समाज

बेपता महिलाको खोजीका लागि बेवास्ता गरिएको भन्दै चक्काजाम

भदौ ५, २०७५

    लहान : सिरहाको गोलबजार नगरपालिका- १० चोहर्वास्थित घरबाट गत साउन २५ देखि हराइरहेकी ५५ वर्षीया एकल महिला कारीदेवी यादव अझै फेला परेकी छैनन्। सिरहा जिल्ला अदालतमा पछिल्लो जेठ २४ मा कारीदेवीको पक्षमा फैसला भएको अंशसम्बन्धी मुद्दामा जेठाजुले पुनः उच्च अदालत राजविराज इजलासमा हालेको मुद्दाकै कारणले अपहरण गरी बेपत्ता बनाएको स्थानीयले बताएका छन्। 

    घरकै एकल महिला हराएको विषयमा नजिकका आफन्त नै मौन रहनुमा तिनकै संलग्नता रहेको हुनसक्ने भन्दै गोलबजार- १० का वडा अध्यक्ष देवनारायण महतोको उपस्थितिमा मंगलबार बिहानदेखि चोहर्वा गाउँमा छलफल भएको थियो। छलफलमा जेठाजु रामदेव यादव र भतिज लक्ष्मण यादवसहित दुवै जना मौन बसेपछि अपराह्न डेढ बजेतिर दुवै जनालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। कारवाहीका लागि तदारुकता नदेखाएको भन्दै स्थानीय गाउँलेले पूर्व-पश्चिम राजमार्गको चोहर्वा खण्डमा करिब एक घण्टा चक्काजामसहित नाराबाजीसमेत गरे।

    गत साउन २५ गते बेलुका साढे ७ बजेतिर चोहर्वा गाउँको जेठाजुको घरसँगै जोडिएको बाख्राको खोरसहित रहेको घरमा दाल बसाउँदै गरेकी कारीदेवीलाई मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले ‘दिदीको छोरा बिरामी छ, हेर्न जाऊँ’ भन्दै मोटरसाइकलमा चढाएर लगेपछि बेपत्ता भएको गाउँलेहरू बताउँछन्। 

    ससुरा जुगेश्वर यादवको नाममा रहेको एक विगाह १६ धुर जग्गामध्ये पतिले अंशवापत् पाएको १० कठ्ठा आठ धुर जग्गा पाएकी कारीदेवीले ससुरा अनि पतिको निधनपछि ससुराको नाममा अझै तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा भेटिएपछि त्यसमा अंश दाबीसहित सिरहा जिल्ला अदालतमा २०७४ भदौ ५ मा अंश मुद्दा हालेकी थिइन्। उक्त मुद्दा जेठ २४ मा फैसला हुनु अगावै भतिज लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक पटक धम्क्याएको कारीदेवीका वारेस रहेका नाति पुनीत यादवले बताए। 

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले कारीदेवी हराएपछि भतिज लक्ष्मणले खोजतलास गरिपाऊँ भन्दै दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धानसहित खोजी गरिरहेको जानकारी दिए। ‘जेठाजु, भतिज र आफन्तसँग सोधपुछ गरेका छौँ’, प्रहरी नायव उपरीक्षक खरेलले भने, ‘अंशकै लागि बाबुछोरा मिलेर अपहरण गरी बेपत्ता बनाएको गाउँलेहरूको दाबी हो भने किटानी जाहेरी परेपछि छानविन र थप अनुसन्धान हुन्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]