|

यतिबेला अफगानिस्तानको चर्चा विश्वभर छ। एकातिर अमेरिकी सेना फिर्ता र तालिबानको बढ्दो हिंसा!

यति बेला त्यहाँका नागरिकमा थप डर पैदा भएको छ। अझ भनौँ-अफगानिस्तानमा बसेर विदेशी निकायमा काम गर्ने व्यक्तिहरूप्रति तालिबान थप क्रुर बनेको छ।

पत्रकार हबीब (नाम परिवर्तन गरिएको) विगत आठ वर्षदेखि अफगानिस्तानमा जर्मन सेना सहयोगको मिडिया आउटलेटमा कार्यरत थिए। गत महिना जुनमा उनले अफगानिस्तानबाट अन्तर्राष्ट्रिय सेना फर्कंदै गर्दा उनको जागिर गुम्यो।

तीन बच्चाका बुबा हबीबले बीबीसीलाई भनेका छन्, 'यदी तालिबानले मेरो शहर कब्जा गरेमा उनीहरूले मलाई मार्नेछन्।'

तालिबान उत्तरी अफगानिस्तानको हबीबको शहरतर्फ द्रुत गतिमा अघि बढिरहेको छ। अहिले शहरका सडकहरू सुनसान छन्। स्थानीयहरू भन्छन्, 'यहाँ प्राय: भीड रहने सडक खाली भएका छन्। यो शून्यता ठूलो संकटको सूचक हो।'

'मेरो प्रान्तका आधाभन्दा बढी जिल्लाहरू पहिलेदेखि नै तालिबानीको नियन्त्रणमा छ। केही दिनअघि तिनीहरू हाम्रो शहरतर्फ १०-१२ किलोमिटर यतासम्म आइपुगेका थिए। तर, अन्तत: उनी पछि हटे', हबिबले भने।

अफगानिस्तान दुई दशकदेखि युद्धमा फसिरहेको छ। बढ्दो संघर्षलाई नजिकबाट हेरिरहेका जनतालाई ठूलो संकट निम्तिने डर पनि छ।

यही डरबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्टको अन्त्यसम्म सबै अमेरिकी सेना पूर्णरुपले अफगानिस्तान छोड्ने बताइसकेका छन्।

उनीहरूको बुझाई छ, 'अमेरिकी सेनाले केही स्थिरता ल्याउन मद्दत गरेका थिए।' तर, अफगान सेनाले स्थिरताको लागि पहल गर्नसक्छ भन्ने शंका उनीहरूमा छ।

जसले गर्दा अफगानी जनता देश छोड्ने पासपोर्ट प्राप्त गर्न हतारिइरहेका छन्। ९० को दशकको अन्ततिर आफ्नो संक्षिप्त शासनकालमा तालिबानले आफू इतरका मानिसहरूको संहार नै गरेको थियो। साथै, महिलालाई शिक्षा र रोजगारमा पूर्णतया: प्रतिबन्ध लगाएको थियो।

यद्यपी; अहिले तालिबानले आफ्नो नीति परिवर्तन भएको बताएको छ। उनीहरूले हिंसाको बाटो त्यागेको बताएपनि पछिल्ला गतिविधिले पुष्टि गर्दैन।

तालिबानले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'विदेशी सेनाका लागि काम गर्ने हबीबजस्ता व्यक्तिलाई कुनै कारबाही गरिने छैन।'

तर, यसमा तालिबानले एउटा शर्त राखेका छन्। हबिबहरूले आफ्नो कामको लागि पश्चाताप गर्नुपर्नेछ। भविष्यमा उनीहरूले त्यस्तो कुनै पनि गतिविधिमा संलग्न हुनबाट अलग हुनुपर्नेछ। तालिबानको बुझाइ छ, 'विदेशीसँग काम गर्नु भनेको इस्लाम र अफगानिस्तानविरूद्ध देशद्रोह हो।'

तालिबानको तथाकथित नरमपनाप्रति हबीब शंका व्यक्त गर्छन्। सरकारलाई समर्थन गर्नेहरूमाथि बदला लिने आक्रमणको कागजात तालिबानीले तयार गरिरहेको उनी बताउँछन्‌।

जसले गर्दा हबीबजस्ता धेरै व्यक्तिहरू अफगानिस्तानबाट भाग्ने उपायहरू खोजिरहेका छन्। चाहे त्यो कानूनी होस् वा गैह्रकानूनी।

हबिब जर्मन जान चाहन्छन्। जर्मनी सरकारले 'जीवन बचाउने सन्देश' पठाउला भनी उनी पर्खिरहेका छन्। भन्छन्, 'हामी आशा र निराशाबीच बाँचिरहेका छौँ। म इमेल कुर्दैछु। जसमा लेखिएको होस्-'तपाईं जर्मनी आउन सक्नुहुनेछ।'

पूर्वी अफगानिस्तानका एक चिकित्सकले बीबीसीलाई भनेका छन्, 'म बेलायत जान प्रवेशाज्ञा (भिसा) लिन खोज्दैछु। यदी पाइनँ भने म गैरकानूनी रूपमा यूरोपतर्फ जान्छु।'

ती डाक्टरले आफूले काम गरिरहेका क्षेत्रमा सरकारविरोधी सशस्त्र समूहहरूबाट खतराका निकै संकेत पाइसकेका छन्‌। सरकारले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ भन्ने कुरामा ती डाक्टर निश्चित छैनन्।

सात बच्चाका पिता ती डाक्टर आफ्नो सामान बेच्न चाहन्छन्‌ र जतिसक्दो चाँडो देश छाड्न चाहन्छन्। उनको शहर अझै अफगान सेनाको नियन्त्रणमा छ। तर, तालिबान धेरै टाढा छैन। रातभर विस्फोट र बन्दुकको आवाज सुनिने गरेको उनी बताउँछन्।

यसैबीच अफगानिस्तानमा घर, जमिन र भौतिक सम्पत्तिको मूल्य द्रुत गतिमा ओरालो लागिरहेको छ। ती डाक्टर भन्छन्, 'कोही पनि कार वा घर किन्न चाहँदैनन्।हरेक व्यक्ति यहाँबाट भाग्न चाहन्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.