|

भन भन भाइ हो,
देउसी रे..

स्वर मिलाईकन
देउसी रे..
हामी त्यसै आएनौँ
देउसी रे..
बली राजाले पठाको
देउसी रे..

एकछिन्, एकछिन्। यो बली राजा भनेको को हो? चिन्नुहुन्छ? देउसी खेल्ने सबै टोलीलाई तिनै राजाले पठाएका हुन् त? अनि त्यो एकतले टिनले छाएको छाप्रोलाई पनि किन दरबार जत्रो घर भनेको होला? अनि कसैले देउसी भन्छन्, कसैले भैलो भन्छन् यो देउसी र भैलोमा फरक चाहिँ के छ होला? ​

देउसी भैलो कहिलेदेखि कहाँ कसरी सुरु भएर अहिले यो स्वरूपमा आइपुग्यो? अनि देउसी खेल्नेहरू किन आफूलाई बली राजाले पठाको भनेर दाबी गर्छन्? बली राजा, देउसी भैलो र तिहारको सम्बन्धका बारेमा संस्कृतिविद् डा. जगमान गुरुङसँग गरिएको कुराकानीमा आधारित सामग्री प्रस्तुत छःं

कहाँबाट कहिले?
ती मान्छे जससँग जे पनि किन्न सक्ने सामर्थ्य छ तर धेरै इच्छा चाहना अधुरा छन्। उनीहरूले मेलौली भगवतीसँग भाकल गर्थे, लौ मेलौली भगवती मेरो इच्छा पूरा गरिदेऊ, म तिमीलाई देवदास चढाउँछु। (जसलाई भाकल पनि भन्ने गरिन्छ।)

अनि त्यो इच्छा पूरा भएपछि एउटा गरिबको छोरा किनेर मन्दिरमा चढाइदियो जसलाई देवदास भनिन्थ्यो। कसैले केटीलाई चढाउँथे। उनीहरूलाई देवदासी भनिन्थ्यो। अहिले देउकी भन्ने पनि तिनै हुन्। 

त्यसरी मन्दिरमा चढाइएका देवदास देवदासी जिन्दगी भर त्यही मन्दिरमा देवताका सेवक(दास) भएर बस्नुपर्ने हुन्थ्यो। मन्दिरमा अरुले जे जति चढाउथे त्यही, जति पुग्छ त्यतिमै सामानमै सन्तोष मान्नुपर्थ्यो। यो प्रथा त्यतिबेला खुलेआम हुन्थ्यो लुकिछिपी अहिले पनि हुन्छ। 

चौधौँ सताब्दीतिरको कुृरा हो, त्यसरी मन्दिरमा बसेका देवदास देवदासीलाई देखेर जुम्लाका राजा बलीले उनीहरूलाई गीत गाएर मागेर खाने अह्राए। हामी त्यसै आएनौँ, बली राजाले पठाको... भनेर अहिलेका देउसी भैलोमा पनि भट्याइन्छ।

अहिले त युवा समूह, आमा समूह, राजनीतिक दलहरू सबैको देउसी भैलो हुन्छ। तर वास्तवमा देउसी भैलो भनेको, देवदास र देवदासीहरूको हो। जुन बली राजाको पालादेखि सुरु भयो। तिनै राजाले देवदास देवदासीहरूको जीवन अलिकति भए पनि सजिलो होस् भनेर मागेर खान अह्राए। अहिले त सबै मिसिएर खेल्छन् तर खासमा भैलो देवदासीहरूले खेल्थे भने देउसी रे देवदासहरूले।

​औँशीको दिनसम्म देवदासीहरूको भैलिनी आइन् आँगन हुन्थ्यो त्यसपछि देवदासहरूको भन भन भाइ हो देउसी रे..।

को हुन् बली राजा?
जुम्लामा अहिले पनि कल्लाइ नामको गाउँ छ। त्यही गाउँमा एउटा मेधावी, ज्वाजल्यमान युवक थिए। कस्मिरबाट एकजना चन्दननाथ जोगी आए। त्यो युवकको अंग लक्षण विचार गरेर जुम्लाको राजा घोषित गरिदिए। त्यसपछि उनी बली राजा भनेर चिनिए। 

