खेलकुद

रंगशालामा रमिता : खेल्न नपाउँदै छानो चुहियो, फेरि बनाइँदै

पुस ५, २०७६

    काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) उदघाटनका लागि हतारमा निर्माण गरिएको रंगशालाले सामान्य हिउँदेझरी पनि थेग्न नसक्दा फेरि पुनःनिर्माण गरिँदैछ। सागका लागि हतारमा राखिएको प्याराफिटमाथिको छानाबाट पानी चुहिएपछि फेरि छाउन थालिएको हो।

    पश्चिमी वायु सक्रिय हुँदा केहीदिन अघि काठमाडौंलगायत देशभर पानी परेको थियो। त्यो पानी भर्खरै पुनःनिर्माण गरिएको दशरथ रंगशालाले चाहिँ थेग्न सकेन। अन्तर्राष्ट्रिय मान्यताअनुसार निर्माणधीन रंगशालामा कुनै खेल खेलाउन मिल्दैन, तर शहीद स्मारक ए डिभिजन लिग फुटबल यतिखेर दशरथ रंगशालामै चलिरहेको छ। रंगशालाको भीआइपी प्याराफिटमा दर्शक होइन–फलामका टेको ठड्याइएको छ।

    दिगोपनामा ध्यान नै नदिई हतारमा पूर्वाधार निर्माण गर्ने र मर्मतका नाममा त्यहाँ राज्यको स्रोत दोहन गरिरहने प्रवृत्तिको पछिल्लो शिकार दशरथ रंगशाला बनेको छ। गत महिनामात्रै नेपालले यही रंगशालामा भुटानलाई पराजित गर्दै साग फुटबलको स्वर्ण पदक जितेको थियो। तर रंगशालामा पुनर्निर्माणमा संलग्न तालुक निकाय, इञ्जिनियर र ठेकेदारलाई चाहिँ खराब पदक दिएपनि फरक नपर्ने स्थिति छ। कमजोर संरचना निर्माण गर्दा रंगशालाको स्थायित्वमै प्रश्न उठेको छ। 

    सहिद स्मारक ए डिभिजन लिग फुटबल पाँच वर्षपछि दशरथ रंगशालामा फर्किएपनि हरेक खेलहरु दर्शकविहीन जस्तै छन्। खेल मैदान परिसरमै सामान राखेर पुनर्निर्माण गर्दा समस्या भइरहेको छ। अझैसम्म रंगशालाको छानो छाउने काम सकिएको छैन।  

    राखेपका इञ्जिनियर सञ्जीव पाठकचाहिँ छानाका केही काम बाँकी रहँदा नै साग शुरु भएकाले केही समस्या देखिएको, तर अहिले यसलाई पक्की बनाउन पुनः काम थालिएको बताउँछन्। हतारमै एकैपटक सबै काम पुरा गर्न नसकिएको, तर केही दिनमा यी सबै काम सकिने पाठकको दाबी छ।

    रंगशालामा फुटबल भइरहँदा भिआईपी प्याराफिटतर्फ भइरहेको निर्माणकार्यले खेल हेर्न पुगेका दर्शकलाई विथोलिरहेको छ। एकातिर एन्फाले घरेलु लिगमा दर्शक बढाउने विभिन्न स्कीमहरु घोषणा गर्ने तयारी गरिरहेको छ भने अर्कातिर प्याराफिटमा बस्नै नमिल्ने गरी ठड्याइएका फलामे टेकोले न त खेलमा रौनक छ, न त हेर्न आउने दर्शक सुरक्षित र ढुक्क भएर त्यहाँ बस्न सक्छन्।

    रंगशाला पुनर्निर्माणकै लागि राखेपले निकै समय गुजारिसकेको छ, तर भरलाग्दो गरी कहिलेसम्म रंगशाला तयार गर्ने भन्नेतर्फ राखेप संवेदनशील हुनुपर्ने देखिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]