|

काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले सिट बाँडफाँड गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खाली रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन्। 

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ५ दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५-५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

बागमती प्रदेशमा अन्यमा नेपाली कांग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी) ले सिट पाएका छन् भने गण्डकी प्रदेशमा महिलामा काँग्रेस, अन्य तथा दलितका लागि माओवादी केन्द्रले सिट पाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशमा पुरुषतर्फ खुल्ला नेपाली काँग्रेस, महिलामा नेकपा (एकीकृत समाजवादी), दलितमा राष्ट्रिय जनमोर्चालाई सिट दिइएको छ। 

कर्णाली प्रदेशमा महिला नेपाली कांग्रेस, अपांग सिटमा माओवादी केन्द्र, खुल्लामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा खुल्लामा नेपाली काँग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा नेकपा (एकीकृत समाजवादी)लाई सिट दिने निर्णय भएको समेत बताए। 

‘राष्ट्रियसभाको १९ सिटको निर्वाचनको बारेमा ५ दलको बीचमा छलफल भएर साझा उम्मेदवार तय गर्ने आजको ५ दलीय गठबन्धनले त्यो निर्णय गरेको छ। प्रदेश १ मा ३ वटा सिटमा महिलातर्फ एकीकृत समाजवादी, पुरुषतर्फ नेपाली कांग्रेस र अल्पसंख्यकमा जसपा। प्रदेश २ मा महिला माओवादी केन्द्रको खालि थियो, माओवादी केन्द्र र अन्यमा जसपा। बागमतीमा अन्यमा नेपाली कांग्रेस, महिलामा समाजवादी' उनले भने, ‘गण्डकी प्रदेशमा महिला कांग्रेस, अन्य र दलित माओवादी।

लुम्बिनीमा पुरुषतर्फ खुल्ला नेपाली कांग्रेस, महिलामा समाजवादी, दलितमा राष्ट्रिय जनमोर्चा। कर्णाली प्रदेशमा महिला नेपाली कांग्रेस, अपाङ्ग सिटमा माओवादी केन्द्र, खुल्लामा एकीकृत समाजवादी। सुदूरपश्चिम प्रदेशमा खुल्लामा नेपाली कांग्रेस, दलितमा माओवादी केन्द्र, महिलामा एकीकृत समाजवादी।' 

विवेकपूर्ण र तर्कसम्मत हिसावले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँड गरेर उम्मेदवारी दिने निर्णय सत्तारुढ दलहरुले गरेको जिकिर गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.