|

काठमाडौं : प्रेमलाई सबैभन्दा शक्तिशाली भावना मानिन्छ। जुन कुरा सामान्य अवस्थामा असम्भवजस्तो लागिरहेको हुन्छ, त्यो प्रेमले सजिलै साकार गराइदिन सक्छ।

तर हामी कसलाई किन प्रेम गर्ने भनेर हाम्रो समाजले एउटा 'पावरवाला चस्मा' लगाइदिएको हुन्छ। 

त्यो चस्मा खोलेर हेर्दा प्रेमको परिभाषा हामी अर्कै पाउन सक्छौँ। हामीले आफैंलाई गर्ने, अरुलाई गर्ने अर्कै प्रेम महसुस गर्न सक्छौँ।

सन् १९९० को दशकमा अमेरिकामा धेरै समलिंगी बाहिर आए अर्थात सार्वजनिक रुपमा खुले। धेरै केटाहरूले केटाहरूलाई नै प्रेम गरेको, धेरै केटीहरूले आफूले खोजेको प्रेम केटीहरूमै पाएको कुरा खुलेर भने।

समाजले लगाइदिएको चस्माबाट हेर्दा त्यो प्रेमिल दृश्य एकदमै अस्वाभाविक र अनिष्टकारी देखिन्थ्यो।

उनीहरूलाई समाजमा विकृति भित्र्याएको आरोप लाग्यो। उनीहरूलाई मान्छे मानिएन, प्रेम गरेकै कारण धेरै प्रेमिल जोडी मारिनु पर्‍यो। धेरैलाई आफैं मर्न बाध्य बनाइयो।

त्यस्ता घटनाको विरोधमा उभिनेहरू पनि थिए। ती विषयमा धेरै कविता लेखियो, धेरै कथा र नाटक लेखियो। 

त्यस्तै घटनाले गर्दा नाटककार डायना मिया सनले सन् १९९८ मा 'स्टप किस' लेखिन्, जुन नाटकमा दुई समलिंगी महिलाको कथा देखाइएको थियो। 

पछि न्युयोर्कको द पब्लिक थिएटरमा मञ्चन गरिएको उक्त नाटक 'ब्लक बस्टर' सावित भयो। प्रदर्शनको समय तीन तीन पटक थपेर महिना दिनभन्दा बढी उक्त नाटक मञ्चन भयो। 

अहिले अमेरिकालगायत धेरै देशमा केटाले केटालाई, केटीले केटीलाई प्रेम गर्ने, विवाह गर्ने कुरा सामान्य हुँदैछ।

नेपाल जस्ता देशमा भने यी मुद्दा भर्खर उठ्दै छन्। सन् १९९० को दशकमा अमेरिकामा भएका घटना अहिले नेपालजस्ता देशमा हुँदै छन्।

डायना सनको उक्त नाटक यतिवेला राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। वन वर्ल्ड थिएटरको प्रस्तुति रहेको नाटक लुनिभा तुलाधरको निर्देशनमा तयार भएको हो। 

बिहीबार मञ्चन सुरु भएको नाटकमा समापिका गौतम र रञ्जना भट्टराईले सारा र केलीको भूमिका निर्वाह गरेका छन् जो एक अर्काको प्रेममा पर्छन्।

यसअघि धेरै नाटकमा अभिनय गरेको भए पनि समलिंगी(लेजवियन) पात्रको कथा भएको नाटकमा भने पहिलो पटक काम गरेको समापिका बताउँछिन्।

नाटकमा साराको भूमिकामा देखिएकी उनी भन्छिन्, 'नेपाली साहित्य, नाटक फिल्ममा यस्ता कथा धेरै पाएको छैन तर, विभिन्न फेस्टिवल, ओस्कारमा गएका इन्टरनेशनल कन्टेन्ट भने देखेकी थिएँ। त्यसैले गर्दा ओहो यो नाटक त फरक हो भन्ने चाहिँ लागेन।' 

यो नाटकले एउटा कलाकारका रुपमा मात्र नभएर एउटा व्यक्तिका रुपमा पनि आफूलाई धेरै फाइदा भएको उनी बताउँछिन्। 

'यो मेरा लागि नयाँ कुरा त हो तर, एकदमै नयाँ पनि होइन। यसअघि आफ्नो सर्कलका १/२ जना साथी भेटेकी थिएँ। यो नाटकमा जोडिएपछि आफूभन्दा एज्ड, देश विदेशका साथीहरू पनि भेटियो। त्यसपछि यो नयाँ कुरा होइन रहेछ। हामीले पो नदेखेका, त्यहाँसम्म नपुगेका रहेछौँ भन्ने महसुस भयो।' 

उनी भन्छिन्, 'यो हाम्रो एक्स्प्लोरिङ फेज नै हो। किनभने अहिले नै म कुनै कुरामा लक लगाएर राख्न सक्दिनँ। देख्दै जाँदा, भोग्दै जाँदा सोच पनि फराकिलो हुँदै जान्छ। यो नाटकलाई पनि मैले त्यस्तै माध्यम बनाएँ।' 

'आफू जे हो त्यही हुँदा स्वीकार्ने समाज तयार भइनसक्दा पनि खुलेर बाहिर आउनु सामान्य कुरा होइन। आफैंसँग र समाजसँग पनि ठूला लडाइँ लडेपछि मात्र उनीहरू अलि सजिलो जीवन बाँच्न सक्छन्,' उनले भनिन्।

