|

काठमाडाैं : बाढीपहिरोबाट विस्थापित भएका हेलम्बु गाउँपालिका–१ तिम्बुका स्थानीयलाई राहत वितरण गरिएको छ। स्थानीय युवाले ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा तिम्बुका विस्थापित स्थानीयलाई राहत वितरण गरेका हुन्।​

तेम्बाथाङ्ग एकीकृत नमुना बस्ती विकास केन्द्रका अध्यक्ष शाङ्गे शेर्पाका अनुसार ‘ह्योल्मो सोसाइटी अफ अमेरिका’ को  आर्थिक सहयोगमा चामल, दाल, तेल, नुन, चिनीलगायत खाद्य सामग्री वितरण गरिएको हो।  

त्यस्तै बाढीपहिरोमा आफन्त गुमाएका र विस्थापित भएका परिवारलाई १० हजार र घरविहीन भएका परिवारलाई पाँच हजार रुपैयाँ नगद पनि वितरण गरिएकोे उनले बताए। ​

तिम्बु स्वास्थ्य चौकीलाई पनि औषधिलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए। 

‘अहिले बाढी–पहिरोका कारण हेलम्बु गाउँपालिका गाउँ विपत्तिमा परेको छ। पहिरोले सडक भत्किएपछि खाद्य सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन’, उनले भने,‘वैकल्पिक कच्ची सडक पनि लगातारको वर्षाका कारण सवारी गुड्न मुस्किल छ।’  

वर्षाले ठाउँठाउँमा पहिरो जाने र खाल्डो–हिलो बढी भएकोले वैकल्पिक सडकबाट राहत सामग्री पुर्‍याउन निकै संघर्ष गर्नुपरेको उनले बताए।  

त्यस्तै मृतक तथा विस्थापित परिवारका लागि काठमाडौंस्थित बौद्धका सूर्जे बज्र लामाले पनि एक लाख ५० हजार बराबरको खाद्य तथा नगद सहयोग गरेका छन्। हेलम्बुका बाढी–पहिरोबाट विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण सुरु गरिएको मेलम्ची घ्याङ युवा क्लबका सदस्य पेमाटाँसी शेर्पाले बताए।

‘हेल्मो सोसाइटी अफ अमेरिका’लाई धन्यवाद व्यक्त गर्दै उनले भने, ‘मनकारी दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ। यस्तो विपद्को बेला पीडित परिवारको उद्धारमा ठूलो राहत मिलेको छ।’  

केहीदिन भित्र अन्य गाउँहरुमा पनि राहत सामग्री उपलब्ध गराउने उद्देश्य रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.