|

पर्वत : कोरोना रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रमणको पहिलो लहरमा स्थानीय तहले जसरी काम गरेका थिए त्यही तरिकाको काम दोस्रो लहरमा देखिएको छैन।

सङ्क्रमणको अवस्था सामान्य रहेको पहिलो चरणमा तीव्रताका साथ काम गरेका स्थानीय तहहरू दोस्रो लहरको बेलामा केही अलमलमा परेको जस्तो देखिएको छ। पहिलो चरणमा राहत वितरण, अन्य ठाउँबाट गाउँमा भित्रिएकाहरूको तथ्याङ्क र उनीहरूको निगरानीको काम, आइसोलेसन र क्वारेनटाइनको काममा निकै ध्यान दिइएको पाइएको भए पनि दोस्रो लहरमा भने ती कामहरू हुन सकेका छैनन्।

पहिलो चरणमा सदरमुकाम कुस्मा बजारमा पुलिङ क्वारेनटाइन र पब्लिक आइसोलेसन निर्माण गरेर हरेक पालिकाका सङ्क्रमितहरूलाई एकत्रित रूपमा राखेर उनीहरूको उपचार गरिएको भए पनि दोस्रो लहरमा काम गराइको शैली आ–आफ्नै बनेको छ।

दोस्रो लहर फैलिइरहेको अवस्थामा सङ्क्रमितको सङ्ख्या बढी रहेको तथा सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाले पर्वत अस्पतालसँगको सहकार्यमा संक्रमितहरुको उपचारको लागि आइसोलेसन वार्ड निर्माण गरेको छ।

जहाँ जिल्लाका जुन कुनै स्थानीय तहका सङ्क्रमितहरूलाई पनि राखेर उपचार गर्ने गरिएको छ। नगरपालिकाले कोरोना सङ्क्रमितलाई अस्पताल सम्म पुर्‍याउन सवारीसाधनको निःशुल्क व्यवस्था पनि गरेको छ। १४ वटै वडामा बिरामी ओसारपसारका लागि सवारीसाधनको व्यवस्था गरिएको कुस्मा नगरपालिकाले जनाएको छ।

कोरोना सङ्क्रमण भएमा वा अन्य कुनै स्वास्थ्य समस्या भएमा सवारी नपाउँदा सर्वसाधारणहरुले सास्ती भोग्दै आएका थिए। सङ्क्रमितलाई सकेसम्म एम्बुलेन्स तथा अन्य जिप भ्यानहरूले पनि बोक्नै मान्दैनन्। यो अवस्थाले सङ्क्रमितलाई झनै सास्ती नहोस् भन्नका लागि सबै वडामा निःशुल्क रूपमा बिरामी ओसारपसार गर्न सवारीसाधन परिचालन गरिएको नगर प्रमुख रामचन्द्र जोशीले बताए।

सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जलजला गाउँपालिकाले २० शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार वडा नम्बर ८ फर्सेमा अस्पताल सञ्चालनमा ल्याइएको हो।

मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुंगा सडकको नजिकै अस्पताल छ। २० शय्या क्षमता रहेको अस्पतालमा ६ शय्यामा अक्सिजन जडान गरिएको छ। अन्यमा पनि अक्सिजन व्यवस्थापन गर्न काम भइरहेको छ। अस्पतालमा गाउँपालिकाले नियुक्त गरेका एक जना डक्टर र अन्य स्वास्थ्य चौकीमा कार्यरत अनमी र नर्सहरू चौबिसै घण्टा परिचालन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष मल्लले कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकालाई व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग समेत गरेका छन्। गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने गरी उनले नगदसहित पाँच  थान अक्सिजन सिलिन्डर पनि गाउँपालिकालाई हस्तान्तरण गरेका छन्।

देश कोरोनाका कारण जटिल अवस्थामा रहे पनि सङ्घीय र प्रदेश सरकारले अपेक्षित सहयोग नगरेको मल्लको गुनासो छ। जलजलाले बिरामीहरूलाई उद्धार गरी अस्पतालसम्म लैजान स्वयंसेवकसमेत परिचालन गरेको छ।

बिहादी गाउँपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा गम्भीर तथा सामान्य लक्षण भएका कोरोना सङ्क्रमित उपचार गर्न सुरु भएको छ। गाउँपालिकाले सञ्चालन गरेको ६ बेडको कोरोना अस्पतालमा गम्भीर लक्षण भएका बिरामीलाई भर्ना गरी उपचार गर्न थालिएको हो। गाउँपालिकामा सङ्क्रमित भएका अधिकांश होम आइसोलेसनमा रहेका गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए।

गत वर्ष कुस्मामा रहेको अस्थायी कोरोना अस्पतालमा उपचार गर्नुपर्ने बिरामीलाई अहिले गाउँपालिकाले आफैँ अस्पताल बनाएर उपचार गर्न सुरु गरेको हो। उक्त अस्पतालमा डाक्टर, नर्स तथा अनमीहरु उपचारमा खटाइएको छ। गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा ६ बेडमा अक्सिजनसमेत जडान गरिएको छ। आवश्यक परेमा थप १० शय्या बढाउने गाउँपालिकाले योजना बनाएको छ।

यस्तै, महाशिला गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल निर्माण गरेर संक्रमितहरुको उपचार गरिरहेको छ। व्यवस्थित रूपमा निर्माण गरेको अस्पतालमा आठ वटा अक्सिजन सिलिन्डर जडान गरेर कोरोना नियन्त्रणको प्रयास गरिरहेको छ।

जिल्लाका अन्य स्थानीय तहहरूले पनि सुरुवाती चरणमा आइसोलेसनको वार्डको निर्माण गरेर सङ्क्रमितको उपचारको लागि काम गरिरहेका छन्। ठूलो रकम पहिलो चरणमा नै खर्च भएका कारण दोस्रो चरणमा राहत वितरणको काम सुरु नभएको तर कोही पनि भोको रहने अवस्था आएमा रकमान्तर गरेर भए पनि भोक मेटाउन र सङ्क्रमितको ज्यान बचाउन लागि पर्ने स्थानीय तहका अधिकारीहरू बताउँछन्।

यो समाचार तयार पार्दासम्म पर्वतमा कोरोनाबाट १७ जनाको मृत्यु भइसकेको छ भने ४२० जना संक्रिय संक्रमितहरू छन्। त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या ८९० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.