|

सोलुखुम्बु : गाउँमै कोभिड–१९ अस्पताल सञ्चालनमा आएपछि थुलुङदुधकोशी गाउँपालिकाका सर्वसाधरण हर्षित भएका छन्। गाउँपालिकाको केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको हो।

कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन्। ४५ वर्षीया खत्रीलाई समेत स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार सोही अस्पतालमा भर्ना गरिएको थियो।

नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिनाले उपचारका लागि काठमाडौं जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएपछि खुसी व्यक्त गरिन्। ‘यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो,’ उनले भनिन्, ‘खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामी जस्ता ग्रामीण क्षेत्रका नागरिकका लागि सुखद् पक्ष हो।’

यस्तै, कोभिड–१९ को शंकास्पद लक्षण भएकी बुद्धिमाया माझीको पनि कोभिड अस्पतालमै उपचार भयो। उनले स्थानीय सरकारलाई धन्यवाद दिइन्। सास फेर्न निक्कै गाह्रो भएर उपचारमा आएको उनले बताइन्। टाढा अस्पताल जान नसक्ने अवस्थामा भएपनि गाउँमै सेवा पाउँदा आफ्नो ज्यान बचेको माझीेले सुनाइन्।

स्वास्थ्य शाखा सहसंयोजक तथा गाउँपालिकाका सूचना अधिकारी विशाल बाबु राईले गाउँमा कोरोना संक्रणको दर बढेसँगै गाउँपालिकाले निगरानी बढाएको बताए। शंकास्पद लक्षण देखिएको जानकारी हुनसाथ स्वास्थ्यकर्मी पुगेर परीक्षण गर्ने गरेको उनको भनाइ छ। 

नागरिकको जीवन रक्षा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोहीअनुसार व्यवस्थापनमा केन्द्रित भएको गाउँपालिका अध्यक्ष असीम राईले बताए। अहिले १० जना जटिल प्रकृतिको बिरामीको उपचार गर्न सक्ने क्षमताको अस्पताल सञ्चालमा रहेको भन्दै अध्यक्ष राईले आवश्यकताअनुसार यसलाई बिस्तार गर्ने बताए।

अस्पतालमा एकजना एमबिबिएस डाक्टर, दुईजना स्टाफ नर्स, एकजना ल्याब असिस्टेण्ट, दुईजना अनमी, दुईजना स्वास्थ्य सहायक र एकजना कार्यालय सहयोगी रहेका छन्।

गाउँपालिका अध्यक्षले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ। संक्रमितको उद्धारका लागि अध्यक्षको गाडीसहित दुईवटा एम्बुलेन्स र अर्को एउटा निजी गाडी तयारी अवस्थामा राखेको गाउँपालिका अध्यक्ष असिम राईले बताए।

गाउँपालिकामा हालसम्म १०६ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये चारजना निको भइसकेको स्वास्थ्य सहसंयोजक राईले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.