मनोरञ्जन

अस्ट्रेलियाको मञ्चबाटै नेपथ्यले दियो सुक गुरुङलाई श्रद्धाञ्जली

पुस ८, २०७६

    अस्ट्रेलिया : चर्चित ब्याण्ड नेपथ्यको चलन छ‚ मञ्चमा उक्लिएपछि आफ्ना सदावहार तीनवटा गीत गाउने। त्यसपछि मुख्य गायक अमृत गुरुङले दर्शकसँग संवाद गर्ने।

    तर‚ सोमबार मेलबर्नको मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्च त्यो दृश्य देखिएन। हाउसफुल हलमा ‘भेंडाको ऊनजस्तो’ गीत गाएपछि गायक अमृतले भने‚ ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत ‘छेक्यो छेक्यो’ दिएका थिए। म सुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्।’

    मृगौला रोगबाट पीडित सुक गुरुङको गत आइतबार पोखरामा निधन भएको थियो। उनै सुकको सम्झनामा अमृतले पुनः भने‚ ‘सुकजीले नेपथ्यको प्रारम्भिक कालमा छेक्यो छेक्यो गाउन दिएर हामीलाई ठूलो गुन लगाए। उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन्।’ 

    अमृतले यसो भनिरहेकै बेला अमृत र सुक सँगै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइयो। ‘हामीबीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ भावुक हुँदै अमृतले भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्ट २६ मा पुगेको बेलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ।’ यति भनेपछि उनी तस्बिर देखाइएको भित्तोतिरै फर्किए। नमस्ते गरे र फेरि भने, ‘हार्दिक श्रद्धाञ्जली सुक गुरुङ।’

    यतिञ्लेल दर्शकहरु भावविभोर भएका थिए। ‘कुनै पनि संगीतकर्मीलाई संगीतकै माध्यमबाट सम्झना गरिनु पर्छ,’ हलमा छाएको मौना तोड्दै अमृतले भने, ‘आउनुस् हाम्रा लागि र तपाई सबैका लागि सदैव प्रिय रहिरहने उनले रचेका गीत गाएरै सुक गुरुङको जीवनलाई उत्सवका रुपमा मनाऔं।’ त्यसपछि अमृतले ‘छेक्यो छेक्यो’ गाउन सुरु गरे। 

    त्यसपछि नेपथ्य कन्सर्ट नियमित सूची अनुसारै अघि बढेको थियो। अमृतले सदाजस्तै दर्शकहरुलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आह्वानसमेत गरे। 

    सिड्नीमा जस्तै मेलबर्नमा पनि कन्सर्टको अघिल्लो दिननै टिकट सकिएको थियो। अनलाइन टिकट बिक्रीमा संलग्न ‘टिकट किंग’ले उल्लेख गरेअनुसार बिक्री खुला भएको चार घण्टामै सहुलियत दरको टिकट सकिएको थियो। नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपटको अस्ट्रेलिया यात्राका लागि सिड्नीस्थित संस्था ‘नेपाली टच’सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स्’ थियो। अमृतलाई स्टेजमा सधैं झैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

    मेलबर्नको प्रस्तुतिसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अस्ट्रेलिया यात्रा सम्पन्न भएको छ। यो उसको पाँचौं यात्रा हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]