समाज

कतै बाटैमा बेचिन्छ त कहीँ गोदाममै कुहिन्छ अनुदानको चामल

असार ५, २०७६

    मुगु : नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री हुने गरेको छ। नेपाल खाद्य संस्थान शाखा कार्यलय गमगढीबाट सोरुकोटका लागि पठाइएको चामल सोरु गाउँपालिका-८ बाटै बिक्री हुने गरेको खुलासा भएको हो।

    यसरी बाटोबाटै ठेकेदारले मनोमानीरूपमा चामल बिक्री गरेपछि स्थानीयवासीले अनुदानको चामल नपाएको बताएका छन्। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको उक्त चामल ठेक्कामार्फत डिपोमा बर्षेनी ल्याउने गरिन्छ। तर ठेक्केदारले मनोमानी नाफा कमाउने उदेश्यका साथ अनुदानको चामल हुम्लाका नागरिकलाई बिक्री गर्ने गरेका स्थानीयको भनाइ छ। सोरु गाउँपालिकाका जनताले चामल नपाएर हैरान छन्।

    अनुदानको आएको चामल वर्षेनी बाटोमै बिक्री–वितरण हुने गरेकाले सोरुकोटका जनताले अनुदानको चामल नपाएको सोरुगाउँपालिका-६ का वडा अध्यक्ष मानप्रसाद भट्टले बताए।

    अहिले सोरुकोट डिपोमा खाद्यान्नका लागि दैनिक स्थानीयवासी पुगे पनि चामल नहुँदा रित्तो हातफर्कनु परेको छ। अनुदानको चामल बिच बाटोमा बिक्रि गर्ने तर जनतालाई ढाँटेर खाने प्रवृत्ति देखिएको स्थानीयवासीको गुनासो आउने गरेको अध्यक्ष भट्टले बताए।

    खाद्यान्न उत्पादन नहुने यस क्षेत्रमा बाहिरबाट आयातित अन्नबाट दैनिक जीविका चल्दै आएको छ। सरकारले अन्नुदानमा उपलब्ध गराउँदै आएको चामल बाटोमै बिक्री गरेर कागज मिलाउने काम गर्दा सोरु गाउँपालीका बासीन्दा चामलको अभावमा समस्यामा परेका छन्।

    बाटोमै बेचेको थाहा छैन : गाउँपालिका अध्यक्ष

    यता, सोरु गाउँपालीका अध्यक्ष लोकबहादुर शाहीका अनुसार अनुदानको चामल बाटोमा बिक्री गरेको आफूलाई थाहा नभएको र बिक्री गरेको भए कारबाही गर्ने बताए।

    नेपाल खाद्य संस्थानले सोरुकोट डिपो र तारापानी वितरण केन्द्रको लागि पठाउनुपर्ने अनुदानको चामल के कत्ति आयो जाँचबुझ गर्ने र माग गरिएबमोजिम अनुदानको चामल नआएको भए ढुवानीको जिम्मा लिइएको ठेकेदारलाई कारबाही गर्ने अध्यक्ष शाहीले बताए।

    सोरुकोट वितरण केन्द्रका लागि चालू आर्थिक वर्षको खाद्यान्न २२ सयकोटा भए पनि १८ सय गहेको छ। ढुवानीको जिम्मा शर्मा ढुवानी सेवाले लिएको नेपाल खाद्य संस्थानले जनाएको छ। चालू आर्थिक वर्षका लागि सुर्खेतबाट र गमगढी शाखाबाट गरेर करिब चार हजार क्विण्टलमध्ये चार सर क्विण्टल मात्र जान बाँकी रहेको शाखा प्रमुख भरतराज खनियाँले बताए। तर खाद्यन्न बीचबाटोमा नै बिक्री भएको भन्ने आफूलाई जानकारी नआएको तथा त्यसको जिम्मेवार स्वयम ठेकेदार नै हुने उनले बताए।

    गोदाममै कुहिँदै

    सोरुकोट र कालै डिपोका लागि पठाइएको अनुदानको चामलको गोदाममा पानी पस्दा चामल भिजेर कुहिएको छ। गएको शनिबार रोपाइँ गर्ने क्रममा खेतमा लगाइएको पानी सोरु गाउँपालिका-८ तारापानीमा रहेको चामलको गोदाममा पसेपछि चामल सडेको हो। १४ क्विन्टल बराबरको अनुदानको चामल पानीको भल पसेर सडेको गोदाम रेखदेख गर्ने ठेक्केदारका आफन्त रामचन्द्र तिरुवाले बताए।

    चामलको गोदाम गहिरोमा रहेको र वरिपरि खेतमा लगाइएको पानी गोदाम पसेर चामल कुहिर सडेको तिरुवाको भनाइ छ। यो चामल चालू आर्थिक वर्षको हो वा अघिल्लो आर्थिक वर्षको हो भन्ने खुलेको छैन। तर तिरुवाले चामल विर्ख टमटा (हिमाल) फुपाजुको खाद्य संस्थानबाट ठेक्का लिएर वितरण गर्न राखेको बताएका छन्।

    खाद्य संस्थान भन्छ- चामल कुहेको छैन

    यता, नेपाल खाद्य संस्थान मुगु शाखाका अनुसार चालू आर्थिक वर्षको खाद्यन्न ढुवानीको काम विजय ट्रेड एण्ड सप्लायर्सले लिएको र खाद्यान्न पनि गई सकेको जनाएको छ भने हालै वितरण केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा गुडविल सप्लार्सले लिएको छ।

    तर कुहिएको खाद्यन्न कुन साल र कुन ठेकेदारको भन्नेमा आफूलाई जानकारी नभएको नेपाल खाद्य संस्थान शाखा मुगुका प्रमुख भरतराज खनियाँले बताए।

    वितरण केन्द्रसम्म खाद्यन्न ढुवानी गर्ने जिम्मा ठेकेदारको हुने र बिच बाटोमा पानीले भिजेर कुहिने, बोटोमा विक्रि गरे त्यसको दायित्व सम्बनिधत ठेकेदारले नै लिनु पर्ने शाखा प्रमुख खनियाँले बताए।

नन्दबहादुर रोकाया

रोकाया थाहा खबरका मुगु समाचारदाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]