|

धनकुटा : धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान संसद राजेन्द्र राईको गृह नगरपालिका भएको पाख्रिवास नगरपालिकामा बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र विपक्षी दलबीच बजेटका विषयमा विवाद हुँदा ४० वटा कुर्सी, दुई वटा टेबल र चार वटा झ्यालमा क्षति पुगेको नगर प्रमुख बिर्खबहादुर राईले बताए। शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा–३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको विपक्षी गठबन्धनले जनाएको छ।

सबै वडाका योजना छलफल नगरी वडाध्यक्षहरुले आफूखुसी योजना छनौट गरेकाले ज्ञापनपत्र बुझाउन जाँदा कार्यपालिका सदस्यबाट अवरोध भएको नेकपा माओवादी केन्द्रका मुक्ति बजगाईले बताए। स्थानीय रवि पौडेलले वडा नम्बर–४ लाई नगरपालिकाले विभेद गरेर आन्दोलन गर्न बाध्य पारेको बताए।

‘हामी शान्तिपूर्ण रुपमा आन्दोलन गर्न जाँदा वडा सदस्यले हातपात गरेपछि आन्दोलनकारी आक्रोशित भएर स्थिति अनियन्त्रित हुँदा तोडफोड भएको हो’ उनले भने। आगामी वर्षको बजेट विनियोजन गर्दा टोलटोलमा छलफल गरेर प्राथमिकताका आधारमा विनियोजन हुनुपर्ने र हातपात गर्ने वडा सदस्यले सार्वजनिक रुपमा माफी नमागेसम्म आन्दोलन जारी रहेन विपक्षी गठबन्धनले जनाएको छ।

पाख्रिवास नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य गरि जम्मा ५२ सिट रहेकोमा तत्कालिन एमालेले सबै सिट जितेको थियो। हाल एमाले दुई समूहमा विभाजन भएपछि वडा नम्बर ४ का वडाध्यक्ष सोभित निरौला नेपाल समूहमा लागेका छन्। निरौलाले आफ्नो वडाध्यक्ष रहेको वडामा जेष्ठ वडा सदस्यको संयोजकत्वमा योजना छनौट गरिएको थाहा पाएपछि विरोधमा उत्रिएको बताए।

स्थानीय तह सञ्चालन ऐनमा वडाध्यक्षको मृत्यु भएको खण्डमा मात्रै जेष्ठ सदस्यले अध्यक्षता गर्न पाउने व्यवस्था रहेकोले फरक विचार राखेकै कारणले आफू मरेको देखाउन खोजेको निरौलाले आरोप लगाए।

उनले गत वर्ष वडामा ४२ लाखको बजेट सिलिङ आएको भएपनि यसपटक अन्य वडामा ४० लाख र आफू अध्यक्ष रहेको वडामा ३० लाख मात्रै बजेटको सिलिङ आएको जानकारी दिए। उनले यो विषयमा निवर्तमान संसद राजेन्द्र राईसँग कुरा गर्दा तिमी अर्को पार्टीमा लागेकोले आफूले १० लाख कटौती गर्न लगाएको जवाफ दिएको उनले बताए। नगर प्रमुख राईले भने बजेटमा कसैलाई विभेद नगरेकाे बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.