|
तस्बिर : शिला तिम्सिना

काठमाडौं : नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा आएकी सकिना तेलीले आफ्नो नाम कापीमा लेखिन्, ‘सकिना तेली' अनि पंक्तिकारतिर पुलुक्क हेरिन्। उनको अनुहारले भन्थ्यो, 'देखिस्! मैले मेरो नाम लेख्न जानिसकेँ। अब मलाई कसैले झुक्याउन सक्दैन।’

यतिखेर राजधानी सहर काठमाडौं चिसोले कठ्याङ्ग्रिएको छ। कठ्याङ्ग्रिएको राजधानीको मुटुमा छन् निर्मला कुर्मीको न्यायका लागि लडिरहेका महिलाहरू। बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि महिला अधिकारकर्मी र परिवारका सदस्यहरू काठमाडौंको माइतीघरमा दोस्रो चरणको आन्दोलनमा छन्।

ती महिलामध्ये एक हुन् सकिना पनि। उनी यो चिसो मौसममा पनि २९ दिनदेखि नन्कुन्नी र निर्मलाको न्यायका लागि उभिएकी छिन्। अहिले झन् उनी थप उत्साहित छिन्। किनभने २९ दिनअघि निरक्षरको उपमा पाउने उनी अहिले आफ्नो नाम लेख्न सक्ने भएकी छिन्। बोल्न सक्ने भएकी छिन्।

उनी मात्र होइन न्यायका लागि आएका अन्य १४ महिला र २ पुरुष अहिले माइतीघरमा आन्दोलनरत छन्। तीमध्ये प्रायः महिलाहरू निरक्षर थिए। अहिले उनीहरू लेख्न सक्ने भइसकेका छन्। उनीहरू कापीमा आफ्नो नाम लेखिरहन्छन्। आफ्नो नाम आफैंले लेखेर पढ्दा आत्मबल आएको महसुस भएको उनीहरू बताउँछन्।

सकिना भन्छिन्, ‘निरक्षर भएर हामीलाई स्थानीय तहदेखि संघीय सरकारले महत्व दिएको थिएन। अब न्याय नदिएर सुख!’

सरकारले निर्मला कुर्मीलाई न्याय दिन बेवास्ताको भाषा बोलिरहेको छ। तर‚ त्यसविरुद्ध लड्न आफूहरु सक्षम भइसकेको उनले बताइन्। ‘नेपालमा धेरै जसो पीडित महिला अशिक्षित रहेको हामीले बुझिसकेका छौं‚’ सकिनाले भनिन्‚ ‘हामीसँग लड्न सक्ने क्षमता छ। आँट छ। विश्वास छ। किनभने हामीले अब अक्षर चिनिसकेका छौ।’

न्यायका लागि आएकी अर्की महिला हुन् सलिमोन बेहेना। उनको बोल्ने शैलीले पनि भन्छ, 'हामीले न्याय पाउँछौं।’ उनले बिहान ९ बजेदेखि ५ बजेसम्म धर्ना बस्दा अन्य महिलाहरूले बोलेका देख्दा कसरी नडराइ बोल्न जानेका होलान् भन्ने सोचेकी थिइन्। आन्दोलनका क्रममा नै उनले  बुझिन्, ‘उनीहरूले पढेका थिए। यसकारण बोल्न सक्ने भए। हामी पनि पहिल्यै पढेको भए यसरी नै बोल्न जान्ने भइसक्थ्यौं।’

उनको प्रश्न छ, 'हामीले कलम चलाउन सिक्यौं, सरकारमा बस्नेले न्यायको कलम कहिले चलाउँछौं?' नागरिक आन्दोलनका विद्यार्थी भाइबहिनीहरूले उनीहरूलाई पढ्नका लागि प्रेरणा दिएको उनले बताइन्।

अहिले माइतीघर मण्डलामा नागरिक आन्दोलनका विभिन्न व्यक्तिले उनीहरूलाई पढ्न सिकाइरहेका छन्। उनीहरूलाई कापी र कलमको व्यवस्था भने अनिता पण्डित र अप्सरा केसीले गरेका थिए।

उहाँहरू न्यायका लागि काठमाडौंसम्म आउनु नै उहाँहरू चेतनशील छन् भन्ने प्रमाणित भएको पण्डित बताउँछिन्। उनीहरुसँग न्यायका लागि लड्न सक्ने क्षमता छ। आत्मविश्वास छ। तर, शिक्षा भने छैन भन्ने लागेको उनले सुनाइन्। यही कुरा मध्यनजर गरेर आफूहरूले महिलाहरुलाई साक्षर बनाउन सकिन्छ कि भनेर यो काम थालेको पण्डितले बताइन्।

