राजनीति

समृद्धिको मार्गमा अघि बढ्दैछाैँ : मुख्यमन्त्री राउत

माघ २१, २०७५

    जनकपुरधाम :

    प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले सङ्घीयता सुरु भएको एक वर्षको अवधिमा प्रदेशसभाले सत्ता र प्रतिपक्षबाट प्रदेश समृद्धिको मार्गमा सहयोग प्राप्त भएको बताएका छन्।

    राउतले प्रदेशसभाको प्रथम वार्षिकोत्वसको अवसरमा प्रदेशसभा संसद्मा सम्बोधन गर्दै सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै एक वर्षको अवधि उपलब्धिमूलक रहेको बताएका हुन्। उनले सङ्घीयता सिकाई प्रक्रियामा रहेको कारण प्रतिपक्षी दलको भूमिकालाई सराहना गर्दै सङ्घीयताको अभ्यासमा सहयोग र समृद्धिको सांस्कृतिक विकास गर्न समेत प्रतिपक्षी र प्रमुख प्रतिपक्षी दललाई आग्रह गरे।

    मुख्यमन्त्री राउतले भने, ‘काम गर्ने सिलसिलामा एकले अर्कालाई  सहयोग नगरे विकास र समृद्धि अघि बढ्न सक्दैन त्यसैले सत्ता र प्रतिपक्षको विकासको मिसनलाई एउटा उदाहरण प्रस्तुत गर्न आग्रह गर्दछु। अबको वर्षहरूमा प्रदेशसभामा अझ आत्मीयता, विश्वास र सहयोगको आवश्यकता छ।’ संसद्मा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनारले विभिन्न आन्दोलनको बलमा आएको सङ्घीयता परिवर्तनको महत्त्वपूर्ण खुड्किलो भएको बताए। उनले प्रदेशसभाबाट केही असहमति बाहेक १६ वटा विधेयक पास भएको र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गर्दै प्रदेश समृद्धिका निमित्त सत्ता र प्रतिपक्षको भूमिका अपरिहार्य रहेको बताए। 

    मन्त्री सोनारले प्रदेश समृद्धिको बाटो तर्फ लम्केको बताउँदै प्रतिपक्षी र प्रमुख प्रतिपक्षीले उठाउँदै आएको माग प्रदेशको राजधानी र नामकरणमा सरकार गम्भीर रहेको बताए। उनले भने, ‘गणतन्त्र गंगोत्रीको यो भूमि हो। यहाँबाट हरेक परिवर्तनको सुरुवात भएको छ। अब यो सङ्घीयताको संस्थागत समेत यही भूमिबाट हट्नुपर्छ।’ 

    नेकपाका नेता सत्यनारायण मण्डलले सरकार र सदनमा विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका निर्वाहको लागि विवश गरेको बताए। उनले सभामुखमाथि रोष प्रकट गर्दै भने, ‘प्रदेशसभाले मेरो पटक पटक मान मर्दन गर्दै आएको छ। सरकारले विभिन्न आयोगहरू गठन गर्‍यो तर प्रतिपक्षीलाई एक पटक सोध्न पनि आवश्यक ठानेन। यो कस्तो संस्कार हो।’ यसै गरी प्रदेश २ नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले नामकरण र राजधानीबारे बोल्दै भने,‘एउटा बच्चा जन्मेपछि ६ दिनमा नाम टुंगिन्छ। तर यहाँ एक वर्ष भइसक्यो। तर नाम र राजधानी तोकिएको छैन। अब यो वर्ष जसरी भयो। भयो अब अर्को वर्ष यही सुन्न नपरोस्।’ साथै उनले सातै प्रदेश भन्दा प्रजातान्त्रिक शैलीमा  प्रदेश २ को संसद् सञ्चालन भएको दाबी गर्दै संघीय संसद् जस्तो अमर्यादिन यहाँ नहोस् भन्ने कामना समेत गरे।

    संसद्मा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनालले ‘प्रादेशिक विद्युतसम्बन्धी विधेयक, २०७५ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गरेका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]