काठमाडौं : कहिलेकाहीँ देख्छु, कमिलाका गोलोमा आपत्विपत् परेको। देख्छु– ती हजारौँ कमिला आ–आफूले पारेका अण्डा च्यापेर फटाफट सुरक्षित स्थानतिर भागिरहेको। सोच्छु– तिनले कसरी चिने होलान् त्यति धेरै अण्डाबाट आ–आफ्नो अण्डा!
कहिलेकाहीँ आफैँतिर फर्किएर सोच्छु, 'ती कमिलाका गोलामा भएका अण्डाहरू जस्तै मसँग पनि हजारौँ सपनाका अण्डा थिए। कसरी छानेँ हुँला आफ्ना लागि ठिक सपना।'
पहिलो कुरा! म जहाँ जन्मिएँ। जहाँ हुर्किएँ, जसरी हुर्किएँ, त्यहाँ ‘सपना देख्नुपर्छ’ भन्ने नै थाहा थिएन। ‘जीवनमा यो बन्नुपर्छ, त्यो बन्नुपर्छ’ भन्ने थाहा थिएन। समयले जे जे बनाउँथ्यो, त्यही बन्नुपर्थ्यो।
तर मैले आफूलाई समयको हत्केलामा थमाइनँ।
उमेर छिप्पिँदै जाँदा एक दिन थाहा पाएँ– सपना देख्नुपर्छ। मैले दिनहुँ सपना देखेँ। दिनहुँ सपना फेरेँ। भनिन्छ नि ‘नयाँ जोगीले धेरै खरानी घस्छ।’ मैले पनि सपनाको खरानी धेरै घसेँ।
कमिलाको गोलोमा भएका हजारौँ अण्डा जस्तै हजारौँ सपनाका अण्डा जम्मा भए, मसँग।
अहिले लाग्छ– मैले कसरी चिनेँ हुँला त्यति धेरै सपनाका अण्डाहरूबाट ठीक सपना?
मेरो सपना केही बन्नु हैन रहेछ, खुसी हुनु रहेछ– पत्तो पाएँ। जे काम गर्दा खुसी हुन्थेँ, त्यही गर्न थालेँ। कहिलेकाहीँ लामो बाटो पैदल हिँड्दा खुसी हुन्थेँ। पैदल हिँड्न थालेँ। हिँड्दै जाँदा आफैँसँग कुरा गर्न थालेँ। आफूसँग बात मार्दा खुशी भएँ।
आफूतिर फर्कन थालेँ। आफैँलाई लेख्न थालेँ।
आफू खुशी भएर गरेको काम अरुलाई पनि मनपर्दो रहेछ। पाठकहरूले मेरो काम मन पराइदिनुभयो।जसको ऊर्जाले मेरो यात्रा थामिन दिएन। जसको ऊर्जाले ‘म हिँडेको बाटो ठीक हो’ भन्यो। ती पाठक नभइदिएको भए मेरो खुशी कसले बुझिदिन्थ्यो ? कसले पढिदिन्थ्यो ?
यो पनि लाग्छ! म गलत सपनाको बाटोमा हिँडेको भए मेरो जिन्दगी कस्तो हुँदो हो ! कल्पिँदा पनि कहाली लाग्छ।
अर्को कुरा, मलाई थाहा भयो, दुःख त एक्लै बाँच्न सकिँदो रहेछ। खुशीमा बाँच्न चाहिँ साथ चाहिँदो रहेछ, जुन साथ तपाईंहरूले दिनुभयो।
तपाईंहरू सबैलाई थुप्रै थुप्रै धन्यवाद।
पाठकहरूले दिएको ऊर्जा र खुशीमा पुरस्कारले थप ऊर्जा र खुशी थपिदिएको छ। म कोसिसमा विश्वास गर्छु।
आफूबाट भागेर अन्त जान नसक्दो रहेछु। यसकारण मैले आफ्नै कुरा लेखेँ। एउटा किसान र मजदुरको कथाले यो सम्मान पाउँदा जुन खुशी र ऊर्जा मिलेको छ, त्यो जस्ताको त्यस्तै देखाउन नसकिँदो रहेछ। त्यो शब्दभन्दा टाढा, आवाजभन्दा पर, कुनै चिजको तुलनाभन्दा माथि हुँदो रहेछ।
खुसी लागेको छ। एउटा सर्वसाधारण केटो जो मजदुर हो। जो किसान हो। जसका कथाले यति ठूलो सम्मान पाउँदा साँच्चिकै खुसी लागेको छ।
पद्मश्री पुरस्कार ग्रहणपश्चात् सायनको मन्तव्यको अंश
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।