तर, बाहिरबाट सजिलो जीवन बाँचिरहेको देखे पनि उनीहरूको वास्तविक जीवन भने त्यति सजिलो नहुने उनी बताउँछिन्। 

आफू एउटा समलिंगी पात्रको भूमिका निर्वाह गर्दैछु, साथी र आफन्तले थाहा पाए भने के भन्लान् भन्ने सोच नआएको बरु आफू आफ्नो 'कम्फर्ट जोन'बाट बाहिर जाँदैछु भन्ने कुराले खुसी लागेको उनी बताउँछिन्। 

'मैले कुनै नाटकमा यस्तो इन्टिमेट हुनु परेको थिएन। सबै नाटकमा १९/२० वर्षको किशोरीको रुपमा कास्टिङ गरिएको हुन्थ्यो। यसमा चाहिँ क्यारेक्टरको उमेर २५ छ। आफ्नो निर्णय आफैं गर्न सक्ने परिपक्व महिला हो,' उनी भन्छिन्, 'यो नाटक गर्दागर्दै म आफैं पनि एक स्टेप अगाडि बढेँ जस्तो लाग्छ। चाहे त्यो इन्टलेक्चुअल कुरामा होस् या आफूदेखि कम्फर्टेवल फिल गर्ने कुरामा।' 

यस्ता विषयको लागि हाम्रो समाज अझै तयार भइनसकेको तर बुझेका मान्छेहरूले आफ्नो आफ्नो ठाउँबाट बुझाउँदै लैजानुपर्ने उनी बताउँछिन्।

सबै मान्छेहरूलाई उनीहरूको फरक विशेषतासहित स्वीकार्नुपर्ने उनको भनाइ छ। 

यो समयमा यस्तो विषयमा नाटक गर्दा दर्शकको प्रतिक्रिया नकारात्मक पनि आउन सक्ने उनी बताउँछिन्।

उनी भन्छिन्, 'अडियन्सको प्रतिक्रिया सकारात्मक मात्रै आउँछ भन्ने पनि छैन। मलाई थाहा छ के गरेको यस्तो नचाहिँदो भन्नेहरू पनि आउन सक्छन्। स्वाभाविक हो। एउटा कलाकार भएपछि त्यति लिन सक्नु पनि पर्छ।' 

त्यस्तै नाटकमा केलीको भूमिकामा देखिएकी रञ्जनालाई पनि यो नाटकमार्फत मान्छेहरूले हेर्नुपर्ने, सुन्नुपर्ने, बुझ्नुपर्ने कथा बाहिर आएको भन्ने लाग्छ।

'अडिसनको बेलामा क्यारेक्टरको बारेमा थोरै मात्र भन्नुभएको थियो। त्यतिखेरै पनि यो स्टोरी कति क्लोज फिल भएको थियो,' उनी भन्छिन्, 'मेरा केही समलिंगी साथीहरू हुनुहुन्छ उहाँहरूको स्टोरी सुनेको भएर पनि होला।' 

नाटकको रिहर्सल सुरु हुनुभन्दा अगाडि तिनै आफूले सुनेका कथाहरूको मद्दतले केली पात्र बनाउँछु भन्ने लागेको भए पनि विस्तारै केलीका भोगाइ आफैंलाई महसुस हुन थालेको उनी बताउँछिन्।

उनी भन्छिन्, 'सुरुमा त्यो मान्छे म हो भनेर स्वीकार्नै गाह्रो भयो। विस्तारै आफैं हुन थाल्यो। अहिले परफर्म गरिराखेको बेलामा मलाई साँच्चिकै हिक्क हिक्क हुन्छ।'

मान्छे कस्तो परिवेशमा जन्मेको छ, हुर्केको छ भन्ने कुराले धेरै अर्थ राख्ने बताउँदै उनी भन्छिन्, 'हामीलाई पो बच्चैदेखि केटी केटासँग, केटा केटीसँग मात्रै एट्राक्ट हुन्छ भनेर सिकाइयो। त्यतिबेलादेखि नै यो कुरा ओपन हुन्थ्यो भने के थाहा हामीलाई नै त्यस्तो फिलिङ आउँथ्यो कि। हामी यसलाई ठूलो कुरा भनेर लुकाइरहेका हुन्छौँ। मैले फिल गरेको कुरा चाहिँ इट्स मोर अबाउट ह्युमन कनेक्सन भन्ने हो। त्यो कुरामा अबको जेनेरेसन चाहिँ ओपन हुन्छ जस्तो लाग्छ।' 

'विस्तारै मान्छेको सोच पनि परिवर्तन हुँदै छ। निडर भएर म यो हुँ भनेर भनिरहेका छन्। त्यसैले पनि यो नाटक एकदमै सहि समयमा भयो जस्तो लाग्छ,' उनी भन्छिन्, 'सबैसँग आफ्नो जीवन आफ्नै तरिकाले स्वतन्त्र भएर जिउने अधिकार छ। यो नाटक लभ स्टोरी हो साथै यहाँ भेटिने अर्को कुरा स्वतन्त्रताको कथा पनि हो।' 

तस्वीर साैजन्यः वन वर्ल्ड थिएटरकाे फेसबुक पेजबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.