|

काठमाडौं : नारायणहिटी दरबार संग्राहलयभित्र संरचना निर्माण प्रकरणमा विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी देखिएका छन्।

पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले दाहाललाई पनि दोषी देखाएको हो।

समितिले  सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘सम्झौता विपरित बि. मेनेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेको देखिएन। निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन।’

यस्तै प्रदत्त अधिकार भन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशक दाहालले सम्झौता गरेको पनि छानबिन समितिले ठहर गरेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो।

तीन दिनका लागि समय दिइएको समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, सदस्यमा कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा तथा सदस्यसचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.