गुल्मी : मदन भण्डारी राजमार्ग सडकअन्तर्गतको कल्भर्ट एक वर्षमा बल्ल मर्मत भएको छ। गत असार १ गते थाहाखबर डटकममा ‘एम्बुलेन्स र सेनाको ट्रक बाढी तर्न सकेनन्’ भन्ने शीर्षकको समाचार प्रकाशन भएपश्चात् कल्भर्ट मर्मतमा चासो दिइएको हो।
असार १ गते राति खोलामा बाढी आएका कारण संक्रमित बोकेको एम्बुलेन्स खोला तर्न सकेको थिएन भने नेपाली सेनाको ट्रकसमेत खोला तर्न नसकी सदरमुकाम तम्घास फिर्ता आएको थियो। उनै संक्रमित दम्पतीमध्ये श्रीमानको उपचारकै क्रममा शुक्रबार निधन भएको छ।
इश्मा गाउँपालिका-१ हस्तिचौर झरनाको गुर्वा खोलामा गत वर्षको असार १९ गते स्थानीयहरुले घर र बस्ती जोखिममा रहेको भन्दै डोजर लगाई तोडफोड गरेका थिए।
स्थानीयहरुले घर जग्गा डुबानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरिए पनि त्यसको नियामक निकायले भने अहिलेसम्म निर्माण वा मर्मतमा केही चासो नदेखाइ बसेको थियो।
कैयौं पटक त्यस क्षेत्र भएर ओहोरदोहोर गर्ने प्रहरी प्रशासनले पनि आँखा चिम्लेर बस्यो,त्यहीको इश्मा गाउँपालिकाले पनि कुनै चासो देखाएको थिएन। न त कल्भर्ट तोडफोड गर्नेलाई कारवाही भएको थियो न त कल्भर्ट निर्माण नै।
![]() | डोजरले कल्भर्ट भत्काउनेलाई कारबाही पनि भएन, कल्भर्ट पनि बनाइएन |
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका योजना प्रमुख शशांक मिश्राले तत्कालका लागि सो कल्भर्टमा ह्युम पाइप राखी संचालनमा ल्याएको बताए।
तत्कालीन तम्घास सिमलटारी कार्यालयलबाट छल्दी खोलादेखि १४ किलोमिटर सडक पिचका लागि टेण्डर भएको थियो। कुल १६ करोड ५८ लाख ८० रुपैयाँमा सो १४ किलोमिटर सडक पिच भएको थियो। सो सडकको निर्माण एसबिए, प्यासिफिक, सुनिल समिर जेभीले २०७६ पुस १६ गते निर्माण सम्पन्न गरेको थियो।
सोही सडकअन्तर्गतको कल्भर्ट करिब आठ लाख ६२ हजार ८० रुपैयाँमा निर्माण भएको योजना कार्यालय तम्घासका सब इन्जिनियर बिवस बास्तोलाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।