको जात्रा यो वर्ष असोज ९ गते हुनेछ।

    यो जात्राका लागि करिब एक महिनाअघिदेखि तयारी गरिन्छ। जिब्रो छेड्ने नातु (सुईरो) बनाउन एक महिना अगाडि नकर्मीलाई खबर गर्न जानुपर्ने चलन रहेको जात्रा व्यवस्थित ढंगले सञ्चालन गर्न गठित समितिका सचिव हरिसुन्दर श्रेष्ठले बताए।

    नकर्मीले नातु बनाइसकेपछि तीन हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्ने चलन छ। जात्राको दिन १० इञ्च लामो सो सुइरोले मध्यपुर थिमि दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडिको डबलीमा कर्मी नाईकेले जिब्रो छेडिदिने गर्छन्।

    जिब्रो छेडिसकेपछि जिब्रो छेड्ने व्यक्तिले बाँसबाट बनाएको स्थानीय भाषामा 'भ्य्' भनिने महादिप बोकेर नगर परिक्रमा गरिन्छ। जिब्रो छेड्नु अघि जिब्रो छेड्ने व्यक्तिले बालकुमारीदेखी दिगुभैरवसम्मका विभिन्न देवताहरुलाई बत्ती चढाउनु पर्दछ। जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार नगरको विभिन्न भागको परिक्रमापछि स्थानीय बालकुमारी मन्दिरमा पुगेर जात्रा समापन गरिन्छ।

    जात्रा समापन गर्ने क्रममा कर्मी नाइकेले सो सुइरो निकालिदिन्छन्। सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राख्ने चलन छ। सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ।

    अर्थ अभावका कारण निरन्तर सञ्चालन नभएको यो जात्रा मध्यपुर थिमि नगरबासी तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा गतवर्ष मध्यपुर थिमि नगरपालिका– ५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठ जिब्रो छेड्न तयार भएपछि ११ वर्षपछि पुनः सञ्चालनमा आएको थियो।

    मध्यपुर थिमिकै बोडेमा बिस्केट जात्राको अवसरमा वैशाख २ गते जिब्रो छेड्ने जात्रा हुँदै आएको छ। बोडेमा दिउँसो हुने यो जात्रा थिमिमा भने राति गर्ने प्रचलन रहेको छ। बोडेको र थिमिको जात्रामा गरिने विधिविधान र किम्दन्तीमा समेत तात्विक भिन्नता रहेको पाईंदैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]