राजनीति

काठमाडौं महानगरका योजना : 'स्पेसल टास्क फोर्स'देखि 'मेयर उज्यालो' सम्म

ज्येष्ठ नागरिकलाई मनमोहन र प्रजातान्त्रिक योद्धालाई गणेशमान सम्मान!

असार ५, २०७६

    काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गर्ने भएको छ।

    काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दबाब आइरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो।

    बिहीबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा संचालनमा ल्याउने घोषणा गरेका हुन्।

    ‘वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने’ काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रमुख शाक्यले सहरी यातायात व्यवस्थापन नीति अन्तर्गत काठमाडौंको सम्भाव्यता देखिएका स्थानको पहिचान गरी साइकल लेन बनाउने नीति पनि अघि सारिएको बताए।

    महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा सम्बर्द्धन र पर्यटन प्रबर्द्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं भित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, सम्बर्धन गर्न ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम संचालन गर्ने पनि समावेश गरिएको छ। प्रमुख शाक्यले आगामी आर्थिक वर्ष भित्र काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने पनि बताए।

    नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको योगदानलाई सम्मान गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम संचालन गर्ने पनि पनि उल्लेख गरिएको छ।

    प्रमुख शाक्यले प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरूलाई गरेको सम्मान र प्रजातन्त्रका लागि सिंहले पुर्‍याएको योगदानको उचित कदर गर्दै सो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।

    नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ। त्यसैगरी सूचना तथा संचार नीति अन्तर्गत निःशुल्क वाइफाई सेवा संचालनको कामलाई बिस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा 'मेट्रो टेलिभिजन' स्थापना गरि संचालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ। मेयर शाक्यले महानगरपालिकाद्धारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको पनि बताए।

    काठमाडौंलाई प्रदूषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]