अर्थ

सिमकार्ड जस्तो चिप टाँसिएको बैंक कार्ड बोक्नुभएको छ?

फागुन १, २०७५

    काठमाडौं : सिमकार्ड जस्तो चिप टाँसिएको बैंक कार्ड बोक्नुभएको छ? त्यसो भए तपाईं अपग्रेड भइसक्नुभयो। नेपालमा बैंक कार्डलाई एटिएम कार्ड मात्रै भन्दा पनि फरक पर्दैन।

    आजभोलि देशभित्र अनलाइन कारोबार गर्नका लागि केही हदसम्म बैंक कार्ड प्रयोग हुने भए पनि समग्रमा तपाईंले बोकेको बैंक कार्ड एटिएम कार्डमै सीमित छ। उल्लिखित ‘बैंक कार्ड’लाई बैंक एटिएम भनेर बुझ्नुभए पनि हुन्छ। खासमा तपाईंले बोकिरहेको कार्ड एटिएम नभएर डेबिट वा क्रेडिट कार्ड हो।
    नेपालमा बैंकहरूले डेबिट तथा क्रेडिट दुवै किसिमका कार्ड जारी गर्छन्। सामान्य अवस्थामा हामीले बोकेर हिँड्ने कार्ड डेबिट कार्ड हो। केही समय अघिसम्म बैंकहरूले सामान्य प्रकृतिको डेबिट कार्ड वितरण गर्थे। तर, विस्तारै बैंकहरूले सिमकार्ड जस्तो चिप टाँसिएको कार्ड वितरण गर्न थालेका छन्। त्यो कार्डको नाम इएमभी कार्ड हो।

    केही समय अघिसम्म तपाईंले सामान्य चुम्बकीय लेपन लगाइएको कार्ड बोक्नुभएको थियो। तपाईंको कार्डको पछाडिपट्टि कालो धब्बा जस्तो देखिने भाग चुम्बकीय लेपन हो। त्यहाँ बैंकसँग जोडिएको तपाईंको विवरण राखिएको हुन्छ। त्यो सोझो आँखाले देखिँदैन। त्यो पढ्ने मौका एटिएम मेसिनले मात्रै पाउँछ।

    तर, आजभोलि इएमभी कार्ड बोक्नुभएको होला। इएमभीको अर्थ युरो पे, मास्टरकार्ड र भिसा हो। डेबिट तथा क्रेडिट  कार्डको दुनियाँमा एकछत्र राज गरेका यी तीन कम्पनीले संयुक्त रूपमा कार्डमा इएमभी प्रविधिलाई जोडेका हुन्। तपाईंले भिसा कार्ड बोके पनि मास्टरकार्ड बोके पनि इएमभी चिप भएकै कार्ड बोक्न पाउनुहुन्छ। त्यो विवरणलाई यी कम्पनीहरूले विकसित गरेको प्रविधिले ‘रिड गर्न’ सक्छ।

    इएमभीमा तपाईंको विवरण राखिएको हुन्छ। कारोबार गर्दा मेसिनले त्यो विवरण रिड गर्नुपर्छ। तर, यहाँ केही फरक छ। चुम्बकीय लेपन मात्रै भएको कार्डले सधैँभरी एउटै डाटा देखाउँथ्यो। त्यस कारण ‘बैंक फ्रड’हरूले तपाईंको विवरण चोरेर सजिलै तपाईंको खाताको पैसा निकाल्थे। केही समय अघि नेपालका एटिएमहरूबाट डाटा चोरिएको र बै‌ंक फ्रड भइरहेको थाहा पाउनुभयो होला। 

    तर, अहिले त्यस्तो हुने सम्भावना छैन। नेपालका एटिएम मेसिनहरू भने अझै अपग्रेड हुन सकेका छैनन्। तर, पनि इएमभी कार्डले भने हरेक पटकको कारोबारमा फरक-फरक विवरण दिन्छ। त्यो प्रविधि चिपमा जोडिएको छ। 

    फरक-फरक विवरण दिए पनि त्यसलाई मेसिनले रिड गर्छ। फरक-फरक विवरण हुनेबित्तिकै बैंक फ्रडहरूले तपाईंको कार्डको विवरण चोरेर कारोबार गर्न सक्ने सम्भावना हुँदैन। किनकि उनीहरूले विवरण चोरे पनि अर्को कारोबार गर्दा त्यो विवरणले काम गर्दैन। सिस्टमले अर्कै विवरण उत्पादन गर्छ।

    दोस्रो कुरा, चुम्बकीय लेपन लगाइएको कार्डको विवरण चारेर सोही बोमजिमको अर्कै कार्ड फ्रडहरूले बनाउने सम्भावना पनि रहन्थ्यो। तर, अहिले अर्को कार्ड बनाउन सम्भव हुँदैन। किनकि एटिएमबाट पैसा निकाल्नका लागि सोही कार्ड नै इन्सर्ट गरिएको हुनुपर्छ। सोही कार्ड इन्सर्ट भयो कि भएन भनेर मेसिनले सजिलै पत्ता लगाउँछ।

    कार्डको प्रयोग बैंक एटिएमहरूमा मात्रै नभएर विभिन्न सपिङमा स्वाइप गर्ने चलन आएको छ। स्वाइप गर्दा पनि मेसिनले डाटा रिड गरिरहेको हुन्छ। यसरी कार्डको प्रयोग बढ्दै जाँदा सुरक्षा चुनौती पनि बढ्दै गएको भन्दै युरो पे, मास्टरकार्ड र भिसाले संयुक्त रूपमा यो प्रविधि प्रयोगमा ल्याएका हुन्।

    तेस्रो, इएमभी कार्डमा यी तीन कम्पनीले एकरूपता ल्याएका छन्। आफ्नै हिसाबले व्‍यापार प्रवर्द्धन गरे पनि प्रविधिलाई तीनवटा कम्पनीले नै समग्रमा प्रयोगमा ल्याएका हुन्। यसले गर्दा युरो पे, मास्टर कार्ड तथा भिसामा एकरूपता हुन्छ। एक रूपता हुनेबित्तिकै तपाईंले जुन कार्ड बोके पनि फरक पर्दैन। 

    तपाईंले आफ्नो बैंकले यो उच्चस्तरीय कार्ड बाँडेको भनेर सम्झनुभएको होला। बाँड्ने त बैंकले नै हो। तर, कार्ड यी कम्पनीहरूले बजारमा ल्याएका हुन्। यसमा बैंक र कम्पनीका बीचमा व्यापारिक सम्झौता भएको हुन्छ। 

    नेपालमा धेरैजसो बैंकहरूले भिसासँग सहकार्य गरेका छन्। बैंकले दिने कार्ड भिसाले नै जारी गरेको हो। बैंक विवरणलाई कार्डमा इन्टिग्रेसन गरेपछि कार्ड संचालनमा आउँछ। भिसाले कार्ड प्रदान गरेको र विवरण राखेको भए पनि कारोबारका लागि तपाईंको बैंकले अप्रुभ गरेको हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]