काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले शनिबार देशभर आंशिकदेखि साधारणतया बदल...
काठमाडौं : नेपाल सरकारले आज बिहान निधन भएका वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वरिष्ठ साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने जानकारी दिएका हुन्।
मन्त्री भट्टराईले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका छन्। उनले दीक्षितको निधनमा दुःख व्यक्त गरेका छन्।
वरिष्ठ साहित्यकार तथा पुराना पत्रकार दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको हो।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा आज बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
दीक्षितलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। दीक्षितका ‘माधवी’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन्। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए।
नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनले ४० वर्ष भन्दा लामो समय पत्रकारितामा बिताए।
समिक्षा साप्ताहिकको सम्पादक रहेका उनी 'माड्साव' उपनाम जोडेर चिनिन्थे। व्यवसायिक जीवनको शुरुवातमा शिक्षण पेशा अँगालेकाले उनलाई माड्साव भन्ने गरिएको हो। दीक्षित तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए।
उनको जन्म विस १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो। उनका श्रीमती, विनोद प्रमोद र अमोद तीन छोरा र एक छोरी छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।