नेम्वाङ भन्छन् : मिल्नुको विकल्प छैन

|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने ओली पक्षको प्रयास विफल भएको छ। नेता नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि सहमतिको प्रयास बिथोलिएको हो।

एमालेले देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबारसम्म फिर्ता लिन निर्देशन दिएको छ। सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नलिए एकताको सम्भावना सकिने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीपछि दोस्रो तहका नेताहरू सक्रिय भएका छन्। नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेताहरूले अध्यक्ष ओलीसँग संवाद अघि बढाएर एकताको बिन्दु पहिल्याउन आग्रह गरेको सहभागी नेता सुवास नेम्वाङले जानकारी दिए।

​नेम्वाङले भने, 'हामीले पार्टी एकताको अरू कुनै विकल्प छैन। त्यसैले तपाईंहरूले भेटेर कुरा गर्नुस् भनेका छौँ। तर, उहाँले आफू निकटका नेताहरूसँग छलफल गरेर जवाफ फर्काउछु भन्नुभएको छ।'

पार्टी एकताको लागि नेता नेपाल पनि सकारात्मक भएको पाइएको उनको भनाइ छ। नेपाल निवास कोटेश्वरमा नेम्वाङसहित उपप्रधानमन्त्री विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए। संस्थापन पक्षसँगको भेटका लागि नेता नेपाल समूहका घनश्याम भुसालले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए।

नेता नेपालले हिजो देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरूसँग छलफल गरेका थिए। सर्वोच्च अदालतमा विचाराधीन विषयमा संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूले दिएको हस्ताक्षर फिर्ता नलिन एकमत भएका थिए। त्यसो त शनिबारको केन्द्रीय कमिटीको बैठकअघि पनि नेता भुसालको फोनबाट अध्यक्ष ओलीसँग संवाद गरेका थिए।

संवादमा नेता नेपाल ओलीले बोलाएका केन्द्रीय कमिटीको बैठकलाई रोकेर सहमति बिन्दु पहिल्याएर बैठक राख्‍न प्रस्ताव गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.