|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ।

आइतवार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यास अनुसार पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका हुन्।

सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। बाँस्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा समेत माग गरे।

उनले भने, ‘हामी लोकतान्त्रिक अभ्यासमा छौं। यो हाम्रो प्रणाली मात्रै होइन जीवन पद्धति पनि हो। र हाम्रा परम्पराहरू, व्यवस्थाहरूको कारणले गर्दा पनि अरूलाई हाम्रा अभ्यासहरूको कारणले पनि अपवादबाहेक लेखा समितिको नेतृत्व सामान्यतयाः संसारभरीनै प्रतिपक्ष दलले गर्ने व्यवस्था छ। यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि आफूले प्रणालीको कुरा उठाउन चाहे। म अनुरोध गर्न चाहन्छु, सन्देश दिन चाहन्छु–अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा। त्यसको अर्थ हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् भन्ने कुरा चाहन्छु।’

एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाइप्रति ऐक्यबद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे।

उनले प्रमुख प्रतिपक्ष दलको भूमिकालाई रचनात्मक बनाउन पनि सत्तापक्षले सार्वजनिक लेखा समितिको सभापति लिई राख्न नपाउने बताए। सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए। उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफ दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.