|

काठमाडौं : पछिल्लो समय छिमेकी भारतको  महाराष्ट्र, मध्यप्रदेशका केही स्थानमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालमा पुनः जोखिम बढेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार महराष्ट्रमा मात्रै बिहीबार २५ हजार आठ सय ३३ जना नयाँ संक्रमित फेला परेका छन्।

यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिन संक्रमित र मृत्यु हुने यो संख्या सेप्टेम्बरपछिको सबैभन्दा धेरै हो। भारतमा मात्रै हैन पछिल्लो समय युरोपका देशहरूमा समेत संक्रमण पुनःबढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनको साप्ताहिक इपिडिमियोलजिकल विवरण अनुसार कोरोना संक्रमण पुनःविश्वव्यापी रूपमा बढिरहेको देखिन्छ।

गत साता १० प्रतिशतले संक्रमण बढेसँगै कोभिडको ३० लाखभन्दा बढी नयाँ केस रिपोर्ट गरिएको छ । भारतमा पछिल्लो समय ३० प्रतिशतले नयाँ केस थपिएको बताइएको छ। विश्वव्यापीरूपमा संक्रमण बढ्दै गएपछि विश्वका केही देशले पुनःलकडाउन गरेका छन्। नेपालबाट हाल विश्वव्यापी रुपमै अन्तराष्ट्रिय उडानहरू भइरहेका छन्।

पछिल्लो समय नेपालमा अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको छ भने बिहीबार मात्रै यता कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा पुनःयातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। यसले नेपालमा पुनःकोरोनाको जोखिम बढेको विज्ञहरूले बताएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले नेपालमा संक्रमणको जोखिम बढेको बताए। उनका अनुसार गत भदौ, असोज, कार्तिकको भन्दा हाल संक्रमण केही घटे जस्तो देखिए पनि जोखिम बढ्दै गएको बताए। उनले भने ‘अघिल्लो पटक पनि भारतमा संक्रमण बढ्दै गएको केही समयपछी नेपालमा संक्रमण तिब्र बढेको थियो। अहिले हाम्रोमा अलि कम भएको छ। अहिले नै थप कडाइ गरियो भने संक्रमण फैलिँदैन।‘ 

डा बाँस्तोलाले अनुसार अहिले पनि संक्रमणबाट आईसीयूमा​ भर्ना हुने बिरामी खासै नघटेको र पुनःसंक्रमण बढे आईसीयूमा झन् संक्रमित बढ्ने बताए। 

सीमानामै एन्टिजेन्ट परीक्षण गर्ने तयारी

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएकाले सरकारले नाकाहरूमा पुनःहेल्थ डेक्स सक्रिय बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुनःनाकाहरूका हेल्थ डेक्स सक्रिय बनाएको बताएको हो।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले १४ वटा नाकामा हेल्थ डेक्स सक्रिय बनाएको जानकारी दिए। उनले भने ‘भारतमा पुनःसंक्रमण बढेको देखिन्छ। अहिले फेरी उताबाट नेपाल आउने संख्या बढ्दै छ। यस्तो अवस्थामा पुनःसंक्रमण नफैलियोस् भनेर हामीले नाकाहरूमा पुनःहेल्थ डेक्स सक्रिय बनाउन लागेका हौँ।‘

डा पौडेका अनुसार हाल विशेषत सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा, नेपालगञ्जको रुपौडिया, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको सुनौली, वीरगञ्जको रक्सोल, विराटनगरको जोगवनी, झापाको मेची भन्सार लगायतका नाकाबाट आउनेलाई विशेष निगरानीमा राख्न भनिएको बताए। उनका अनुसार अब लक्षण देखिएका र संकास्पदहरूको लागि सिमानामै एन्टिजेन्ट परीक्षण गर्ने तयारी छ। 

भारतमा संक्रमण बढ्दै गएपछि त्यहाँका नेपालीहरू आउनेक्रम बढ्ने हुँदा पुनःसंक्रमण फैलिएको ठाउँबाट आएका र लक्षण देखिएकाहरूलाई सीमानामै एन्टिजेन्ट परीक्षण गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए।

यस्तै भारतबाट आउनेहरूको लागि क्वारेन्टाइन, आइसोलेशनहरूको व्यवस्था गर्नसमेत स्थानीय निकायहरूलाई आग्रह गरिसकिएकोसमेत उनले बताए। अहिले भारतमा पुनःदेखिएको संक्रमण नयाँ भेरिरेन्ट हो होइन भन्ने अझै पुष्टि नभएको र नयाँ भेरिरेन्ट भएको पुष्टि भए थप कडाइ गर्न सिफारिस गरिने समेत डा. पौडेलले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.