|

काठमाडौं : कलेजमा पढ्ने विद्यार्थी र पढाउने शिक्षिकाबीचको सम्बन्ध नयाँ मोडमा पुग्छ र प्रेमी प्रेमिकाको रूप लिन्छ। उनीहरूको सम्बन्ध कक्षाकोठा हुँदै खुला चौरमा पुग्छ। एक कान, दुई कान हुँदै मैदान बनिदिन्छ।

सम्बन्ध त्यतिमा सीमित हुँदैन। अन्तत: 'बेड'सम्म पुग्छ। एउटा प्रेमिल जोडीको सम्बन्धमा तब दरार आउँछ, जब उनीहरूले बेडमा बिताएका पल कुनै अर्को व्यक्तिले आफ्नो मोबाइलले खिचिदिन्छ। त्यो भिडियो भोलिपल्ट कलेजभरिका विद्यार्थीसम्म पुग्छ। प्रशासनमा पुग्छ। विद्यार्थीसँगको सम्बन्धलाई लिएर शिक्षिकालाई कलेजबाट निष्काशन गरिन्छ।

प्रेमिकालाई लाग्छ, 'उक्त भिडियो छरपष्ट प्रेमीले गरेका हुन्।' उनलाई आफूमाथि विश्वासघात गरेको महसुस हुन्छ। त्यसपछि सम्बन्धको लय बिग्रन्छ।  सम्बन्धको जगमा अविश्वासकव लहर चल्छ,दुर्घटना हुने सम्भावना स्वत हुन्छ।  छिन्नभिन्न भएको सम्बन्धमा एउटा प्वाइन्ट आइदिन्छ। जहाँ उक्त भिडियो खिच्ने व्यक्ति प्रेमी नभएर अर्को व्यक्ति पत्ता लाग्छ। तर, त्यतिबेला अबेर भइसक्छ। किनभने प्रेमीको मृत्यु भइसकेको हुन्छ।

कति साह्रो अभागी रैछु नि
तिमी हाँस रुनै त मै छु नि
चिना हेर्ने ज्योतिषीले भनेको
एक अर्कालाई होइन रे बनेको

वि.सं. २०७७ सालमा चर्चित बनेको गीतको कथा हो यो। उक्त गीतमा रोशन सिंह र प्रविशा अधिकारीको आवाज दिएका छन्।

यो लेख तयार पार्दासम्म उक्त गीत ९३ लाख १५ हजार ४४ पटक हेरिएको छ। ६७ हजारले उक्त गीतलाई लाइक हानेका छन् भने तीन हजार 'डिस्लाइक' भेटेको छ। २ हजार ७३२ कमेन्ट पाएको गीतमा अधिकांश श्रोताले उक्त गीतलाई मन पराएका छन्।

कमेन्टमा गीतको शब्द, संगीत, स्वर र अभिनयको तारिफ गरिएको छ। गीतको सिर्जना र संगीत स्वयं सिंहको हो। उनी भन्छन्, 'यो गीत निर्माण गरेर भिडियोको काम सकिँदासम्म दर्शकले रुचाउँछन् भन्ने लागेको थिएन। तर, गीतलाई लिएर दर्शकले दिएको तारिफ लोभलाग्दो छ।'

आँशु दिने मान्छेलाई बिन्ती छ
मेरा लागि त्यही आँशु किम्ती छ
ए झरी!
मुटुभित्र बसेको मान्छेलाई बिर्सुं कसरी?

सिंहले यो गीत २०७७ को साउनको झरीमा लेखेका हुन्। त्यसबेला उनी काठमाडौंकोसामाखुशी क्षेत्रमा बस्थे। उनले गीत निर्माणको त्यसबेलाको 'सिनारियो' सम्झिन्छन्।

'गीतको स्थायी बनेपछि त्यो साँझ म रूझ्दै म्हेपी मन्दिर पुगेँ‚’ उनी सुनाउँछन्‚ ‘बिहान ३ बजेसम्म मैले गीतलाई कुन कुन विषय जोड्ने भन्ने निर्क्यौल गरेँ। त्यही मन्दिरमा पहिलो अन्तरा बनाएँ।'

फुल्छ फूल ओइलिएर झर्छ
तिमीलाई भुल्न मै मर्न पर्छ
रुन्छ मन वर्षिन्छ आँशु भेल
तिम्रै कमी हुनेछ बाँचुञ्जेल

