काठमाडौं : दशैँलाई मासुको परिकार खाने पर्वको रूपमा पनि लिइन्छ। जसले गर्दा सबैको घरमा विभिन्न खालका मासुको परिकार बनाएर खाइन्छ। तर कस्ता रोगमा बिरामीले कति मासु खाने भन्ने हेक्का नराख्दा दशैँलगत्तै धेरै मानिस अस्पताल आउने गरेको चिकित्सकहरू बताउँछन्। त्यसैले आफूमा भएको रोगअनुसार मासु खाँदा ध्यान दिनुपर्ने हुन्छ।
कस्ता बिरामीले मासु कम खाने
बाथका बिरामी
बाथका बिरामीले पनि दशैँमा मासु खाँदा विशेष ध्यान दिनुपर्छ। मासुमा प्रोटिन धेरै हुने भएकाले धेरै मासु खाँदा युरिक एसिड बढेर बाथरोग लाग्ने सम्भावना अत्यधिक हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ। अझै रातो मासु नखाएकै राम्रो हुने चिकित्सक बताउँछन्।
कलेजोका बिरामी
दशैँमा मासुसहित मदिराजन्य पेय पदार्थ धेरै खाने हुँदा यसले कलेजोलाई पनि समस्या गर्छ। जसले गर्दा पहिलेदेखि नै कलेजोका बिरामी रहेकाले सकेसम्म मासु कम खानु राम्रो हुन्छ। अझै बोसो भएको र रातो मासु नखाएको राम्रो हुन्छ। मानिसको रगतमा रहेको अल्कोहलको मात्रा जति बढ्दै जान्छ यसले दिमाग र स्नायु प्रणालीलाई त्यति नै नकारात्मक प्रभाव पनि पार्दै जान्छ। रक्सी पचाउने काम कलेजोको हो। कलेजोमा रक्सी जम्मा हुँदै टुक्रिँदै जल्दै जान्छ, यसक्रममा प्रशस्त ऊर्जा उत्पन्न हुन्छ। त्यो ऊर्जा खर्च नभएमा बोसोमा परिवर्तन भई कलेजो, रक्तनली र मुटुमा जम्मा हुन पुग्छ।
मधुमेहका बिरामी
दशैँमा खानपानमा सबैभन्दा धेरै ध्यान पुर्याउनुपर्ने मधुमेहका बिरामीले पनि हो। सकेसम्म गुलियो चिज, धेरै मसलादार खानेकुरा मधुमेहका बिरामीले खानु हुँदैन। अझै गुलियाे पेय पदार्थ नखाएको राम्रो। यस्ता खानेकुराको साटो हरिया सागपात, सलाद र फलफूल खाने गर्दा राम्रो हुन्छ।
मिर्गौला रोगी
दशैँको समयमा नेपालीले हरेक पटकको खानेकुरा तथा खाजाको समयमा मासु छुटाउँदैनन्। दशैँमा मासुका परिकारसँगै मसलादार र अधिक चिल्लोपना भएका खानेकुरा बढी खाइन्छ।
मिर्गौला धेरै रक्सीका कारण असन्तुलित हुन पुग्छ। बियरले हाम्रो शरीरको मेटाबोलिजममा असर गर्छ। बियर खाँदा शरीरमा पानीको मात्रा बढ्न जान्छ। त्यति नै मात्रामा शरीरमा बाहिर गएन भने शरीरमा पानीको मात्रा बढ्न गई मिर्गौलालाई असर गर्छ। रक्सी पेटमा पुगेपछि शोसिएर रगतमा मिसिन्छ र बग्दै शरीरको सबै भागमा पुग्छ। जसले गर्दा मिर्गौलाका बिरामीले पनि दशैँमा मासुका परिकार कम खाएको राम्रो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।