‘यो नितान्त मेरो मात्र काम होइन। सबै साथीहरुको साथ र सहयोगले उहाँहरुले नाम लेख्न सक्नुभएको छ‚’ पण्डितले भनिन्‚ ‘अब केही दिनमा उहाँहरुले आफैंले लेखेर आफ्नो आवाज देश तथा विदेशमा पुर्‍याउन सक्नुहुन्छ। उहाँहरूमा सिक्नुपर्छ भन्ने चेतना छ। यो चेतना भयंकर महत्वपूर्ण छ।’

सकिना तेली पनि साक्षर भइसकेकी छिन्।  आफूहरूले लेख्न र पढ्न सकेको भए निर्मला कुर्मीले आजसम्म न्याय पाउन सक्ने विश्वास उनको छ। 'हामी अनपढ भएर नै हामीलाई सरकारले हेपेको छ। समाजले हेपेको छ। अनि पुरुषले हिंसा गरेको छ', उनी भन्छिन्।

पढ्न जानेको भए आज काठमाडौंको चिसोमा बसेर न्यायको भिख माग्नु नपर्ने सकिना बताउँछिन्। उनी भन्छिन्‚ ‘हामी आफ्नै घरमा बसी पत्रिकामा लेखेर देशदेखि विदेशसम्म न्यायका लागि आवाज उठाउन सक्थ्यौँ।'

राहुल शेख पनि निर्मलाको न्यायका लागि माइतीघर मण्डला छन्। शेखले कक्षा २ सम्म पढेका छन्। तर, उनले त्यो पढाइ भुलिसकेका थिए। जब उनी न्यायका लागि काठमाडौं आए‚ उनलाई पनि पुन: पढ्नुपर्छ भन्ने लागेको छ। 'मैले त पढ्न र लेख्न भुलिसकेको थिएँ। अहिले फेरि सिक्दैछु', उनी सुनाउँछन्, 'हामी निर्मला कुर्मीलाई न्याय त दिन्छौं नै घर जाँदा पूर्णरुपले शिक्षित भएर जान्छौं।'

के छन् माग?

राष्ट्रिय महिला अधिकार मञ्च बाँकेका महिलाहरू ‘कि न्याय दिन्छ सरकारले: कि ज्यान लिन्छ सरकारले’ भन्दै आन्दोलनमा होमिएका छन्। यो उनीहरूको दोस्रो चरणको आन्दोलन हो।

यसअघि गत असोज १ मा नेपालगञ्जबाट पैदल हिँडेर २० गते काठमाडौं भित्रिएका थिए। त्यसपछि आन्दोलनमा उत्रिएका थिए। पहिलो चरणमा न्यायका लागि आएकी रुबि खान अनशन बसेकी थिइन्। गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै अनशन स्थगित भएको थियो। तर, सरकारले आफ्नो माग पूरा नगरेको भन्दै उनीहरू गत मंसिर ९ गतेदेखि पुनः माइतीघरमा आन्दोलनमा छन्।

तर‚ आफूहरूलाई सरकारले निरन्तर बेवास्ता गरिरहेको उनीहरूको गुनासो छ। न्यायका लागि सरकारले शीघ्र कदम चाल्न उनीहरू निरन्तर लागिपरेका छन्।

यस्ता छन् उनीहरूको माग

-विधवा महिला निर्मला कुर्मीको हत्याको घटना तथा घरेलु हिंसा पिडित महिला ननकुन्नी धोबीको हत्या प्रकरण छानविन समितिले पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गरियोस्।

-निर्मला कुर्मीको घटना छिटो भन्दा छिटो सुरुदेखि अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गरियोस्।

-गृह मन्त्रालयद्वारा पठाइएको छानविन समितिले निर्मला कुर्मीको सम्पत्ति छानबिनका लागि दिएको सुझावलाई अविलम्ब कार्यान्वयन गरि निर्मला कुर्मीको सम्पत्ति प्रकरण सिआइबी र अनुसन्धानसहितको छानबिन समिति अबिलम्ब पठाइयोस्।

-पटक पटक मुख्य अभियुक्त संरक्षण गर्ने बाँके जिल्ला जि.प्र.काका एसपी श्यामकृष्ण अधिकारी तथा डिएसपी मधुसुदन न्यौपानेलाई अविलम्ब विभागीय कारबाही गरियोस्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.