समाज

ग्यास सिलिन्डर विष्फोटको घटना बढ्यो

पुस १५, २०७५

    विराटनगर : पुस ९ मा उर्लाबारी नगरपालिका–७ मा कामख्य ग्यासको सिलिण्डर बिष्फोट हुँदा रेणुका थापाको मृत्यु भयो। बिष्फोट थापाको मृत्यु हुनका साथै आगलागीबाट घरसमेत नष्ट भयो। 

    असोजमा विराटनगरको विशाल चोकमा ग्यास लिक भएर आगलागी हुँदा मुन्नी खातुन घाइते भइन्। आगलागीमा मानवीय क्षति नभए पनि धनमालको नोक्सानी भयो। असोजमै विराटनगरकै केशलियामार्ग, दुर्गाचोक र चाँदनी चोकमा भएको छुट्टाछुट्टै आगलागीका घटना पनि ग्यास लिकका कारण भएको प्रहरीको भनाइ छ। ग्यासका कारण यति धेरै आगलागी र जनधनको क्षति भइरहँदा पनि अनुगमन गर्ने निकाय मौन रहेको ग्यास बिक्रेता महासंघको भनाइ छ।

    चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मोरङमा भएको यी तीन वटा प्रतिनिधिमुलक घटना हेर्ने हो भने अधिकांश घटना सिलिन्डरकै कारण भएको देखिन्छ। सम्बन्धित निकायको अनुगमन नहुँदा सर्वसाधरणको घर–घरमा रहेका ग्यास सिलिण्डर बमको रुपमा रहेको ती घटनाहरुले देखाएको छ। 

    मोरङमा चालु आर्थिक वर्षको छ महिनामा ७३ वटा आगलागीको घटना भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। उक्त घटनामा दुई जनाको मृत्यु भएको छ। उक्त आगलागीको घटनामध्ये करिब आधा दर्जन घटना पुरानो ग्यास सिलिण्डर लिक भएर भएको प्रहरीले जनाएको छ। कतिपय सिलिण्डर बिष्फोट भएका छन् भने कतिपयबाट ग्यास लिक भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।

    अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय र वाणिज्य कार्यालय निष्कृय छन्। पुरानो सिलिण्डर लिक भई बिस्फोटन घटना बढेको भन्दै अनुगमन गरी त्यस्तो सिलिण्डर जफत गर्न माग राख्दै एलपी ग्यास बिक्रेता संघ मोरङले स्थानीय प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएको संघका अध्यक्ष विकास लालवानीले बताए। यद्यपि, आफ्नो मागको कुनै सुनुवाइ नभएको उनको भनाइ छ।

    सुनसरी मोरङ औद्योगिक क्षेत्रमा कोशी, प्रिमा, रिजाल ग्यासलगायतका कम्पनी छन्। सरकारी निकायले ग्यास सिलिण्डरजस्तो संवेदनशील वस्तुमा जिम्मेवारीपूर्वक अनुगमन गर्नुपर्ने खाँचो रहेको एलपी ग्यास बिक्रेता महासंघको प्रदेश १ का अध्यक्ष सरलराज पोखरेलले बताए।

    फुटरिङ काटेर सिलिण्डर बिक्री गर्ने, पुराना र बिग्रिएका सिलिण्डर बिक्री गरेर नाफा मात्रै कमाउन सोच्ने ग्यास उद्योगलाई कानुनी दायरामा ल्याएर सुरक्षित तरिकाले ग्यास उपभोग गर्न पाउने उपभोक्ताको अधिकारको सम्मान हुनुपर्ने उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङगेलले बताए। ‘ग्याँस सिलिण्डरको म्याद कति हुने भन्ने विषयमा उपभोक्ता सचेत छैनन्,’ उनले भने, ‘यस विषयमा उपभोक्तासमेत सचेत हुन जरुरी छ।’

    जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद पाण्डेले ग्यास उद्योगको अनुगमनमा छिट्टै लाग्ने बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]