हरेक व्यक्तिको अतीत हुन्छन्। अतीतको पानामा प्रेम पनि त हुन्छ। प्रेमको सागरमा पौडिँदा उनीहरूले कयौं सपना देखेका हुन्छन्। रुमानी प्रेममा आफ्ना प्रेमी वा प्रेमिकालाई कहिले जूनसँग तुलना गर्छन्। कहिले फूललाई समेत मात खुवाउँछन् जोडीहरूले। तर, सबै प्रेमी वा प्रेमिकाले सँगै जिन्दगी बिताउने अवसर पाउँदैनन्। एक हुने अवसर नपाउँदैमा प्रेम सकिँदैन। प्रेमका बाछिटाले यादका असरहरू छोडेर जान्छन्। प्रेमका असफल प्रेमी प्रेमिका तिनै यादको सँगालोलाई  आफ्नो जीवनको एक हिस्सा मान्छन् र जिन्दगी बिताइदिन्छन्। तिनै कथालाई गीतमार्फत प्रस्तुत गरेका सिंह भन्छन, 'मेरो पनि अतीत थियो। मेरो अन्तर्मनमा रहेको त्यो अतीतले नै यो गीत लेख्न बाध्य बनाएको हो।'

गीतमा सिंह, आइश्मा चौधरी र दिनेश कठायतले अभिनय गरेका छन्। त्रिभुवन विश्वविद्यालय लगायत उपत्यकाका विभिन्न स्थानको दृश्य छन्। उक्त भिडियोका लागि १७ ट्यांकर पानीको प्रयोग गरिएको थियो। सिंह भन्छन्, 'भिडियोले साँझको कथा माग्यो। हामीले साँझ ४ बजेदेखि बिहान ३ बजेसम्म लगातार पानीको सुट गरेका थियौं।'

थाहा छ त्यो घाम र जूनलाई
मैले माया ला..होइन रूनलाई
मुटुमा चोट आँखामा पानी छ
बिर्सिनेलाई सम्झिने बानी छ

इगोले बनेका गायक

वि.सं. २०७२/७३ मा रुकुमबाट वैदेशिक रोजगारीमा जान काठमाडौं आएका सिंह संगीतको क्षेत्रमा लागे। विदेश जानुअघि उनी एक गीत रेकर्ड गराउन चाहन्थे। भिषा अवधि सकिनु अघिसम्म उनी आफ्नो गीत गाइदिन धेरै गायकहरूको दैलोमा पुगे। तर, पनि कसैले आफ्नो गीत नगाएपछि  आफैं गायक बनेर गीत रेकर्ड गरेको उनी सुनाउँछन्।

'म संगीत सिकेर आएको मान्छे थिइनँ। मेरो रहर एक गीत रेकर्ड गर्नु थियो। कसैले नगाएपछि इगोहर्ट भयो। आफै गायक बनेँ', उनले भने।

त्यो गीत रेकर्डपछि उनमा संगीतको भूत चढ्यो। लगातार गीतहरू सिर्जना गरे। उनले 'ओइ ज्योति' तरकारी वाली भन्ने गीतहरू निकाले। ती गीतहरूले उनलाई गालीको वर्षा गरायो।

उनी भन्छन्, 'ती गीतहरूप्रति मेरो सम्मान छ। तर, यी गीतमा मैले धेरै नै गाली भेटेको छु।' आफूले गरेका कामले आफ्नो भविष्य राम्रो होला भन्ने आफूलाई नलागेको उनी सुनाउँछन्। त्यसपछि उनलाई यो क्षेत्र आफ्ना लागि बनेको होइन जस्तो लाग्यो। दुई वर्ष विश्राम लिए। गीतको भोक छँदै थियो,  त्यसपछि  फरक तरिकाले गीत सिर्जना गरे उनले।

गीतले दिएको पहिचान

पछिल्लो समय उनले निकालेका धेरै गीतहरू दर्शकको रोजाइमा छन्। भूपू माया- १, २, ३, पिपल छेउमा वर, किन मरिन म, सिन्दुरलगायतका दर्जनौं गीत चर्चामा छन्। तर, उनी आफूलाई गायक वा सर्जक भन्न रुचाउँदैनन्।

'म त संगीतको सामान्य विद्यार्थी हुँ। कुनै बेला इगोको कारण गीत गाएँ। सधैँ त्यही इगो साधेर पनि त भएन नि', उनी भन्छन्, 'म अझै पनि भन्छु मैले संगीतको अध्ययन गरेको छैन। मैले संगीत पढेर आएको होइन। परेर आएको हुँ।'

आफूले सिर्जना गरेका गीतले दर्शकले मन पराइरहेको उनले बताए। 'सर्जकलाई गाली र ताली स्वभाविक हो। मैले विगतमा खाएको गालीले नै मलाई पाठ सिकाएको हो। सिक्न पनि त गल्ती त गर्न सक्न पर्‍यो नि', उनी मुस्कुराउँछन्।

गीतसंगीत क्षेत्रले आफूलाई बाँच्न सिकाएको उनले सुनाए। 'संगीत क्षेत्रलाई मैले के दिएँ भन्ने कुरा म भन्न सक्दिनँ। तर, संगीत क्षेत्रले मलाई पहिचान दिएको छ', उनी संगीत क्षेत्रप्रति कृतज्ञता प्रकट गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.