|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका २० वटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

सरकारले गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अबिरल वर्षाका कारण भएको क्षतिको आधारमा ती २० स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। 

देशभरिका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएकोमा तीमध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० स्थानीय तह पनि समेटिएका हुन्।

यस प्रदेशका सबैभन्दा बढी डोटी र डडेल्धुरामा पाँच/पाँच स्थानीय तहमा संकटग्रस्त क्षेत्र परेका हुन्। यस्तै बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका दुई/दुई स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएका छन्।

डोटीका दिपायल सिलगढी नगरपालिका, केआईसिंह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका र डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन्।

यसका साथै बझाङका थलारा गाउँपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका, बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाका दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका र बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका हुन्।

गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। 

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अबिरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो धनजनको क्षति भएको थियो। उक्त विपद्‌बाट सुदूरपश्चिममा ३७ जनाको मृत्यु भएको थियो भने अरबौको क्षति भएको थियो।

विपद्पश्चात् त्यस वेला प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्री, उच्चपदस्थ व्यक्तित्वले समेत यहाँको स्थलगत निरीक्षण समेत गरेका थिए। निरीक्षण गर्दै संकटग्रस्त क्षेत्र घोषणा गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका थिए। 

संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनःनिर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.