बाइसे राज्यमध्येको पहिलो राज्य पनि जुम्ला हो।  कल्लाइ गाउँमा जन्मेको हुर्केको हुनाले बलिराजको वंशलाई कल्याल वंशी ठकुरी भनिन्छ। जो अहिले पनि छन्।

कसरी फैलियो देउसी भैलो?
देउसी भैलो खस संस्कृतिको विशेषता हो। खस बाहुनहरू खस भाषा र संस्कृतिको सम्प्रभुता भएको खसान प्रान्तबाट पूर्वतिर बसाइ सर्दै आए। उनीहरू सँगसँगै देउसी भैलो जस्ता खस संस्कृति पनि पश्चिमबाट पूर्वतिर फैलिए।

अहिले खस बाहुन र खस बाहुनको सिको गरेर गुरुङ, मगर, राई, लिम्बूहरूले पनि खेल्छन्। नेपालमा मात्रै होइन दार्जिङका चिया बगानमा, आसामका गोठहरूमा, बर्माका कमिनमा, देहरादुनका लाइनहरूमा जताततै देउसी भैलो। त्यति मात्र होइन विश्वभरी जहाँ जहाँ नेपालीहरू छन् त्यहाँ खेल्छन्। ​यो खस संस्कृतिको प्रभाव हो। 

देउसी भैलोको स्वरुप
त्यो बेलामा महिलाहरू मधुरो स्वरले गाएर थपडी बजाएर भैलो खेल्ने गर्थे। मादल पनि पनि थिएन। भने पुरुषहरू लठ्ठी लिएर देउसी रे खेल्न जान्थे। महिलाहरू धेरै टाढा जाँदैनथे। पुरुषहरू रातिराति वल्लो गाउँ पल्लो गाउँ पनि जान्थे। सुरक्षाको हिसाबले पनि लठ्ठि टेक्नुपर्थ्यो। देउसी रे खेल्दा लय मिलाएर सबैले एकै पटक लठ्ठी भुइँमा बजार्दा एक किसिमको संगीत निस्किन्थ्यो।

देउसी भैलो खेल्दा घरबेटीलाई कसरी खुसी बनाउने भन्ने कुरा महत्त्वपूर्ण हुन्थ्यो। त्यसैले, जसले दिन्छ मानो त्यसको सुनको छानो, यो घर कत्रो दरबार जत्रो.. जस्ता टुक्का भट्टाउन थालियो। अहिले त यसको स्वरूप पनि फेरिएको छ। अहिले भट्याउने होइन मेमोरी कार्ड राखेर डेकमा फिल्मका गीत बजाउने अनि नाच्ने। यो विकृति हो। 

तिहार र देउसी भैलो
तिहार देउसी भैलो खेल्न सुरु गर्नुभन्दा धेरै वर्ष अघिदेखि नै मान्दै आइएको हो। विस्तारै यसमा विभिन्‍न आयामहरू थपिए। मखमली फूल, सयपत्री फूल, बत्ती, कटुस र बयरहरू पनि थपियो। बिमिरो थपियो। देउसी भैलो थपियो।

अन्नबाली काट्ने थन्काउने बेला मिलाएर देवदास देवदासीहरू तिहारमा देउसी भैलो खेल्न थाले।  मागेर गुजारा गर्नु परेपछि सकेसम्म धेरै अन्न जम्मा गर्नपाए भन्ने उनीहरूको धेय हुन्थ्यो। त्यसको लागि घरबेटीको मन पगाल्नु पर्थ्यो, एक मुठ्ठी दिने ठाउँमा पाँच मुठ्ठी दिन मन लाग्ने बनाउन पर्थ्यो प्रशंसा गर्नुपर्यो। खुशी बनाउनु पर्थ्यो।

त्यसको लागि गीत गाउन पर्यो, नाच्न पर्यो। यसो गर्दा धेरै दिँदा रहेछन् भन्ने भयो। त्यसरी त्यसरी कलाको पनि विकास भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.