|

 काठमाडौं : थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पालाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारको एक मात्र लिग खेलमा थ्री स्टारले हिमालयन शेर्पालाई २–०  ले पराजित गरेको हो।

थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्धित घानेफो अंशुमाना क्रोमाले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो।

सुरुआती अग्रता लिने क्रममा हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले क्लियर गर्ने खोजेको बल गोलमा परिणत हुँदा थ्री स्टारले ५६औं मिनेटमा आत्मघाती गोलबाट सुरुआती अग्रता बनाएको थियो।

थ्री स्टारका ऋतिककुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि प्रतिस्पर्धात्मक बनेको खेलमा हिमालयन शेर्पा खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन।

१० मिनेट थपिएको इन्जुरी समयको छैटौं मिनेटमा अंशुमानाले गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गराए। योसँगै थ्री स्टारलाई लगातार दोस्रो जित निकालेको छ।

यसअघिको खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबलाई २–१ ले हराएको थियो। अघिल्ला खेलमा खराब नतिजाबाट ग्रुजिएको थ्री स्टार लयमा फर्किने प्रयास गरेको छ।

यो जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ। थ्री स्टार पाँचौं स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ। शेर्पा छैटौं स्थानमा झरेको छ।

खेलमा थ्री स्टारका ऋतिक खड्का म्यान अफ दि म्याच चुनिए भने थ्री स्टारकै निशान खड्का इमर्जिङ प्लेयर चुनिएर नगद १० हजार रुपैयाँ हात पारे।

लिगमा सोमबार दशरथ रंगशालामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच आठौं चरणको अन्तिम खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.