|

लखनउ :​ कोरोनाको ओमिक्रोन स्वरूपको संक्रमण बढेपछि भारतको उत्तर प्रदेश सरकारले रातमा निषेधाज्ञा लगाउने भएको छ। उत्तर प्रदेशमा शनिबार राति ११ बजेदेखि रात्रि कर्फ्यु लगाइने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिएका छन्।

उक्त कर्फ्यु राति ११ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेछ। सरकारले जारी गरेको आदेशमा बिहेजस्ता सार्वजनिक कार्यक्रममा बढीमा २ सय व्यक्तिसम्म सहभागी हुन पाउनेछन्। सहभागी सबैले कोभिडका नियम पालना गर्नुपर्नेछ। आयोजकले यसबारे स्थानीय प्रशासनलाई सूचना दिनुपर्नेछ।

मास्क अनिवार्य

बजारमा ‘मास्क नलगाउनेलाई सामान नदिने’ सन्देशसहित व्यापारीलाई सचेत गराइनेछ। मास्क नलगाएका ग्राहकलाई कुनै पनि पसलेले सामान बेच्न पाउने छैनन्। सडक/बजारमा सबैका लागि मास्क अनिवार्य गरिएको छ। प्रहरीले निरन्तर गस्ती गर्नेछ।

प्रदेशको सिमानामा जाँच

भारतको कुनै पनि राज्य वा विदेशबाट उत्तर प्रदेशको सीमामा आउने प्रत्येक व्यक्तिको ट्रेसिङ-टेस्टिङ गरिनेछ। नेपालसँग सीमा जोडिएका जमुनाहा‚ ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा‚ भुजहवा‚ खकरौला‚ गौरीफण्टा‚ कोइलावास‚ नौतनवा‚ बढनी लगायतका नाकामा सुरक्षा कडा पारिएको छ।

प्रदेशमा सञ्चालन हुने बस, रेलवे र विमानस्थलमा थप सतर्कता अपनाइनेछ।​

आइआइटी कानपुरका अनुसन्धानकर्ताले आफ्नो नयाँ अध्ययनमा फेब्रुअरी ३ मा कोरोना संक्रमण शिखर अवस्थामा पुग्ने बताएका छन्। टोलीको नेतृत्वमा हालसम्मका संक्रमितको समीक्षा गरिएको छ।

अनुगमन समिति पुनः सक्रिय

बैठकमा मुख्यमन्त्री योगीले तेस्रो लहरलाई ध्यानमा राख्दै गाउँ र नगर क्षेत्रमा वडा वडामा अनुगमन समितिहरू पुन: सक्रिय गराइने जानकारी दिएका छन्। उनले अनुगमन समितिले कोरोना व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताए।

उनले बाहिरबाट आउने सबै व्यक्तिको परीक्षण गर्न आदेश दिएका छन्। त्यस्ता आगन्तुकको स्वास्थ्यको निरन्तर अनुगमन गर्नुका साथै आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न र अस्पतालमा भर्ना गर्नुपर्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.