|

सल्यान : किसानले लगाएका मकै बालीमा गबारो र फेद कटुवा किराको प्रकोप देखिएको छ। गोड्ने बेलाका मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका छन्।

मुख्य बालीको रुपमा रहेको मकैमा किराको प्रकोप देखिन थालेपछि किसानहरु चिन्तित भएका हुन्। दुईपटक गोडिसकेको मकै किराले काटेर सखाप बनाएको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरका दीपेन्द्र रेउलेले बताए। दुईपटक विषादी हाल्दा पनि कम नगरेको उनको भनाइ छ। रातको समयमा मकैको फेदमा आएका किरालाई मार्ने गरे पनि ५÷६ रोपनीमा किरा मार्न सम्भव नभएको रेउलेले बताए।

सिद्ध कुमाख गाउँपालिका–१ मेलबोटका देवी बुढाथोकीले किराले मकै सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रोपटक रोपेको बताए। वडा नम्बर १ का १०० भन्दा बढी किसानले लगाएका मकैमा किराको प्रकोप देखिएको किसानहरुको भनाइ छ। वडाका अधिकांश किसानले रोपेको मकैमा किरोको प्रकोप देखिएको सिद्ध कुमाख गाउँपालिकाका नायब प्राविधिक सहायक चन्द्रबहादुर केसीले बताए। किरा नियन्त्रणका लागि २३ वटा समूहलाई इमोभेटिन नामक विषादी वितरण गरिएको उनले बताए।

सिद्ध कुमाख, कालीमाटी, छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा फेद कटुवा, गबारो किराको प्रकोप देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। फेद कटुवा, गबारो र फौजी किरा पुतली समूहमा पर्ने भएकाले सुरुमै विषादी प्रयोग गर्न सके नियन्त्रणमा आउने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आर्चायले बताए। गबारो र फौजी किरा दिनमा नदेखिने र रातमा काट्ने भएकाले नियन्त्रण गर्न केही रहेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.