खेलकुद

बार्सिलोना फर्किँदै नेयमार! पाँच वर्षे सम्झौतामा हस्ताक्षर भएको दाबी

असार १०, २०७६

    एजेन्सी : ब्राजिलियन स्टार स्ट्राइकर नेयमार जेआर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट पुन: स्पेनिस क्लब बार्सिलोना फर्किने समाचारले फुटबल जगत तातेको छ। 

    नेयमारले बार्सिलोना फर्किनका लागि पाँच वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेको दाबी बेलायतको चर्चित अनलाइन डेली मेलले गरेको छ। उसले स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै मंगलबार प्रकाशित गरेको समाचारमा नेयमार बार्सिलोना फर्किन तयार भएको उल्लेख छ। 

    नोउ क्याम्प छाडेर पछुताइरहेका नेयमरलाई भित्र्याउन अर्को स्पेनिस क्लब रियल मड्रिडले पनि जोड गरेको थियो। तर उनले बार्सिलोनामै फर्किने बताइरहेका थिए। 
    सोमबार मात्रै ३२ वर्षमा लागेका अर्जेन्टाइन स्ट्राइकर लियोनेल मेसीका पार्टनरकारूपमा बार्सिलोनाबाट खेल्दा नेयमार चर्चाको शिखरमा थिए। तर उनी मेसीको छायामा परेको भन्दै २ वर्षअघि पिसएजी गएका थिए। 

    नेयमार बार्सिलोना फर्किने कुरामा क्लब व्यवस्थापन पनि राजी भएको दाबी स्पेनिस सञ्चारमाध्यमले गरेका छन्। दुवैपक्षबीच प्रारम्भीक सहमति पनि भइसकेको दाबी समाचारमा गरिएको छ। 

    समाचार अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेको अनुबन्धसम्बन्धी सम्झौता प्रस्तावलाई नेयमारले तत्कालै स्वीकार गरेका थिए। 

    उनी सन् २०१७ मा बार्सिलोनाबाट १९८ मिलियन पाउन्डमा पिएसजी जाने क्रममा विश्वकै सबैभन्दा महँगा फुटबलर भएका थिए। 

    तर पिएसजी गएसँगै नेयमार पटक पटक घाइते भइरहे। नेयमार पटक पटक घाइते हुनुमा पिएसजी दोषी रहेको दाबी ब्राजिलियन प्रशिक्षक टिटेले पनि गरेका थिए।

    त्यससँगै पिएसजीमा अर्का स्ट्राइकर एडिन्सन काभानीसँग उनको सम्बन्ध राम्रो रहेन। काभानी र नेयमारबीचको झगडा मैदानमै छरपस्ट भएको थियो। नेयमारले अर्का स्ट्राइकर केलियन एम्बाप्पेसँग पनि राम्रो सम्बन्ध बनाउन नसकेको दाबी फुटबलसम्बद्ध सञ्चारमाध्यमले गरिरहेका छन्। 

    नेयमार हाल घाइते अवस्थामा छन्। गोलीगाँठोको चोटका कारण उनले ब्राजिलमै भइरहेको कोपा अमेरिका फुटबल प्रतियोगिता पनि खेल्न पाएका छैनन्। उनी कतारविरूद्धको मैत्रीपूर्ण खेलमा चोटग्रस्त भएका थिए।

    '२७ वर्षीय नेयमार बार्सिलोना फर्किन चाहेको कुरामा कुनै शंका रहेन', डेली मेलले लेखेको छ, 'तर नेयमार भित्र्याउन बार्सिलोनाले धेरै पैसा जुटाउनुपर्ने हुन्छ। जसका लागि केही गतिला खेलाडी पनि बेच्नुपर्ने हुनसक्छ।'

    नेयमारका सबै तस्बिर हटाइएको बार्सिलोनाको ड्रेसिङ खुला हातले नेयमारको स्वागत गर्न तयार छ। तर बार्सिलोनाको प्रस्तावमा पिएसजीले गर्ने निर्णय पनि कुर्नुपर्ने हुन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]