|

काठमाडौं : बिहीबारदेखि काठमाडौंमा सुरू भएको १३औं इजरायली चलचित्र महोत्सवको उद्घाटनमा आप्रवासी कामदारको कथामा आधारित डकुमेन्ट्री अ फिस टेल प्रदर्शन गरियो।

ड्राइभ–इन अवधारणामा सञ्चालित महोत्सवको उद्घाटनमा निम्त्याइएका दर्शकले गाडीमै बसेर चलचित्र हेरे। ताहचलस्थित सोल्टी होटेलको प्राङ्गणमा ठूलो स्क्रिनराखेर चलचित्र प्रदर्शन गरिएको थियो भने ९०.६ एफएममार्फत ध्वनिको व्यवस्था गरिएको थियो।

महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महोत्सवले दुई देशको सम्बन्ध बलियो बनाउन सघाउने बताए। उनले इजरायली निर्माताहरूलाई नेपालमा चलचित्र बनाउन आउन निम्तो समेत दिए।

उद्घाटन सत्रका निम्तालुलाई स्वागत गर्दै नेपालका लागि इजरायली राजदूत हनान गोदरले ठट्टा गरे, ‘म पहिलोपटक कारहरूलाई सम्बोधन गर्दैछु। आशा छ, तपाईंहरूले मलाई सुनिरहनुभएको छ।’ दर्शकहरूले हर्न बजाएर प्रतिक्रिया दिए। गोदरले दुई देशबीच सांस्कृतिक सम्बन्ध बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे।

अभिनेता राजेश हमालले तेह्र वर्षदेखि निरन्तर चलचित्र महोत्सव आयोजना हुनु स्वागतयोग्य भएको बताए। ‘चलचित्रले मनोरञ्जनमात्रै दिँदैन’, उनले भने, ‘सांस्कृतिक र कूटनीतिक क्षेत्रमा पनि चलचित्रले दुई देशबीच पुलको काम गर्छ।’

महोत्सवमा शुक्रबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ। शनिबारसम्म चल्ने महोत्सवमा पाँच चलचित्र देखाइनेछन्। सबै चलचित्र हिब्रु भाषाका हुन्। नेपाली दर्शकले अंग्रेजी सबटाइटलको सुविधा पाउनेछन्। सबै शो ड्राइभ–इन अवधारणा अनुसार प्रदर्शित हुनेछन्। ‘शुक्रबार र शनिबारका शो हेर्न चाहने दर्शकले सोल्टी होटेलको वेबसाइट www.soaltee.comमा गएर नाम दर्ता गर्नुपर्नेछ’, दूतावासले भनेको छ। चलचित्र प्रदर्शनतालिका उक्त वेबसाइटमै उपलब्ध गराइएको छ।

इजरायली दूतावास र इन्टरनेशनल साउण्ड सर्भिसले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.