|
तस्वीरहरू : शिव परियारको फेसबुक पेजबाट।

पर्वत : कुनै बेला यस्तो थियो, जतिबेला नेपाली सुगम संगीत थलिएको थियो।

लोक तथा दोहोरी गीत, हिप-हप र पपजस्ता गीतहरूले बजारमा राम्रो चर्चा पाउँथे। सुगम संगीतमा एउटै शैलीका गीतहरू थिए। बजार स्थिर थियो।

वि.सं.२०५९ सालमा रेडियो नेपालले आधुनिक गायनतर्फ प्रतिष्पर्धा गरायो। जसमा देखा परे सर्लाहीको बरहथवा नगरपालिका-२, हजरीयाका शिव परियार।

शिवको स्वरमा दम थियो। तर, त्यो स्वर देहातभन्दा बाहिर निस्किन सकिरहेको थिएन। जसको लागि अवसर आवश्यक थियो। शिव अवसरको खोजीमा थिए।

उपयुक्त अवसर अभावमा गाउँमा थन्किएको आवाजले रेडियो नेपालबाट सांगीतिक स्टेज पायो। ‘जति बिर्स्यो तिम्रो याद आउन खोज्छ किन होला’ बोलको गीत २०६० वैशाख ४ गते बिहीबार रेडियो नेपालमा लाइभ रेकर्ड गराएपछि त्यही साँझबाट उनको गीत प्रसारण शुरू भयो।

२०६२ सालमा मोक्ष नामक पहिलो सांगीतिक सङ्ग्रहमार्फत शिवले नेपाली सांगीतिक जगतमा पदार्पण गरे। गायक शिवको स्वर, किरण घिमिरे माइकलको रचना र रामचन्द्र काफ्लेको संगीत रहेको त्यही सङ्ग्रहमा रहेको ‘फेवातालमा साइँली’ गीतले व्यावसायिक सफलता पाएयता सांगीतिक दुनियाँमा शिवको नाम चम्किइरहेछ।

सुगम संगीतमा पाइला चालेका परियारले संगीत अध्ययन र साधनालाई निरन्तरता दिए। ‘धेरै चोटि मरेँ म त’, ‘कहाँ थियौ तिमी रङ्गमञ्च उठेपछि आयौ’, ‘अलिकति नजर तिम्रो’, ‘संगी डुब्दै छु तिम्रो यादमा’ जस्ता हाइपीच र सेमी क्लासिकल गीतहरूको संगीत र गायनबाट शिवले नेपाली सुगम संगीतमा नयाँ तरंग निकाले। यी गीतले नै सुगम संगीतमा गायनको नयाँ शैली स्थापना भयो। स्टेजमा चाहिने डान्सिङ नम्बरदेखि पप विधाका श्रोतालाई पनि तान्न सक्ने शैलीका गीतहरू बनाउन शिव सदैव लागिपरे।

पूर्वीय शास्त्रीय संगीत गायनमा मेहनत गरेका उनले गुरु चन्दनकुमार श्रेष्ठसँग गान्धर्व संगीत प्रशिक्षण केन्द्रमा संगीतको अध्ययन र साधना गरे। आठ वर्षसम्म लगातारको साधनापछि पनि सांगीतिक अध्ययन गुरुकै समीपमा रहेर निरन्तर चलिरहेको उनी बताउँछन्।

परियारको आगमनअघि दर्शक श्रोताको जिब्रोमा झुन्डिने प्रधान शबदहरू नै आधुनिक गीतहरू नेपाली संगीतमा स्थापित थिए। तर, परियारले भने सेमी क्लासिकल र हाइपीच शैलीमा आधारित भएर बनाएका गीतले उनलाई त माथि उठायो नै, सुगम संगीतको गायकीमा नयाँ बहार आयो।

पिलायो साथीले, आँसुको अर्थ, पाकेर खाको फल मीठो, सङ्गी, क्या दामी भो लगायतका गीतहरू धेरै श्रोताको रोजाइमा परे। आफूभित्र भएको नयाँ शैलीको कलालाई संगीतमा प्रयोग गर्दा त्यसले सफलता पाएको शिव बताउँछन्।

