|

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा हुने टी २० विश्वकप छनोटका लागि आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ। त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरु भएको हो। 

पछिल्लो साता काठमाडौं आइपुगेका पुबुदु दसानायकेले बन्द प्रशिक्षणका लागि ३० जनाको सूची सार्वजनिक गरिसकेका छन्। साथै पुस २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीलाई पनि टिममा मौका दिने तयारी गरिएको छ।

क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारबाही गरेपछि आइतबारदेखि नै सुरु हुने भनिएको बन्द प्रशिक्षण एकदिन पछि धकेलिएको हो। 

आइतबार दिनभर भएको छलफलपछि ज्ञानेन्द्रलगायत असन्तुष्ट पक्षका खेलाडीहरू पनि बन्द प्रशिक्षणमा सहभागी  भएका छन्। 

क्यानले मल्लसहित चारजना खेलाडीलाई अनुशासनको कारबाहीका साथै मल्ल र दीपेन्द्रसिंह ऐरीको कप्तान र उपकप्तान पद खोस्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो।

छलफलका क्रममा खेलाडीहरूको केन्द्रीय सम्झौताको विषयमा क्यान लचिलो बनेपछि कप्तानको विषयमा भने अहिलेलाई सन्दीप नै रहेको स्पष्ट गरेको छ। अब नेपालले ओमानमा हुने टी २० विश्वकप छनोट सन्दीपको कप्तानीमा खेल्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.