समाज

प्रभावकारी बन्दै गजुरीमा खाद्यान्‍न बैंक

बैशाख १६, २०७७

    धादिङ : कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले लागु गरेको लकडाउनबाट सिर्जित खाद्य संकट टार्न धादिङको गजुरी गाउँपालिकाले सुरु गरेको खाद्यान्‍न बैंक प्रभावकारी बन्दै गएको छ। 

    फुड बैंक स्थापना गरेसँगै सहयोगी मनहरुले खाद्यान्‍न तथा नगद जम्मा गर्न सक्ने व्यवस्था गाउँपालिकाले गरेको छ। खाद्यान्‍न संकट टार्न सुरु गरिएको खाद्यान्‍न बैंक अवधारणाबारे धेरै ठाउँबाट सोधीखोजी भएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। 

    लकडाउनमा सुरु गरिएको खाद्यान्‍न बैंक प्रभावकारी बन्दै गएको दाबी गर्दै आगामी दिनमा हुँदा खाने र हुनेखाने दुवै वर्गलाई यस बैंकमा जोड्ने गरी नीति तथा कार्यक्रम बनाएर कसैलाई पनि भोकै बस्न नपर्ने बातावरण बनाउन लागिएको अध्यक्ष बस्नेत बताउँछन्। 

    खाद्यान्‍न बैंक नयाँ अवधारण होइन, नेपाली समाजमा अहिले पनि गाउँघरमा अ‍ैंचोपैंचो चल्छ। हुनेले नहुनेलाई सहयोग दिने चलनको सुधारिएको रूप नै खाद्यान्‍न बैंक भएको गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाको भनाइ छ।

    हरेक नागरिकले संविधानले किटान गरेको खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुता उपभोग गर्न पाउने गरी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को मर्मअनुसार दिगो व्यवस्थापनका लागि फुड बैंक स्थापना, सञ्चालन तथा वितरण कार्यविधि निमार्ण गरेर सञ्चालन गर्ने उपाध्यक्ष ढुंगानाले बताइन्। 

    गाँउपालिकामा ७ सय ९६ परिवार उब्जनीले ६ महिनाभन्दा कम खान पुग्ने तथ्यांक छ। उनीहरुसहित वर्षभरि खान नपुग्नेलाई लक्ष्य गरी कार्यक्रम तथा बजेट निमार्ण गरिने उपाध्यक्ष दुंगानाले बताइन्।

    गाउँपालिकाले सुरु गरेको खाद्यान्‍न बैंकमा ५१ जना व्यक्ति तथा संस्थाबाट चामल १४ हजार एक सय ७१ केजी, दाल एक हजार एक सय ६० केजी, खानीतेल पाँच सय ३७ लिटर, नुन छ सय ३३ केजी, भुजिया ४० केजी, अण्डा ३५ क्रेट, सिमी एक हजार केजी, चिउरा ४० केजी, आलु ५० केजी, साबुन छ सय ८३ वटा र बन्दाकोभी ८५ केजी सहयोग जम्मा भएको छ। 

    यसैगरी गाउँपालिकाले चामल ३० हजार केजी, दाल दुई हजार पाँच सय केजी, तेल एक हजार पाँच सय केजी, नुन एक हजार केजी र साबुन एक हजार वटा खरिद गरेको छ।

    गाँउपालिकाका ४३ जना जनप्रतिनिधिबाट एक महिनाको सेवा सुविधा वापत पाउने रकम खाद्यान्‍न बैंकमा जम्मा गरिसकेका छन्।  खाद्यान्‍न सामान दिन नसक्नेले नगद सहयोग पनि गर्न सक्नेछन्। यस अभियानमा गाउँपालिकामा कार्यरत कर्मचारी तथा शिक्षक, देश तथा विदेशमा रहेका आम नागरिक, सहकारी तथा वित्तीय संस्था, गैरसरकारी, उद्योगी, व्यापारी, व्यावसायीहरुको सहयोग आइरहेको गाउँपालिकाले जनाएको छ। 

    गाँउपालिकाले स्थापना गरेको फुड बैंकको अनुसरण हरेक धादिङ र अन्य जिल्लाका स्थानीय तहले पनि गरे भविष्यमा कुनै पनि बेला हुन सक्ने खाद्य संकट तथा भोकमरीको समस्या स्थानीय स्तरबाटै सामना गर्न सकिने खाद्यअधिकारका लागि कार्यरत संस्था फियान नेपालका फिल्ड संयोजक राजेन्द्रकुमार बस्नेत बताउँछन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]