राजनीति

'प्रधानमन्त्री अल्पमतका होइनन्, हस्ताक्षर अभियानको अर्थ छैन'

बैशाख १८, २०७७

    काठमाडौं : सत्तारुढ नेकपाभित्र शीर्ष नेताहरुबीचको झगडा रोकिने छाँट छैन। वैशाख ८ को दुई अध्यादेश प्रकरणपछि छताछुल्ल भएको नेकपाको विवाद हस्ताक्षर अभियानसम्म पुगेको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले खुमलटारबाट हस्ताक्षर अभियान चलाएपछि बुधबार बालुवाटारमा भएको भेलामा ओली समूहले पनि त्यही अभियान चलायो।

    हस्ताक्षरको दोहोरी त्यतिकै रोकिएन। ओली समूहले बालुवाटारमा हस्ताक्षर अभियान चलाएपछि फेरि बहुमत पुर्‍याउने भन्दै प्रचण्ड-नेपाल समूहले हस्ताक्षर अभियान पुन: सुरु गर्‍यो।

    दुई अध्यादेशको पृष्ठभूमिमा छताछुल्ल भएको विवाद हस्ताक्षर अभियानपछि झनै बढेको छ। त्यही हस्ताक्षर अभियानको पृष्ठभूमिमा बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता नेपाललाई तेस्रो पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरे। 

    यस विवादबारेमा नेकपाका सांसद झपट रावलले थाहाखबरसँग कुरा गर्दै हस्ताक्षर अभियानले कसैलाई राम्रो नगर्ने बताए। 'हस्ताक्षर अभियान चलाउनु राम्रो हुँदै होइन', उनले भने, 'अझ प्रधानमन्त्रीको कार्यालय र निवासबाटै हस्ताक्षर अभियान चलाइनु आश्‍चर्यजनक कुरा हो।'

    प्रधानमन्त्रीलाई हस्ताक्षरको आवश्यकता नै नपर्ने उनको तर्क छ। ‘प्रधानमन्त्रीज्यूलाई किन हस्ताक्षर चाहियो? उहाँ अल्पमतको प्रधानमन्त्री पनि होइन। उहाँमाथि अविश्‍वासको प्रस्ताव पनि कसैले ल्याएको छैन’ उनी भन्छन्,‘अविश्वासको प्रस्ताव ल्याउँदा पनि त्यसमा आफ्नो दलभित्रको हस्ताक्षरको आवश्यकता पर्दैन नेपालको कानुन अथवा कुनैपनि नियमावलीले कहीँ पनि दिँदैन।

    संसदमा मात्रै हस्ताक्षर चाहिने उनको भनाइ छ। 'त्यो चाहिने भनेको सदनमा हो। सदनमा कसैले अविश्वासको प्रस्ताव ल्याए वा सदनमा विश्वासको मत लिन चाहुनभयो भनेदेखि संसदबाट लिने हो', उनले भने, 'संसदबाट त्यो पनि देखिँदैन। त्यसैले स्वयम् प्रधानमन्त्रीको कार्यालयबाट, निवासबाट हस्ताक्षर संकलन किन चाहियो?’

    महामारीका बेला नेकपाका शीर्ष नेताले विवाद गरेर जनतालाई निराश बनाएको उनले बताए। 'देश महामारीबाट जुधिरहेको र नयाँ चुनौती आइरहेको अवस्थामा देश र जनतालाई निराश बनाउने काम भएको छ', उनले भने, ‘विवादबारे गम्भीर ढंगले छलफल गरेर सच्याउनुपर्छ। पार्टीलाई एकढिक्का बनाएर अगाडि जानका लागि नेताहरु गम्भीर भएर छलफलमा जुट्नुपर्छ।’ 

    रावलले हस्ताक्षरको कुनै अर्थ नहुने बताएका छन्। ‘म हस्ताक्षरको कुनै अर्थ देख्दिनँ। त्यो पनि प्रधानमन्त्रीको तर्फबाट हस्ताक्षर भनेको यो केटाकेटी कुरा हो',  उनले भने। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]