|

काठमाडौं : वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्‍याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ।

कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजन लगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ। 

यस वर्ष विगत वर्षभन्दा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने विभागको सम्भार महाशाखाका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए।  

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो। जोखिम भएका कुन-कुन ठाउँमा कति उपकरण आवश्यक छन् त्यहीअनुसार हेभी इक्युपमेन्ट कार्यालयहरूमा पत्राचार भइसकेको छ।

विभाग अन्तर्गत सात हेभी इक्युपमेन्ट डिभिजन छन्। अधिकारीले भने,‘डिभिजन वा हेभी इक्युपमेन्ट कार्यालयको समन्वयमा आवश्यक तयारी गरिरहेका छन्।’ 
अहिले कुनै पनि सडक पहिरो वा बाढीकै कारण अवरुद्ध नरहेको विभागले जनाएको छ।

केही दिन पहिले बुटवल–पाल्पा सडक पहिराेकाे कारण अवरुद्ध बनेको थियो।

अहिले डिभिजन सडक कार्यालय पाल्पाले खुलाइसकेको छ। उनले भने,‘सबै ठाउँमा उपकरण तयारी अवस्थामा नै हुन्छ वर्षा कम हुनासाथ सडक खुलाइन्छ।’ देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो।

गत आवमा वर्षाको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक अधिकारीले बताए।

सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ। राजमार्गमा बाह्रबिसे माथितिर अप्ठेरो ‘एलाइनमेन्ट’ रहेको छ। 

उक्त सडकबाट मेडिकल सामान ल्याउनुपर्ने हुँदा पहिराले लामो समय नरोकियोस् भन्नेमा ध्यान दिइएको अधिकारीले बताए। विभागले पहिरो हटाउन आवश्यक उपकरण तयारीमा राखिसकेको छ। बढी बिग्रने सडक खण्डमा  मर्मत भइरहेको उनले बताए।

‘अहिले निषेधाज्ञाले मजदूर नपाएर काम गर्न गाह्रो भएको छ’ उनले भने। 

विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एक तर्फको पहिरो हटाएर पनि सडक पुनः सञ्चालन गर्दै आएको छ। सडकको एक छेउबाट सवारीसाधन आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ। सडक पूरै भासिएर एक तर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ। विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उनले बताए।

डिभिजन सडक कार्यालय दमौलीका प्रमुख अमित कुमार श्रेष्ठले यही जेठ १५ गतेदेखि नै सम्भावित ठाउँमा आवश्यक उपकरण राखिएको बताए। उनका अनुसार पहिरोको जोखिम भएका ठाउँमा स्काभेटर राखिएको छ।

डिभिजनले अहिले भएका उपकरण पर्याप्त नभएको भन्दै विभागसँग थप चार उपकरण माग गरेको छ। केही दिन पहिले बुटवाल–पाल्पा सडक पहिराेका कारण दुई दिनसम्म अवरुद्ध बनेको थियो। उनले भने,‘सडक खुलाउनको लागि हामीलाई थप उपकरण र प्राविधिक जनशक्ति आवश्यक छ।’

गत वर्ष पनि वर्षाका कारण धेरै सडक क्षतिग्रस्त बनेका थिए। निर्माण सम्पन्न भइसकेका भन्दा निर्माणाधीन सडकमा बाढी र पहिराेको बढी समस्या आउने गरेको छ। अरनिको राजमार्ग, कर्णाली राजमार्ग, विपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायत सडक अवरुद्ध बनेका थिए।

अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करीब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको थियो। 

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको थियो। बेनी जोमसोम कोरोला सडकका विभिन्न खण्ड पहिराले पुरिएका थिए भने सो सडकमा माथिबाट आएको पहिराले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो।

साँफेबगर–मार्तडी सडक पनि लामो समयसम्म अवरुद्ध थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.