समाज

आठ महिना नबित्दै घुम्ती शौचालय प्रयोगविहीन

साउन १९, २०७६

    बाँके : नेपालगन्ज उपमहानगरपालिकाले ५९ लाख रुपैयाँमा गत मंसिरमा खरिद गरेर ल्याएको चार वटा घुम्ती शौचालय आठ महिना नबित्दै प्रयोगविहीन भएका छन् । नेपालगन्जका अति व्यस्त चोक र चौराहमा राख्नका लागि ल्याइएका घुम्ती शौचालय सर्वसाधारणले शौच गरेबापत शुल्क तिर्न नमानेपछि ती शौचालय प्रयोगविहीन भएका हुन्।

    उपमहानगरले पुष्पलाल चोक र त्रिभुवन चोक, धम्बोझी, गुलरिया बसपार्कमा  राखेर खुल्ला दिसामुक्त अभियानमा टेवा पुर्‍याउने उद्देश्यले भारतबाट ल्याइएका घुम्ती शौचालय प्रयोगविहीन भएपछि जिल्ला समन्वय समिति परिसरमा थन्क्याइएको छ। कार्यविधि बनाएर घुम्ती शौचालय संचालनमा ल्याइए पनि पैसा तिरेर शौच गर्न नमानेपछि प्रयोगमा ल्याउन नसकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए।

    उनले दुई महिनादेखि घुम्ती शौचालय जिल्ला समन्वय समिति परिसरमा थन्किएको बताए। घुम्ती शौचालय तीन महिनाका लागि ७० हजार रुपैयाँमा ठेक्का दिइएको थियो। ‘शौच गर्नेहरूले न्यूनतम शुल्कसमेत तिर्न नमानेपछि ठेकेदार कम्पनीले नवीकरण गर्न मानेनन्, प्रयोगमा नआएपछि जिल्ला समन्वय समिति परिसरमा राखिएको छ,’ उनले भने।

    तीन महिनाका लागि घुम्ती शौचालय भाडामा लिएका स्वच्छ नेपाल, हाम्रो अभियानका अध्यक्ष भानु भट्टले भाडामा लिएर संचालन गर्न नसकिएको बताए। उनले शौचालयमा भन्दा खुल्ला ठाउँ र झाडीमा शौच गर्ने प्रवृत्ति भएकोले शौच गर्न नआउने र आए पनि शुल्क तिर्न नमान्ने समस्या नेपालगन्जमा भएको बताए।

    तीन महिनाका लागि ७० हजार रुपैयाँमा भाडा लिएको बताउँदै उनले उपमहानगरपालिकालाई तिर्ने रकम बल्लतल्ल उठाएको जिकिर गरे। ‘बरु खुल्ला ठाउँ र झाडीमा गएर शौच गरिहाल्छन्, तर पैसा तिरेर शौच गर्न मान्दैनन्,’ उनले भने।

    एक ठाउँबाट अर्को ठाउँ सहजै लैजान सकिने उक्त आधुनिक शौचालयमा एकसाथ आठ जनाले प्रयोग गर्न सक्ने सुविधा छ। सञ्चालन खर्चका लागि उपभोक्तासँग पिसाब गरेबापत पाँच रुपैयाँ र दिसा गरेबापत १० रुपैयाँ शुल्क तोकिएको छ। तर, शुल्क तिरेर शौच गर्नेको संख्या एकदमै न्यून भएको उपमहानगरले जनाएको छ।

    चोक र चौराहमा सफल नभएपछि उक्त घुम्ती शौचालयलाई मेला, महोत्सव, आमसभा र धार्मिक कार्यक्रममा प्रयोग हुने गरेको छ। चोक र चौराहमा राखेर फाइदा नभएपछि ठेक्का लिएको घुम्ती शौचालयलाई मेला, महोत्वस, आमसभा र धार्मिक कार्यक्रमका आयोजकले भाडामा लिने गरेका छन्। ‘नेपालगन्जमा आयोजना भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्वलाई भाडा दिएर ठेक्का रकम उठाए,’ शौचालय भाडामा लिएका भट्टले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]