|

सल्यान : सल्यान कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरका बाल कुँवरले मौरीघार बिक्रीबाट वार्षिक १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

स्थानीय कच्चा पदार्थबाट सहजै घार बनाउन सकिने भएपछि उनले घार निर्माणबाट मनग्य आम्दानी गरेका हुन्। वार्षिक ५–६ सयसम्म घार निर्माण गर्दै आएको बताउँदै उनले मागअनुसार घार पुर्‍याउन नसकेको बताए।

प्रतिघारको काठअनुसार २ हजार ५ सय देखि ३ हजार ५ सयसम्म बिक्री हुने गरेको बताउँदै घार बिक्रीबाट गत वर्षमात्र १९ लाख आम्दानी भएको उनको भनाइ छ। उनले भने, ‘गत वर्ष ६ सय घार माग भएको थियो। यो वर्षका लागि अब सिजन सुरु हुँदै छ। चालु वर्षमा पनि ६ सयको हाराहारीमा माग आउने अनुमान गरेको छु।’ 

२०७४ देखि व्यावसायिक घार निर्माण गर्दै आएका कुँवरले वार्षिक सरदर १७ देखि २० लाखसम्म आम्दानी हुने गरेको बताए। घारको मागअनुसार आम्दानी तलमाथि हुने उनको भनाइ छ।

मजदुरको पारिश्रमिक, कच्चा पदार्थ खरिद र घर खर्च कटाएर १२ देखि १५ लाखसम्म चोखो आम्दानी हुने गरेको उनले बताए। सरकारले विभिन्न जिल्लामा माहुरी ब्लक कार्यक्रम सञ्चालन गरेका कारण पनि मौरीघारको माग आउने गरेको उनको भनाइ छ।

मौरीघारको माग सबैभन्दा धेरै रुकुम पूर्व र पश्चिमबाट आउने गरेको उनले बताए। यस्तै जाजरकोट, सुर्खेत, दाङ र सल्यानका विभिन्न पालिकाबाट माग आउने गरेको उनले जानकारी दिए।

सिजनमा १२ जनासम्मलाई रोजगारी

व्यावसायिक मौरीघार बनाउँदै आएका कुँवरले नियमित चारजनालाई रोजगारी दिँदै आइरहेका छन्। सिजनमा भने उनले मजदुर थप्ने गरेका छन्। मंसिरको अन्तिमबाट मौरीघारको सिजन सुरु हुने बताउँदै सिजनमा चारजनाले मात्र घार निर्माण गर्न नसक्ने भएकाले अन्य ६/७ जनालाई रोजगारी दिने गरेको बताए। 

सरकारी कार्यालयले मंसिरबाट घारको माग गर्ने भएकाले सिजन सुरु हुने गरेको उनको भनाइ छ। उनले भने, ‘नियमित रूपमा घरका बाबुछोरा सहित चारजनाले नियमित काम गछौँ तर मंसिरदेखि थप ६/७ जनालाई थप्ने गरेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.