|

काठमाडौं : कोभिड महामारी सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।

यस्तै समस्यामा परेकाहरुलाई आफैंले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय (सुशील) र लक्ष्मी अधिकारीले गर्दै आएका छन्। काठमाडौंबाट सात किलोमिटरमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र  अचार तयार गरेर उनीहरु  अप्ठ्यारोमा परेकाहरुलाई  खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र  सुकेधारासम्म पुग्छन्।

मासिक सय रुपैयाँमा अध्यापन हुने समता स्कुलका प्रधानाध्यापकसमेत रहेका अजयको यो जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठ्यारोमा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिदिएको छ र थुप्रै विद्यार्थीलाई अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको छ। यस्तो अप्ठ्यारो समयका बेलामा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उनीहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने उनको भनाइ छ।

अजयले भने, ‘किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो।’

‘हामीले दिएको खाना सबैले लिनुहुन्छ तर कसैले पाइसकेर पनि लिनुहुन्छ, कसैले त फलिदिनुहुन्छ, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ । जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै हामी खान दिने गर्छौं,’ लक्ष्मीले भनिन्, ‘धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खानुहुन्छ, त्यो देखेर एकदम खुशी लाग्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.