राजनीति

'कम्युनिस्टको बर्को ओढेर उत्पात मच्चाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ'

चैत १४, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिका नाममा हिंसाको बाटोमा लाग्नुको औचित्य नभएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले मुलुक राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भएर सामाजिक न्यायसहितको समृद्धितर्फ गइरहेको अवस्थामा हतियार बोक्ने क्रान्तिको औचित्य नभएको बताएका हुन।

    नेकपा प्रदेश ३ को प्रथम बैठकको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकांक्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने सपनाको छेउमा पनि पुग्न नसकिने बताए।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीलेभने, 'अब पनि बन्दुक र लुटपाटको सहारा लिएर क्रान्ति गर्छु भन्नेले देश बनाउँदैनन। कम्युनिस्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानुनबमोजिम नियन्त्रण गर्छ। यसमा पार्टी पंति स्पष्ट भए हुन्छ।'

    हिंसात्मक गतिविधि गर्ने समूहलाई सरकारले प्रतिबन्ध लगाउन नहुने तर्क राख्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लोकतान्त्रिक विचारबाट स्खलित भएको जिकिर गर्दै उनले मुलुकबाट पृथकतावादको कुरा र हिंसात्मक राजनीतिको अभ्यास समाप्त भएको जनाए।

    पार्टी एकतापछि तल्लो तहको एकतामा ढिलाइ भएको स्वीकार्दै ओलीले अब चाँडै त्यसलाई पूरा गरेर अघि बढिने उल्लेख गरेका थिए। उनले पार्टीभित्रका असन्तुष्टिलाई बाहिर उछालेर भए–नभएका कुरा सार्वजनिक गर्ने अनुशासनहीन प्रवृत्ति उचित नभएको पनि बताए। उनले भने, 'नेतृत्वले कुनै लाखापाखा गर्दैन। त्यसैले अब कसैले गुटबन्दी गर्नु पर्दैन। गुटबन्दी र फुटको शिक्षाबाटै हामी एकताबद्ध भएर सुविधाजनक बहुमतको कम्युनिष्ट सरकारको चरणमा पुगेका छौँ। अब सामाजिक रूपान्तरणको काममा सबै लाग्नुपर्छ।'

    पार्टी एकतापछि हाललाई सामाजिक न्यायसहितको समाजवादको लक्ष्यमा केन्द्रीत जनताको जनवाद विचारधारा लिइएको उल्लेख गर्दै प्रधानमन्त्रीले जनतामा भनेर मात्र नभई गरेर देखाउने गरी नेता कार्यकर्ताहरु प्रस्तुत हुन आग्रह गरे।

    केन्द्र, प्रदेश र स्थानीय तहमा विकासको आधार शुरु भएको र यसबीचमा धेरै कानून निर्माण भएकाले केही काम भएन भनी सरकारको आलोचना भएन भनिनुको अर्थ नभएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले कम्युनिष्ट सरकारले आयोजना गरेकाले लगानी सम्मेलन सफल हुँदैन भनेर गरिने टिप्पणी देशको हितविरुद्ध भएको बताए। उनले भने, 'हामीले पूँजी र प्रविधिको विकासका लागि विदेशी लगानी स्वीकारेका छौँ र निजी क्षेत्रसँग सहकार्य गरेका छौँ। यो दलाल पूँजीवाद होइन। यसो नगर्ने हो भने विदेशबाट सामान किनेर प्रयोग गरिरहनुपर्ने परनिर्भर अवस्थामा हामी रहनेछौँ।'

    कार्यक्रममा अध्यक्ष ओलीले २१७ सदस्यीय प्रदेश कमिटीका सदस्यलाई शपथ गराएका थिए। तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि गठित प्रदेश कमिटीमा नारायण दाहाल अध्यक्ष र आनन्द पोखरेल सचिव छन। कार्यक्रममा पार्टीका सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल, प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य र सहइञ्चार्ज हितबहादुर तामाङलगायत उपस्थिति थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]