सबै ठाउँमा पुग्यो खोप तर स्थानीय तहरूले लगाउन सुरु गरेनन्

|

काठमाडौं : असोजको दोस्रो हप्तादेखि नेपालमा कोरोनाको तेस्रो लहर सुरु हुने पक्षेपण सरकार आफैंले गरेको छ।

पछिल्लो दिनहरूमा संक्रमण दरको ग्राफ पनि उकालो लाग्दै गएको अवस्था छ। यस्तो बेलामा संक्रमणको चक्र तोड्न एक विकल्प खोप हो। खोप अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न सके मात्र कोरोनाको नयाँ लहरबाट बच्न सकिने विज्ञहरूले बताएका छन्। 

तर पछिल्लो दिन खोप आपूर्ति राम्रो भए पनि अभियान सही ढंगले सन्चालन भएको छैन। हाल देशका विभिन्न स्थानमा रहेका भण्डारण कक्षमा ३९ लाख ३५ हजार बढी खोप छन्। यसरी खोप आएर भण्डारण कक्षमा थन्किएर बस्दा पनि खोप अभियानले गति लिन सकेको छैन।

एकातिर खोप खोज्दै जनता भौंतारिरहेको अवस्था छ। अर्कोतिर भण्डारण भएका खोप प्रयोगमा नआउँदा हुँदा म्याद सकिने सरोकारवालाको चिन्ता छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउन सके दैनिक दैनिक डेढ लाख जनालाई लगाउन सक्ने क्षमता रहेको बताएको थियो।

तर हाल खोप आएर थन्किँदा पनि खोप अभियान सन्चालन हुन सकेको छैन। मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीका अनुसार खोपहरू प्रदेशहरूमा पुगिसकेको भए पनि खोप लगाउन मुख्य भूमिका हुने स्थानीय तहहरूले खोप लगाउने मिति घोषणा नगर्दा सबै ठाउँमा प्रभावकारी तरिकाले खोप अभियान सुरु हुन नसकेको बताउँछन्। ‘खोप सबै ठाउँमा पुगेको छ, तर स्थानीय तहरूले खोप लगाउन सुरु गरेका छैनन्।‘

मन्त्रालयका अनुसार अक्टोबरबाट जोन्सन खोपको म्याद सकिँदै छ । हालसम्म जोन्सनको ३ लाख ३३ हजार ९९१ जनाले मात्रै खोप पाएका छन्। प्रदेश १, कर्णाली र सुदुरपश्चिम प्रदेशमा अझै जोन्सन लगाउन सुरु नै भएको छैन। प्रदेश २ मा ५० हजार १३७, बाग्मती प्रदेशमा २ लाख ७ हजार ६८, गण्डकीमा ७३ हजार ९८१ र लुम्बिनीमा २ हजार ८ सय ५ जनाले मात्रै जोन्सनको खोप पाएका छन्।

संक्रमण दर उकालो लाग्दै जादा अब उपलब्ध भएको खोप सबै ठाउँमा लगाउन ढिला गर्न नहुने हुँदा खोप पुगेको ठाउँमा खोप केन्द्रहरू विस्तार गरेर अभियान सन्चालन गर्नुपर्ने मन्त्रालयले बताइरहेको छ। 

तर स्थानीय तहरूलेनै खोप अभियान प्रभावकारी तरिकाले लैजान नसकेका मन्त्रालयका एक उच्च अधिकारीले बताए। ‘उपत्यकाकै हकमा पनि काठमाडौं जिल्लामा खोप अभियान प्रभावकारी भएको छ तर ललितपुरमा छैन, यो सब स्थानीय तहले राम्रोसँग समन्वय गर्न नसका कारण हो, यस्तो धेरै ठाउँमा भएको छ।'

यस्तै भण्डारण कक्षबाट खोप केन्द्रसम्म लैजान धेरै स्थानीय तहलाई तापक्रम व्यवस्थापन गर्न गाह्रो भएको हुँदा पनि अभियान प्रभावकारी हुन नसकेको उनले बताए।

अझै खोप आउँदै छ

सरकारले चीनबाट अनुदानमा भेरोसेलको १६ लाख मात्रा र खरिद गरेर ६० लाख डोज खोप आगामी भदौ मसान्तसम्म ल्याउने भएको छ। भारतबाट खरिद गरिएको कोभिसिल्ड खोपको १० लाख मात्रा पनि भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ। 

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट अष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ। 

परिवार कल्याण महाशाखाका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याउने तयारी छ।

सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ।

खोप ल्याएर असोज मसान्तभित्रमा लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई लगाउने सरकारको लक्ष्य छ।

चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्ध खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।

अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.