‘म यो क्षेत्रमा आउँदा गायनका हिसाबले केही कठिन र पहिले प्रयोगमा नरहेको स्वरको हाइरेञ्‍जलाई ट्रायलका रूपमा प्रयोग गरेँ,’ उनले भने, ‘धेरै चोटि मरेँ म त, कहाँ थियौ तिमी, रंगमञ्च उठेपछि आयौ, अलिकति नजर तिम्रो, संगी यी चार गीतले नेपाली आधुनिक संगीतको युग नै बदलियो। हाइपीचको नयाँ शैली शुरू भयो। अहिले पनि यही प्रयोग भइरहेको छ।’

आफ्नो पुस्ताका कलाकारहरूले संघर्ष गरिरहँदा दिग्गज कलाकारहरूले यो क्षेत्र धानिरहेको र सो पुस्ता पछाडि आएका कलाकारहरुले भने गीतहरू क्याची बनाउनुपर्छ, सरल बनाउनुपर्छ मान्छेको मुखमा झुन्डिनुपर्छ भन्नेमा बढी ध्यान दिएको उनी बताउँछन्‌।

नारायण गोपाल, भजन शिरोमणि भक्तराज आचार्य, नातिकाजी, शिव शंकर, तारादेवी, अरुणा लामा, अरुण थापा, फत्तेमान राजभण्डारी, बच्चु कैलाश, गोपाल योञ्जनदेखि पछिल्ला दीप श्रेष्ठ लगायतका गीतहरूमा कठिन गायकी रहेको भएपनि त्यसपछि भने सहज गीतहरू बनेको उनको अनुभव छ।

आफूले गायनका हिसाबले केही कठिन र पहिलो प्रयोगमा नरहेको स्वरको रेञ्‍जलाई प्रयोगका रूपमा ल्याएको उनले बताए।

पछिल्लोपटक शिवले रामकान्त न्यौपानेको प्रस्तुतीमा सुवास कार्कीको शब्द/संगीत रहेको ‘धोकेबाज’ गीतमा स्वर भरेका छन्। केही साताअघि रिलिज भएको यो गीत एक सातासम्म युट्युबको संगीत ट्रेन्डिङ एकमा कायम भयो।

धोकेबाज सुनेकाहरूले शिवबाट यस्तै खालको गीतको आशा गरिएको हो भन्ने प्रतिक्रिया दिएको उनको भनाइ छ। आफ्नो ११ सांगीतिक सङ्ग्रह ‘शिवालय’ बजारमा ल्याउन अन्तिम तयारी सकेका उनले हालसम्म करिब ५०० गीत गाइसकेका छन्।

स्कूलबाटै गायक, अन्तरराष्ट्रिय अवार्ड विजेता 

२०५१ सालमा उनी गाउँकै सरस्वती माविमा कक्षा ७ मा अध्ययनरत थिए। जिल्लास्तरीय बालगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरे। स्थानीय रूपमा संगठित सांगीतिक कार्यक्रमहरूमा बाल गीतहरू गाउन अवसर पाए।

२०५३ सालमा पनि जिल्लास्तरीय गायन प्रतियोगितामा प्रथम भए। त्यसपछि भने शिवलाई सांगीतिक नशा चढ्दै जान थाल्यो।

उनले ‘नेसनल यूथ ट्यालेन्ट अवार्ड, ‘नारायण गोपाल युवा संगीत अवार्ड’, ‘बेस्ट भोकल अवार्ड’, ‘बेस्ट प्ले ब्याक सिंगर अवार्ड’ लगायत दर्जनबढी अवार्डहरू पाएका छन्।

अमेरिका, अस्ट्रेलिया, युके, इजरायल, जर्मनी, बेल्जियम, पोल्यान्ड, नर्वे, फ्रान्स, बहराइन, डेनमार्क, नेदल्याण्डस, स्पेन, पोर्चुगल लगायतका दर्जनौँ देशमा आफ्ना सांगीतिक प्रस्तुति दिइसकेका छन्।

शिवले ‘ह्यामलेट मानजुएटा अवार्ड इन द आर्ट्स’ अन्तरराष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड अमेरिकास्थित न्यू जर्सीको सिटी काउन्सिलले प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.