कतै नगएका काठमाडौंकै स्थानीयमा पनि देखियो ओमिक्रोन

|

काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन” समुदायमा नै पुगिसकेको अनुमान गरिएको छ। शुक्रबार एकै पटक २४ जनामा ओमिक्रोन पुष्टि भएपछि यो भेरियन्ट समुदायमा नै पुगिसकेको आँकलन गरिएको हो।

यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो। शुक्रबार 'एस जिन' नेगेटिभ देखिएर सिक्‍वेन्सिङ गरेका सबै (२४ जना) मा ओमिक्रोन पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गरिएको थियो। त्यसको 'एस जिन' स्क्रिनिङ गर्दा २५० वटा अर्थात् २२ प्रतिशत नमूनामा नेगेटिभ नतिजा आयो।

'एस जिन' नेगेटिभ आएका २५० मध्ये पनि २४ नमुनाको मात्रै जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यसले गर्दा  'एस जिन' नेगेटिभ  आएका बाँकी २ सय २६ वटा नमूना पनि ओमिक्रोन नै भएको भन्न सकिने विज्ञको भनाइ छ।  

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले शुक्रबारको नतिजाले अब ‘'एस जिन'’नेगेटिभ आउने सबैमा ओमिक्रोन भेरियन्ट नै भन्न सकिने बताए। 

‘हाल 'एस जिन' नेगेटिभ आउने अल्फा भेरियन्ट नेपालमा सक्रिय छैन, दुई महिनायता 'एस जिन' नेगेटिभ आएका सबै २७ वटा नमूनामै ओमिक्रोन भेटिएको छ जसले गर्दा अब ‘एस’ जिन नेगेटिभ आएका सबै ओमिक्रोन भेरियन्ट हुन् भन्न  सकिन्छ’उनले भने।

उनका अनुसार कोरोना पोजेटिभ देखएकाहरुमा 'एस जिन' नेगेटिभ आएका सबैलाई सीधै ओमिक्रोन भेरियन्ट संक्रमण भएको पुष्टि गर्नेबारे छलफल अघि बढाइएको छ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायत अन्य निकाय बीच पनि छलफल भइरहेको बताइएको छ।

यसका साथै एस-जीन सिक्‍वेन्सिङ गर्ने सुविधा देशका वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, प्रदेश-२ को प्रदेश जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबाट भइरहेको समेत मन्त्रालयले जनाएको छ।

'एस जिन' को परीक्षण भने कोरोना परीक्षणकै बेला गर्न सकिन्छ, छुट्टै सिक्‍वेन्सिङ गर्नु पर्दैन।

 काठमाडौंकै स्थानीयमा देखियो ओमिक्रोन

शुक्रबार ओमिक्रोन संक्रमण देखिएका केही नमुना काठमाडौं उपत्यका भित्रकै रहेको समेत डा.पौडेले बताए। ‘शुक्रबार ओमिक्रोन पुष्टि भएका केही नमुना काठमाडौं उपत्यका भित्रकै रहेका छन्, उक्त संक्रमित व्यक्ति केही समय यता लामो ट्राभल गरेको पनि देखिँदैन’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.