छापा

साेलारबाट उत्पादन गरिएको बिजुली बेच्न सकिने

पुस ६, २०७६

    काठमाडौं : आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन्।

    घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ। घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ। व्यक्तिले महिनाभरि प्राधिकरणको विद्युत् खपत गरेको र निजले प्राधिकरणलाई बिक्री गरेको विद्युतीय ऊर्जाको हिसाब गर्दा खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएको पाइएमा त्यसबापतको रकमसमेत प्राधिकरणबाट प्राप्त हुनसक्छ।

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बढी भएको बिजुली व्यक्तिले आफूहरूलाई बिक्री गर्नसक्ने बताउँदै भने, “प्राधिकरणका जुनसुकै शाखाबाट पनि यस्तो सुविधा लिन सकिन्छ । प्राधिकरणको विद्युत् खपतभन्दा व्यक्तिको घरबाट उत्पादन भएको ऊर्जा बढी भएमा हिसाब गरेर रकम पनि दिन्छौँ।”

    आवासीय भवनबाट उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणको ग्रिडमा पठाउन मिल्ने प्रावधान उल्लेख भएको कार्यविधि दुई वर्षअघि नै स्वीकृत भएको थियो । सो कार्यविधिअनुरूप विभिन्न निकाय र उद्योगले यस्तो सेवा उपयोग गर्न थालिसकेका छन्  भन्ने खबर गाेरखापत्र दैनिकमा छ। व्यक्तिहरूलाई पर्याप्त जानकारी नहुँदा आवासीय भवनमा यस्तो सुविधाको थालनी हुन सकेको छैन।

    व्यक्तिले सौर्य ऊर्जा बिक्री गर्न चाहेमा उपकरण (सोलार प्यानल) आफैँले जडान गर्नुपर्ने हुन्छ । आवासीय घरमा पाँच सय वाटदेखि पाँच किलोवाटसम्म ऊर्जा उत्पादन गर्न सकिन्छ । एक किलोवाटसम्मको ऊर्जा उत्पादन गर्नका निम्ति सोलार प्यानल राख्दा औसतमा एक लाख ७५ हजार रुपियाँसम्म खर्च लाग्दछ।

    एकपटक जडान गरेको उपकरणको आयु सरदर २० वर्ष रहन्छ र एक किलोवाटको उपकरण जडान गर्दा २० वर्षमा करिब २८ हजार आठ सय युनिट सौर्य ऊर्जा उत्पादन हुनसक्छ । प्राधिकरणले हाल प्रतियुनिट सरदर १० रुपियाँका दरले ग्राहकलाई विद्युत् बिक्री गर्दै आएको छ र सोअनुरूप २० वर्षे अवधिमा व्यक्तिले सरदर दुई लाख ८८ हजार रुपियाँको बिजुली खपत गर्ने गरेको हिसाब निकाल्न सकिन्छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]